पाहुना टोली सिक्किम युनाइटेडलाई स्तब्ध बनाउदै रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा पाहुना टोलीलाई स्तब्ध पारेसंगै झापा–११ ले थ्री स्टारसंग प्रतिष्पर्धा गर्नुपर्ने निश्चित भएको छ ।
बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबारको खेलमा सिक्किमलाई २–१ गोल अन्तरले पाखा लगाउँदै झापा ११ ले सेमिफाइनलमा थ्री स्टारसँगको भेटलाई पक्का गरेको हो ।
खेलको १७ औं मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै सिक्किमले अग्रता लिएको थियो । झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाएको फ्रि किकलाई सिक्किमका कुनल तामाङले प्रहार गरेका थिए । उक्त प्रहारलाई हेडमार्फत लेप्चाले जाली चुमाएका थिए ।
सिक्किमको अग्रता धेरै समय टिक्न सकेन । सिक्किमले अग्रता लिएको ७ मिनेट बित्न नपाउँदै झापाका स्ट्राइकर खमिर गिल्सन कन्दङवाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । डि एरियाभित्र पाएको बललाई कन्दङवार्ले साइक्लिङ किक मार्फत आकर्षक गोल गरेका थिए । १–१ को बराबरी रहेको झापाले अर्काे गोल उपहार मार्फत पाएको थियो । खेलको ४२ औं मिनेटमा बिश्वास श्रेष्ठको क्रस पासमा डि एरियाभित्र रहेका सिक्किमका खेलाडीलाई टच हुदै ‘अन गोल’ भएपछि झापाको अग्रता दोब्बर भएको हो।दोस्रो हाफमा कुनै टिमले गोल गर्न सकेनन् ।
बुधबारको खेलमा म्यान अफ द म्याच बिजेता टीम झापा–११ का बिश्वास श्रेष्ठ घोषित भए । उनले ओली एण्ड एसोसिएट्सले उपलब्ध गराएको नगद २५ हजार पाए । बिहिबारको खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १२ लाख ५२ हजार, उपबिजेताले ६ लाख र ट्रफी पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया