नेपाली ​चलचित्रको स्वर्णकाल पूरा

नेपाली ​चलचित्रको स्वर्णकाल पूरा


राजन घिमिरे

नेपाल चलचित्र विकास वोर्डले पूराना नेपाली चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाईजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । वोर्डको अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा गत पुस २४ गते बसेको बैठकले यस्तो योजनाबारे निर्णय गरेको थियो। निर्णयले पहिलो नेपाली चलचित्र आमासहित १२ वटा चलचित्रलाई पहिलो चरणमा डिजिटाइजेशन गर्न लागेको हो ।

पुरानारिल प्रविधिबाट बनेका चलचित्रहरू खुइलेर जान सक्ने भएकोले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्ने विधिलाई डिजिटाईजेशन भनिन्छ । यसबाट पुराना चलचित्रलाई पनि आधुनिक प्रविधिमार्फत हेर्न सकिने हुन्छ ।

पुराना चलचित्रहरुलाई डिजिटाइजेसनको प्रक्रियामा लैजान विकास वोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पूराना चलचित्रहरुलाई क्रमशः डिजिटलाईजेसन प्रक्रियामा लैजान सिफारिस गरेको छ । डिजिटाईजेशन भएपछि सबै १६ एमएम र ३५ एमएमका चलचित्रहरु अब २ के. र ४ के. फर्म्याटमा ल्याउन सकिनेछ । साथै नेपाली चलचित्रको गौरवमय इतिहासलाई आमजनता या सर्वसाधारणसम्म पुर्याउन चलचित्र संग्रहालय स्थापना गर्ने प्रक्रियाको थालनी पनि भएको जानकारी बोर्डकी अध्यक्ष निकिता पौडेलले दिइन।

आगामी असार १६ गते चलचित्र विकास वोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्रको निर्माण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सप्ताव्यापी रूपमा ती चलचित्रहरूलाई फिल्म फेस्टिवलको रूपमा प्रदर्शनीसमेत गर्ने तयारी वोर्डले गरेको छ । पुराना चलचित्रलाई डिजिटाईजेशन गरी एक सातासम्म प्रदर्शन गर्न लागेको अध्यक्ष पौडेलले बताइन् ।

‘नेपालमा चलचित्र निर्माण सुरु भएको ५० वर्ष नघिसकेको स्वर्णकालको अवसरमा हामीले प्रारम्भिक चरणमा १२ वटा अति पुराना नेपाली चलचित्रलाई डिजिटाईजेशन गरी एक सातासम्म प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भनिन् ।

त्यसैगरी नेपाली चलचित्रको संरक्षण र स्तरोन्नतिको लागि यो कदम स्वागतयोग्य रहेको कलाकारहरूले बताएका छन् । ‘नेपाली चलचित्रप्रेमीको लागि योभन्दा सुखद् खबर अरू के नै हुन्छ र ? यो कदम चलचित्र विकासका लागि कोशेढुङ्गा सावित हुनेछ,‘आमा चलचित्रकी नायिका, नेपाली चलचित्रकी प्रथम नायिका भुवनचन्द थापाको भनाई छ । कलाकार हरिवंश आचार्यले चलचित्र विकास वोर्डका वर्तमान अध्यक्षको कार्यकाल स्वर्णिम युग बन्ने विश्वास व्यक्त गरे । ‘वोर्डको २०५६ सालदेखिको इतिहासमा हालसम्म वोर्डले गर्न नसकेको काम वर्तमान अध्यक्ष निकिता पौडेलको कार्यकालमा हुन लागेकोमा खुशी लगेको छ, चलचित्र विकासका लागि पौडेलको कार्यकाल स्वर्णिम युग हुने विश्वास लिएको छु, यो एकदमै राम्रो कदम हो,’ उनले भने ।

यस्तै, कलाकार बसुन्धरा भुषालले चलचित्र विकास वोर्डको यो निर्णय ऐतिहासिक कदम भएकोले सबैले सहयोग गर्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘चलचित्र क्षेत्रमा डिजिटाईजेशन गर्ने यो ऐतिहासिक निर्णय हो । यो कदमले पुराना चलचित्र लाई जीवित राख्छ । यस कार्यमा सबैले सहयोग गर्नुपर्छ,’ उनले भनिन् ।

आमा सबैभन्दा पहिलो नेपाली चलचित्र हो । २०२१ सालमा छायाङ्कन भएको यस चलचित्र ०२२ सालमा प्रदर्शन आएको थियो । आमासँगै के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, परालको आगो, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोली, विश्वास र शान्तिदीपजस्ता चलचित्र डिजिटाइजेशन हुन लागेको हो ।

मिडिया प्रोडक्सनमा स्नातकोत्तर गरेकी पौडेल विकास वोर्डकी अध्यक्ष भएसँगै नेपाली चलचित्र उद्योगमा अहिलेसम लागु हुन नसकेको बक्स अफिस लागु गर्नुका साथै अन्य अपरिहार्य कामहरु आरम्भ गरेबाट थुप्रै सम्भावना देखिएका छन् । डिजिटलाइज प्रक्रियाको अवधारणा ल्याउनु, चलचित्र संग्रहालयको सोचसँगै फिल्म फेस्टिवलको आयोजनाजस्ता कामको कार्यान्वयनमा सफल हुँदै आएकी अध्यक्ष पौडेल पछिल्लो समय चलचित्र उद्योगमा लोकप्रिय मानिन्छिन् । यसरी, पौडेलको कर्यकालमा चलचित्र क्षेत्रले ठूलो फड्को मार्ने अनुमान गरिएको छ ।

द्दातव्य छ, २०५६ सालमा स्थापित नेपाल चलचित्र विकास वोर्ड नेपाली चलचित्रको विकास र प्रवर्द्धनको लागि चलचित्र उद्योगलाई नियमन गर्ने सरकारी निकाय हो ।