काठमाडौंमा आयोजना हुने भनी धुमधमाकाका साथ प्रचारप्रसार गरिएको बलिउडका सुपरस्टार सलमान खान सहभागी हुने मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरिएको छ । बहुचर्चित अनि बहुप्रतीक्षित सलमान खानको कार्यक्रम स्थगित भएपछि यतिबेला सलमानका नेपाली फ्यानमा निराशा छाएको छ ।
सलमान खानको कार्यक्रम हेर्न हजारौँ खर्च गर्न पनि तयार रहेका ती फ्यानले यो कार्यक्रम स्थगनपछि दुःख प्रकट गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध सांस्कृतिक कमिटीले प्रेस विज्ञप्तिमार्फत सलमानको कार्यक्रम रोक्न धम्की दिएकै भरमा कार्यक्रम स्थगित गरिएकोमा धेरैले खेद प्रकट गरेका छन् भने व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत लाभ पुग्ने कार्यक्रमलाई सुरक्षा दिएर सफलताका साथ सम्पन्न गराउने दायित्वबाट गृह प्रशासन चुकेकोमा सरकारको आलोचना भएको छ ।
सलमान सहभागी हुने कार्यक्रम रद्द हुँदा चौतर्फी विस्मात मानिएको बेला चर्चित हास्यकलाकार केदारप्रसाद घिमिरे (माग्नेबुढा)ले चाहिँ फरक कोणबाट यसबारे प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल प्रयोग गरी उनले नाकाबन्दी लगाएर छिमेकी देशले दिएको सास्ती स्मरण गर्दै सलमानको कार्यक्रम स्थगित भएकोमा नेपालीलाई दुःख नमान्न अनुरोध गरेका छन् ।
आफ्नो स्ट्याटसमा कलाकार घिमिरेले लेखेका छन्, ‘इजरायल जाँदा दिल्लीमा मलाई दाह्री काट्न दिइएको दबाब, सुदूरपश्चिमका जनताले भारतमा काम गरेर फर्कंदा बोर्डरमा सहनुपरेका हेपाइ, भारतीय कलाकार कपिल नेपाल आउँदा जितु नेपालको खेप्नुपरेको अपमान, सिमाना मिचाई, उताका सुरक्षाकर्मीले बेला–बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भए पनि धेरै दुःख नमाने हुन्छ । हामीसँग पनि ‘अनमोल’हरू छन् ।’
यही सन्दर्भ पारेर माग्नेबुढाले यस्तो सुझाव पनि दिएका छन् । उनी भन्छन्, ‘नेपाल र नेपालीको पहिलो प्राथमिकतामा नेपाली कलाकार नै हुनुपर्छ, नेपाली गीत–सङ्गीतले प्राथमिकता पाउनुपर्छ, नेपाली मिडियामा आउने विज्ञापनमा नेपाली मोडेललाई मौका दिइनुपर्छ, नेपालमा जन्मिने बच्चाले पहिलो शब्द ‘आमा’ नै बोलून्, मदर, माम वा मम् नबोलून्, भाषा सकियो त देश सकियो, सुकिलो लुगा लगाएकी पल्लाघरकी आमाभन्दा झुत्रो लुगा लाएकी आफ्नै आमा प्यारी !’
प्रतिक्रिया