पेट्रोलियम पाइपलाइन कार्य सिमराबाट शुरु

पेट्रोलियम पाइपलाइन कार्य सिमराबाट शुरु


– प्रणय साह (बारा)

नेपाल सरकारले राष्ट्रिय प्राथमिकतायुक्त आयोजना घोषणा गरेर अघि बढाएको पेट्रोलियम पाइपलाइनको कार्य बुधबारदेखि सिमराबाट शुरु भएको छ । भारतसँग सम्झौता सम्पन्न भएको दुई वर्षभन्दा लामो समय बितिसक्दा बहुप्रतिक्षित यो आयोजना नेपाली सरोकारवालाको उदासिनताको कारण सुस्त बनेका थियो ।

सीमावर्ती शहर रक्सौलदेखि अमलेखगञ्जसम्म ३६.२०६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तारको जिम्मा पाएको भारतीय कम्पनी लिखिथा इन्फ्रास्टक्चरका प्राविधिकहरूले पाइप जोड्ने काम शुरु गरेका हुन् । सिमरास्थित नेपाल आयल निगमको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना कार्यालयका प्रमुख शरदकुमार पौडेलले पाइप जोडने काम सकिएपछि जमिनमुनि पुर्ने काम शुरु हुने जानकारी दिए ।

खाल्डो खन्ने मेसिन भारतबाट आउन लागेको पाइपलाइन विस्तार कार्य १५ महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको आयोजना प्रमूख पौडेलले बताए । वीरगञ्ज शंकराचार्य गेटबाट तीन किलोमिटर वीरगञ्जकै गण्डक नहरसम्म बाइपास सडकको दायाँ भागबाट र त्यसपश्चात् त्रिभुवन राजपथको गण्डक–अमलेखगञ्ज खण्डमा सडकको बायाँ भागबाट पाइप लाइन ओछ्याउन लागिएको हो ।

पथलैया–वीरगञ्ज सडकखण्डमा निर्माण भइरहेको ६ लेनको व्यापारिक मार्गभित्र पर्नेगरी पाइपलाइन निर्माण गर्न लागिएकोले मुआब्जालगायत अन्य अवरोध नहुने भएकोले पनि समस्या नहुने आयोजना प्रमुख पौडेलले जानकारी दिए । भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतीहारी बजारक्षेत्रको ११ कि.मी. उत्तरतर्फ सेमरा भन्ने स्थानमा टर्मिनल पोइन्ट निर्माण गरी उक्त स्थानबाट अमलेखगञ्जसम्म पाइपलाइन ओछ्याएइँदै छ । हाल नेपाल भित्रिएको पाइप १०.७५ इन्च गोलाई र ०.२१९ इन्च मोटाइको रहेको र यो पाइप भारतीय कम्पनी जिन्दलले माटो परीक्षण गरी निर्माण गरेको आयोजनाले जनाएको छ ।