तेक्वान्दोका चर्चित हस्ती ‘चुलार्ई’ राष्ट्रिय तेक्वान्दोमा

तेक्वान्दोका चर्चित हस्ती ‘चुलार्ई’ राष्ट्रिय तेक्वान्दोमा


राष्ट्रिय खेलकुद परिषदका सहायक प्रशिक्षक तथा सल्लाघारी तेक्वान्दो डोजाङका प्रमुख चुलार्ई मुखिया राष्ट्रिय तेक्वान्दो संघ नेपालमा प्रवेश गरेका छन् । चुलार्ई २ सय १८ खेलाडीसहित फागुन २३ गते बुधबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय तेक्वान्दो संघमा प्रबेश गरेका हुन् । उक्त कार्यक्रम भक्तपुर जिल्ला राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष द्वारिकानाथ खयरगोलीको सभापतित्वमा भएको थियो ।

चुलार्ई लगायत सिनियर र जुनियर खेलाडीहरुलाई राष्ट्रिय तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष तथा तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले टीका खादा लगाएर संघमा स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रिय तेक्वान्दो संघका सल्लाहकार तथा वरिष्ठ शेरबहादुर थापामगर, उपाध्यक्ष हरिबहादुर बुढाथोकी, महासचिव राजकुमार कार्की, सचिव राकेशकुमार राई, प्रदेश नम्वर ३ का संयोजक सनिस लागेजु, प्रदेश नम्वर ५ का संयोजक बुद्धिबहादुर थापाको उपस्थिति रहेको थियो ।

राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गर्ने खेलाडीहरुमा ‘थ्री डान’ प्राप्त तीन, ‘टु डान’ प्राप्त १६ र फस्ट डान प्राप्त ३१ जना सहित २ सय १८ जनाले सामुहिक रुपमा प्रबेश गरेका थिए । ति सामुहिक रुपमा प्रबेश गर्ने खेलाडीहरु सर्लाघारी तेक्वान्डो डोजाङ, अक्सफोर्ड तेक्वान्दो डोजाङ र सूर्यविनायक तेक्वान्दो डोजाङका हुन् ।

चुलार्ई तेक्वान्दोमा अव्बल दर्ताका प्रशिक्षकमा गनिन्छन् । २०४८ सालदेखि प्रशिक्षकको भूमिकामा देखिएका चुलाईले सिन्धुली, सुनसरी, सिराह र भक्तपुरमा रहेर तेक्वान्दोको विकास र विस्तारको लागि अहम भूमिका निभाउँदै आएका छन् । २०६० साल अर्थात विगत १५ वर्षदेखि भक्तपुर सल्लाघारीमा तेक्वान्दो डोजाङ संचालन गर्दै आएका चुलार्ईले सो अवसरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सफल भएका छन् । चुलार्ईले उत्पादन गरेका खेलाडी सुजन जोशीले एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन् भने अर्का खेलाडी रोहित तामाङले ओलम्पिक छनोट चरणमा प्रतिस्पर्धा गरिसकेका छन् ।

राष्ट्रिय तेक्वान्दो संघमा प्रवेशपछि चुलाईले आफु नेपाल तेक्वान्दो संघको मनपरिको शिकार भएको बताए । आफुले राम्रो काम गर्दा पनि नेपाल तेक्वान्दो संघले कहिल्यै प्रोत्साहन नगरेको आरोप लगाउँदै खेलाडीको उज्ज्वल भविष्यका लागि राष्ट्रिय तेक्वान्दो संघमा प्रबेश गरेको खुलासा गरे । रातदिन मेहनत गर्दा पनि आफु र आफ्ना मातहतका खेलाडीलाई तेक्वान्दो संघले बाईपास गरेको र खेलाडीहरुको मनोबल गिराउने कार्य गरेकोले आफु तेक्वान्दो संघ छोडन बाध्य भएको बताए ।