विकलांगीलाई हिमाल आरोहणको मार्ग खुला

विकलांगीलाई हिमाल आरोहणको मार्ग खुला


दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्नमा रहँदै आएको अवरोध खुला भएको छ । सर्वोच्च अदालतले आज एक फैसला सुनाउँदै अपांगता भएका व्यक्तिलाई बाटो खुला गरेको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिले पर्वतारोहण गर्न निषेधको नियम खारेज गरेपछि हिमाल आरोहण गर्न बाटो खुला भएको हो ।

यसअघि अदालतले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न रोक लगाउँदै अन्तरिम आदेश दिएको थियो ।पर्वतारोहण नियमावली २०५९ मा दुवै आँखा र दुवै खुट्टा नभएकालाई पर्वतारोहण गर्न निषेध गरेको थियो । सो व्यवस्थाविरुद्ध अधिवक्ता माधव चौलागाईंले नेपालको संविधानको मौलिक हकअन्तर्गत रहेको समानताको हकविपरीत भएको भन्दै रिट दायर गरेका थिए ।

अदालतको आदेशले दृष्टिविहीन तथा शारीरिक अपांगता व्यक्तिलाई मानवताको हक, अपांगको हकलगायतलाई ध्यानमा राखी हिमाल आरोहण गर्न सहज बनाइएको राससले जनाएको छ ।