नेपाली क्रिकेटका युवा खेलाडी सन्दीप लामिछाने यतिबेला आँखाको नानी बनेका छन् । चर्चित क्रिकेट इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्समा आबद्ध भएपछि उनको चर्चा चुलिएको हो । सन्दीप आईपीएलमा आबद्ध हुने पहिलो नेपाली खेलाडी हुन् । सन्दीपलााई दिल्लीले २० लाख रुपैयाँमा आबद्ध गरेको थियो । उनलाई दिल्लीमा आबद्ध गराउन अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले विशेष भूमिका निभाएका थिए । क्लार्ककै अनुरोधमा दिल्लीका प्रशिक्षक तथा पूर्वअस्ट्रेलिया कप्तान रिकी पोन्टिङले सन्दीपलाई दिल्ली डेयरडेभिल्समा आबद्ध दिलाएका थिए ।
दिल्ली डेयरडेभिल्समा आबद्ध भएपछि सन्दीपले पहिलोपटक नेपालको तर्फबाट नामिबियामा सम्पन्न आईसीसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १६ विकेट लिएका थिए । प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप ‘म्यान अफ दी सिरिज’ उपाधि जित्नसमेत सफल भएका थिए । त्यसपछि सन्दीप आबद्ध क्लब दिल्लीले मात्र नभई विश्व क्रिकेट नामी हस्तीले सन्दीपको उत्कृष्ट खेलको तारिफ गर्दै उनलाई क्रिकेटको उदीयमान खेलाडीको सूचीमा राखेका थिए ।
नामिबियामा उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ दी सिरिज’को उपाधि जितेसँगै सन्दीप रातारात विश्व क्रिकेट जगत्मा छाएका थिए । त्यसपछि सन्दीप विश्व क्रिकेटमा चासोको विषय बने । यसको लगत्तै क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत खेलाडी छनोटमा सन्दीप सेन्ट किड्स एन्ड नेभिसमा आबद्ध भएका छन् । जुन केही महिनाभित्रै एउटा नेपाली खेलाडीले प्राप्त गरेको दोस्रो उपलब्धि हो ।
१७ वर्षीय ‘लेग स्पिनर’ सन्दीप यतिबेला आईसीसीले सार्वजनिक गरेको स्टार खेलाडीको सूचीमा परेका छन् । हाल जिम्बावेमा सञ्चालन भइरहेको आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा सन्दीपको नाम पनि परेको हो । सन्दीप विश्वकप छनोटका जुनसुकै खेलमा पनि उलटफेर गर्न सक्ने खेलाडी रूपमा आईसीसीले हेरेको छ । नेपालका प्रमुख बलरको रूपमा हेरिएका सन्दीपले अब विश्वकप छनोटमा कस्तो प्रदर्शन गर्छन् त्यो प्रतीक्षाको विषय बनेको छ ।
गत आइतबार विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालको पहिलो भिडन्त आयोजक जिम्बावेसँग भएको थियो । उक्त खेलमा नेपाल जिम्बावेसँग १ सय २६ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा जिम्बावेसँग ठूलो रनअन्तरले पराजित भएको नेपालको तर्फ पहिलो विकेट सन्दीपले लिएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट लिएर आफ्नो नामअनुसार प्रदर्शन गरेका थिए । तर, ब्याटिङ पिचमा त्यसपछि उनले अपेक्षाअनुसारको खेल प्रदर्शन गर्न असफल भए । समूह ‘बी’मा परेको नेपालले अब स्कटल्यान्ड, अफगानिस्तान र हङकङसँग खेल्नेछ । यी खेलमा सन्दीपले राम्रो प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया