– श्रीविक्रम भण्डारी
‘गणेश थापा’ सायदै यो नाम कसैलाई चिनाउनुपर्ला । विगत चार दशकदेखि खेलकुदमा यो नामको चर्चा–परिचर्चा सेलाएको छैन । कहिले फुटबल खेलाडीको हैसियतले त कहिले फुटबल पदाधिकारीको । फुटबल खेलाडी हुँदा थापाले जति चर्चा र ख्याति कमाएका थिए पदाधिकारी हुँदा पनि त्यसमा कुनै कमी आएन । साँचो रूपमा भन्नुपर्दा उनी फुटबलमा छाइरहे ‘सदाबहार नायक’ बनेर । खेलाडी हुँदा थापाको प्रसिद्धि नेपालमा मात्रै सीमित थिएन, उनको प्रसिद्धिले दक्षिण एसियाली मुलुकलाई समेत प्रभावित पार्न सफल भयो । यसरी थापाको खेलाडी जीवनको विश्लेषण गर्दा उनी एक सफल फुटबल खेलाडी थिए भन्दा अतिसयोक्ति नहोला । यसलाई थापाले राष्ट्रका लागि गरेको ‘गोल’ले समेत प्रमाणित गर्छ ।
थापाले आफ्नो दोस्रो इनिङ फुटबलकै पदाधिकारी भएर शुभारम्भ गरेका थिए । आफ्नो दोस्रो इनिङ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्ष भएर शुभारम्भ गरेका थापाले समग्र नेपाली फुटबलको विकास र विस्तारका लागि अहम् भूमिका निभाए । फुटबलको व्यावसायीकरण र स्तरोन्नतिमा मात्र नभई खेलाडीलाई फुटबल खेलेरै बाँच्न सक्ने वातावरणको थापाले सिर्जना गरे । जुन आफँैमा तारिफयोग्य र प्रशंसनीय थियो । तर, विडम्बना ! थापाको दुई दशकको कार्यकाल राष्ट्रियस्तरमा सफल भए पनि अन्तर्राष्ट्रियस्तरमा भने कहालीलाग्दो बन्यो । थापाको दुई दशक लामो म्याराथन कार्यकालमा नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रियस्तरमा एउटै सफलता पाउन सकेन । यो थापाको कार्यकालको कालो पाटो हो, जुन नेपाली फुटबलको इतिहासमा नमेटिने गरी लेखिएको छ ।
पदाधिकारीको रूपमा आंशिक सफलता प्राप्त गरेकै बेला एन्फालाई भ्रष्टाचारले गाँजेको थियो, त्यसपछि थापा विवादमा तानिए । एन्फा एकेडेमीदेखि गोल प्रोजेक्टअन्तर्गत विभिन्न क्षेत्रमा निर्माण गरिएका फुटबल एकेडेमीमा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएपछि थापा भ्रष्टाचारको आरोपमा मुछिए । त्यसपछि फुटबलको विकास र विस्तारभन्दा अख्तियारको ढोका चहार्नु थापाको दैनिकी बन्यो । यसैबीच थापाको कार्यशैलीको विरोधमा उनकै सहकर्मी साथीहरू आन्दोलनमा उत्रिएपछि एन्फाको विवाद राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरसम्म पुगेको थियो । एन्फामा थापाको थिचोमिचो र तानाशाही प्रवृत्ति हाबी भएपछि राष्ट्रिय खेलकुद परिषद्मा ‘नेपाल फुटबल सङ्घ’ नामक संस्थासमेत गठन भयो । त्यसपछि थापालाई एन्फाबाट हटाउन राखेपदेखि फुटबलका खेलाडी, प्रशिक्षक, रेफ्री र पदाधिकारीहरू न्वारानदेखिको बल लगाएर लागे । तर, आन्दोलन चरमोत्कर्षमा पुगेको अवस्थामा थापाको कूटनीतिक रणनीति र पदलोलुपताको ‘ललिपप’को अगाडि सबै आन्दोलनमा उत्रिएकाहरू नतमस्तक भए । त्यसपछि थापाविरुद्धको आन्दोलन बीचैमा तुहियो । परिणाम, एन्फामा ‘तानाशाह’को रूपमा गणेश थापाको उदय भयो ।
एन्फामा थापाको उपद्रो यति बढेको थियो कि तत्कालीन समयमा एन्फा परिसरमा थापाको अनुमतिबिना चराले समेत उड्न पाउँदैनथ्यो । परिणाम एन्फा नातावाद, कृपावाद, चाकरी, चाप्लुसी गर्नेहरूले अखडामा परिणत भयो । एन्फामा थापाको विरुद्धमा कसैले ‘चुँ’समेत गर्न सक्तैनथ्यो, कसैले बोल्यो कि त्यसको एन्फाबाट मात्र नभई फुटबलबाटै पत्तासाप हुन्थ्यो । थापाकै कोपभाजनका कारण त्यसबेला नेपाली फुटबलका चर्चित खेलाडी, प्रशिक्षक तथा पदाधिकारीले फुटबललाई सदाका लागि अलबिदा भन्नुपरेको कसैबाट छिपेको छैन । एन्फादेखि एएफसी र फिफासम्म थापाको बोलवाला भएकै कारण फुटबलमा थापारूपी ‘तानाशाह’को जन्म भयो । त्यसपछि एन्फामा थापाको दमन र अत्याचारको पराकाष्ठा यतिसम्म बढ्यो कि उनी फुटबलको मात्र नभई खेलकुदकै सर्वेसर्वाको रूपमा प्रस्तुत भए । थापालाई नाताशाहको रूपमा स्थापित गर्न तत्कालीन राजनीतिक अस्थिरताले पनि निकै सहायकसिद्ध भयो । दाजु कमल थापा शक्तिमा हुनु गणेश थापाका लागि बरदान नै साबित भो । जसलाई थापाले सकारात्मक पक्षलाई कम र नकारात्मक पक्षलाई बढी आत्मसात् गर्दा नेपाली फुटबल राष्ट्रको फुटबलभन्दा परिवारको फुटबलको रूपमा विकास हुन पुग्यो । उदाहरणका लागि वर्तमान एन्फाका उपाध्यक्ष तथा हालका अध्यक्ष पदका उम्मेदवार सालो मणि कुँवर र छोरा गौरव थापालाई लिन सकिन्छ ।
एन्फामा थापाको उपद्रो यति बढेको थियो कि तत्कालीन समयमा एन्फा परिसरमा थापाको अनुमतिबिना चराले समेत उड्न पाउँदैनथ्यो । परिणाम एन्फा नातावाद, कृपावाद, चाकरी, चाप्लुसी गर्नेहरूले अखडामा परिणत भयो । एन्फामा थापाको विरुद्धमा कसैले ‘चुँ’समेत गर्न सक्तैनथ्यो, कसैले बोल्यो कि त्यसको एन्फाबाट मात्र नभई फुटबलबाटै पत्तासाप हुन्थ्यो । थापाकै कोपभाजनका कारण त्यसबेला नेपाली फुटबलका चर्चित खेलाडी, प्रशिक्षक तथा पदाधिकारीले फुटबललाई सदाका लागि अलबिदा भन्नुपरेको कसैबाट छिपेको छैन ।
यसरी विभिन्न आँधी–हुरीको सामना गर्दै दुई दशकसम्म थापा एन्फा हाँक्न सफल भए । तर, चर्चित ‘हमाम काण्ड’ थापाका लागि भारी पऱ्यो । उक्त १ लाख अमेरिकी डलरको काण्डले थापाको सिंहासन हल्लाइदियो । परिणाम, थापाले एन्फामा गर्दै आएको एकछत्र राजमा पूर्णविराम लाग्यो । फिफाले थापालाई एन्फा अध्यक्षबाट हटाउनुको साथै सक्रिय फुटबल गतिविधिबाट पनि १० वर्षे प्रतिबन्ध लगायो । यसरी नचाहँदा नचाहँदै पनि थापाले फुटबललाई ‘बाई–बाई’ भन्न बाध्य भए । फिफाको १० वर्षे प्रतिबन्धले थापाको फुटबलमा फर्कने सम्भावनामाथि पनि प्रश्न खडा गरिदियो । यसपछि पनि थापा फुटबलमा आफ्नो अस्तित्व र प्रभाव देखाउन पछि परेनन् । अध्यक्ष थापा र उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको अनुपस्थितिसँगै रिक्त पदमा भएको निर्वाचनमा अध्यक्षमा नरेन्द्र श्रेष्ठ र उपाध्यक्षमा मणि कुँवरलाई विजयी दिलाउनुमा थापाकै ठूलो हात थियो । थापाकै शक्ति र प्रभावका कारण उनीहरूले एन्फाको निर्वाचनमा विजय हासिल गरेका थिए । अन्यथा एन्फामा श्रेष्ठ र कुँवरको के हैसियत थियो त्यो जगजाहेर नै छ ।
थापाको रगतका कणकणमा फुटबल डौडिएको कसैबाट छिपेको छैन । उनी फुटबललाई निकै माया गर्छन् र फुटबलबाट टाढा रहन सक्तैनन् भन्ने कुराको उदाहरण थापाले गत साता आयोजना गरेको पत्रकार सम्मेलनमा गराएको जानकारीबाट पनि प्रस्ट हुन्छ । थापाले नेपाल स्पोर्टस् अर्गनाइजेसनबारे जानकारी गराउने क्रममा ‘फुटबल बिग्रिएको म टुलुटुलु हेरेर बसिरहन सक्दिनँ’ भन्ने प्रतिक्रियाले पनि यसमा लालमोहर लगाउँछ । साथै थापाले आगामी चैत १४ गते हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्ष पदका उम्मेदवार कर्माछिरिङ शेर्पा र मणि कुँवरमा कुनै फरक नभएको खुलासा गर्नु फुटबलका लागि सकारात्मक पक्ष बनेको छ । तर, थापाले सो अवसरमा शेर्पालाई सच्चिएर आउन र शेर्पाले चुनाव जितेमा फुटबलका लागि दुर्भाग्य हुने कुरा सार्वजनिक रूपमा बोल्नुले अझै पनि थापाले फुटबलमा प्रत्यक्ष रूपमा खेल खेलिरहेको महसुस गर्न सकिन्थ्यो । त्यस्तै, थापाले आफू अदृश्य भएर नभई देखिएरै फुटबलको निर्वाचनमा प्रस्तुत हुने बताए । रस्सी जलिसक्यो तैपनि फुटबलप्रति थापाको मोह र फुर्ती–फार्तीमा कमी आएको छैन । उनी अहिले पनि फुटबलको पदाधिकारीका रूपमा प्रस्तुत भएका छन् । तर, तीतोसत्य के हो भने त्यो थापालाई राम्रोसँग थाहा छ, उनी निलम्बनमा परेका एन्फाका पूर्वअध्यक्ष मात्र हुन् ।
तसर्थ यदि थापा फुटबलको हित चाहन्छन् भने आउँदो चैत १४ गते हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को निर्वाचनमा उनी अभिभावकको भूमिकामा देखिनुपर्छ । कसैलाई राम्रो र नराम्रो भनेर प्रचारबाजी गर्नुभन्दा फुटबललाई कसरी राम्रो बनाउन सकिन्छ त्यसतर्फ केन्द्रित हुनुपर्छ । यतिबेला फुटबलको कायापलट गर्ने उद्देश्य र योजनासहित कर्मा छिरिङ शेर्पा र मणि कुँवरले एन्फाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । अब थापाको जिम्मेवारी भनेको उनीहरूलाई आपसी सहमति र छलफलबाट एकढिक्का बनाउनु हो । सबैलाई थाहा छ, यतिबेला फुटबल अघोगतितर्फ उन्मुख छ, यस्तो अवस्थामा फुटबललाई पुरानै ‘लिक’मा ल्याउन अति आवश्यक छ । थापा फुटबलका हिङ, टाला सबै हुन्, अहिले अध्यक्षमा उम्मेदवारी दिएकाहरू पनि उनीसँगै सहकार्य गरेर आएका हुन् । तसर्थ कुनै गुटको समर्थन र विरोध गर्नुभन्दा दुवैलाई समेटेर फुटबलमा देखिएको परिवर्तनको आवश्यकतालाई थापाले पूर्ति गर्न सक्नुपर्छ । अहिले थापालाई यो कार्य गर्न निर्णायक अवसर प्राप्त भएको छ । यदि थापाले यो कार्य गर्न सफल भए उनी विगतमा फुटबलमा गरेको भ्रष्टाचारको पापबाट केही हदसम्म मुक्त हुनेछन् ।
प्रतिक्रिया