शाही विवाहमा सबैलाई निम्तो

शाही विवाहमा सबैलाई निम्तो


राजकुमार चाल्र्स तथा दिवङ्गत बेलायती राजकुमारी डायनाका पुत्र प्रिन्स विलियम केही समययता केट मिडलटन नामक युवतीसँग प्रेम सम्बन्धमा रहेको विषयले निकै चर्चा पाइसकेको छ । यस बहुचर्चित जोडीको छिट्टै विवाह हुने भएको छ । बहुचर्चित राजकुमारीका बहुचर्चित पुत्रको विवाहले पनि त्यही स्तरको चासो र चर्चा त पाउने नै भयो । यो जोडीको विवाह समारोह प्रत्यक्ष हेर्न धेरै बेलायती तथा अन्यले पनि इच्छा गरेका छन्, तर यो सम्भव हुने कुरा भएन । सबैलाई निम्ता गरेर विवाहमा प्रत्यक्ष सहभागी गराउन चाहेर पनि बकिङ्घम प्यालेसले सक्ने कुरा भएन ।
तर, यसरी विलियम र केटको विवाहलाई प्रत्यक्ष अवलोकन गर्न चाहनेहरूले निराश हुनुनपर्ने भएको छ । बेलायती अखबार डेली मेलले जनाएअनुसार यो विवाह समारोहको थ्री डी फिल्म बन्ने भएको छ । यो फिल्म हेर्नेले यस्तो अनुभूति गर्नेछन् कि मानौँ आफू प्रत्यक्ष रूपमा सो विवाह कार्यक्रममा सरिक भइएको छ । तर, यसरी विलियम-केटको विवाहलाई प्रत्यक्ष अनुभूति गर्न चाहनेहरूको सपना पूरा हुनचाहिँ अझै केही संशय बाँकी नै छ । किनकि, सो शाही विवाह समारोहको थ्री डी फिल्म बनाएर प्रसारण गर्नका लागि बकिङ्घम प्यालेसले अनुमति दिइसकेको छैन । सोबारे प्रक्रिया चलिरहेको अखबारले जनाएको छ । जे होस्, सोको स्वीकृति मिलेपछि त शाही विवाहमा सबैलाई प्रत्यक्ष सहभागी हुने निम्तो मिलेसरह हुँदैन त ?

पक्राउ खाने आशङ्काले बुस त्रस्त
कुनै अपराध गरेको छ भने प्रहरीबाट लुकिछिपी हिँड्नु अपराधीको चरित्र हो । यो व्यवहार हामीकहाँ मात्र होइन विश्वव्यापी रूपमै चलिआएको देखिन्छ । कुनै पहुँच नभएको सर्वसाधारण व्यक्तिले कुनै अपराधप्रति डराएर भाग्नु/छल्नु अस्वाभाविक पनि हुँदैन, तर विश्वकै सर्वशक्तिमान राष्ट्रको सर्वोच्च ओहोदामा रहिसकेका व्यक्ति पक्राउ पर्ने डरले लुक्ने या छल्ने गर्छन् भने त्यस अवस्थालाई के भन्ने ?
हो, यस्तै परिस्थितिबाट गुज्रनुपर्‍यो अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुसले । गत १२ फेबु्रअरी ?माघ २९ गते शनिबार) का दिन स्वीजरल्यान्डको जेनेभामा आयोजित एक च्यारिटी समारोहमा बुस भाषणका लागि आमन्त्रित थिए । त्यहाँ सहभागी हुने निर्णय पनि उनले गरिसकेका थिए । तर, एकाएक उनले आफ्नो जेनेभा भ्रमण रद्द गरिदिए । भएछ के भने जेनेभामा सक्रिय एक मानवअधिकारवादी समूहले बुसलाई पक्रन स्वीस सरकारसमक्ष माग गरेछ । बुस अमेरिकाका राष्ट्रपति रहँदा ग्वाँटानामोमा एक आतङ्कवादीले मुख खोल्न अस्वीकार गरेपछि उसबाट अपराध ओकलाउन पानीमा डुबाउने सजाय दिन बुससँग आदेश मागिएको रहेछ र बुसले पनि ‘आवश्यक परेकै हो भने पानीमा चोपलेर भए पनि बयान लिनू’ भन्ने आदेश दिएका रहेछन् । यो कुरा उनले हालै एक टेलिभिजन अन्तर्वार्तामा स्वीकार पनि गरिसकेका छन् । यही ‘अपराध’ गरेबापत अधिकारकर्मीहरूले जेनेभा आउँदा बुसलाई पक्रिनुपर्ने माग गरेका थिए । यो खबर पाएपछि गिरफ्तारीको डरले बुसले जेनेभा भ्रमण नै रद्द गरिदिए । तर, स्वीस अधिकारीहरूले भने एक पूर्वराष्ट्रपतिका नाताले बुसमाथि सो उजुरीका आधारमा कारबाही नगरिने प्रतिक्रिया दिएका थिए ।

गर्भनिरोधक चक्की खाने पालो पुरुषको
गर्भनिरोधका लागि अनेक प्रकारका औषधि चक्की खानुपर्ने एकहोरो जिम्मेवारी अब महिलाबाट बाँडिएर पुरुषको काँधमा समेत पर्ने भएको छ । बेलायतको इडेनवर्ग विश्वविद्यालयका वैज्ञानिकहरूले पुरुषका लागि गर्भनिरोध खाने चक्कीको सफलताका साथ प्रयोग गरेका र अब छिट्टै यो बजारमा आउने दाबी गरेपछि विश्वभरका महिलाका लागि यो सुखद खबर बन्न पुगेको हो । विश्व स्वास्थ्य सङ्गठनले समेत विश्वका दुई सय दम्पतीमाथि यसको परीक्षण गरिएको र महिलाले खाने चक्कीजत्तिकै सफल परिणाम प्राप्त भएको पुष्टि गरेको छ । कण्डमको तुलनामा पुरुषले खाने चक्की गर्भनिरोधका लागि बढ्ता प्रभावकारी सावित भएको पनि बताइएको छ ।

हत्याराको स्याहार गरेर जीवन गुजारा
जसले आफ्नो बाबुको हत्या गर्‍यो उक्त हत्याराकै सेवा गरेर जीवन गुजारा गर्नुपर्दा कस्तो अनुभूति होला ? हो, उडिसा भारतका एक युवक यसो गर्न विवश बनेका छन् र बाबुको हत्याराको रेखदेख गरेबापत उनलाई दिनको डेढ सय रुपैयाँ कमाइ हुन्छ ।
उडिसा अभयारम्यनिवासी मधुसूदन बहेरा नामक २२ वर्षो युवकका बाबुलाई केही वर्षअघि एउटा गोहीले आक्रमण गरेर ज्यान लिएको थियो । त्यसपछि गोही भनेपछि मधुसूदनलाई ‘एलर्जी’ लाग्न थाल्यो । यसबीच रोजगारीका लागि उनले चौतर्फी प्रयत्न गरे, तर अन्तत: रोजगारी मिल्यो उही हत्यारा गोहीलाई स्याहार गर्नुपर्ने † आफ्नो भाग्यप्रति सुरुमा त उनी बेस्सरी निराश बने तर अन्तिममा उनले विवेक पुर्‍याएर निर्णय गरे कि उनले गोहीको सेवा गर्नैपर्छ । बिचरो यो जनावर हो, यसलाई के थाहा के गर्नु उचित र के अनुचित हो भन्ने ? यसको सेवा गरे मलाई पनि पुण्य नै मिल्ला ।-नविन उप्रेती