काठमाडौं म्याराथन ‘उत्कृष्ट’ सावित

काठमाडौं म्याराथन ‘उत्कृष्ट’ सावित


छैटौँ रियल काठमाडौं म्याराथन सफलताका साथ सम्पन्न भएको छ । नेपाल आर्मीका खेलाडीहरूको वर्चश्व रहेको काठमाडौं म्याराथनमा नेपाली सेनाका कृष्ण बस्नेतले पहिलो स्थान हासिल गरेका थिए । बस्नेतले ४२.१९६ किलोमिटरको दूरी २ घन्टा २९ मिनेट ४० सेकेन्डमा पूरा गरेका थिए । म्याराथनतर्फ पहिलो भएका बस्नेतले जितसँगै एक लाख रुपैयाँ हात पारेका थिए । त्यस्तै दोस्रो र तेस्रो स्थानमा पनि सेनाकै खेलाडीहरू लेटरसिंह खत्री र उत्तम खत्रीले हात पारेका थिए । लेटरसिंहले निर्धारित दूरी दुई घन्टा ३१ मिनेट ३२ सेकेन्ड र उत्तमले दुई घन्टा ३३ मिनेट ६ सेकेन्डमा पूरा गरेका थिए । गत वर्षका विजेता राजेन्द्र भण्डारी चौथो स्थानमा रहेका थिए ।
त्यस्तै महिलातर्फ गत वर्षकी विजेता सशस्त्र प्रहरी बलकी कृष्णेश्वरी सिन्तकलाले निर्धारित दूरी ३ घन्टा २६ मिनेट ५० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी थिइन् । सिन्तकलाले काठमाडौं म्याराथनको उपाधिमाथि कब्जा जमाएको यो तेस्रोेपटक हो । त्यस्तै सशस्त्रकै सोनुजया राईले ३ घन्टा ३० मिनेट ६ सेकेन्ड र सरस्वती खड्काले ३ घन्टा ४० मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमस: दोस्रो र तेस्रो स्थान हात पारेका थिए ।
हाफ म्याराथनको पुरुषतर्फको उपाधि नेपाली सेनाका कल्याण बानियाँ र महिलातर्फको उपाधि सशस्त्रकी विन्दा देसारले जितेका थिए । बानियाँले निर्धारित दूरी १ घन्टा १४ मिनेट २८ सेकेन्डमा पार गरेका थिए । हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाका राजकुमार विष्ट र ज्ञानकुमार भट्टराईले दोस्रो र तेस्रो स्थान हात पारेका थिए भने महिलातर्फ सरिता बासी र फ्रान्सकी एनिग ग्रेप र दोस्रो र तेस्रो भएका थिए । यसैगरी पुरुषतर्फको पाँच किलोमिटर दौडमा पनि नेपाली सेनाले क्लिनस्विप गरेको थियो । सो स्पर्धामा किरणकुमार मल्ल पहिलो, लालबहादुर थापा दोस्रो र मोतीलाल चौधरीले तेस्रो स्थान प्राप्त गरेका थिए । महिलातर्फको पाँच किलोमिटरतर्फ सशस्त्रकी कान्छीमाया कोजू पहिलो भएकी थिइन् भने सशस्त्रकै गीता क्षेत्रीले दोस्रो स्थान हासिल गरेकी थिइन् । त्यस्तै नेपाली सेनाकी रूपा खड्काले तेस्रो स्थानमा रहेकी थिइन् ।
त्यस्तै छात्र पाँच किलोमिटरतर्फ अनुप खनालले प्रथम स्थान हासिल गरेका थिए भने दोस्रो र तेस्रो स्थानमा राजु श्रेष्ठ र आशीष श्रेष्ठ रहेका थिए । छात्रातर्फ सविता खड्का, शर्मिला क्षेत्री र रिना कपाली क्रमश: पहिलो, दोस्रो र तेस्रो भएका थिए । यसैगरी ह्विल चियरतर्फको ३ किलोमिटर दौडमा भरत अधिकारीले बाजी मारेका थिए भने कृष्णराज चौधरी र दिनेश खड्का दोस्रो र तेस्रो भएका थिए । महिलातर्फको सोही समूहमा सोनिया ढकाल प्रथम, लाली शेर्पा दोस्रो र ज्योति अर्याल तेस्रो भएकी थिइन् ।
काठमाडौं म्याराथनका आयोजक तथा नेपाल एमेच्योर एथलेटिक्स सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले प्रतियोगिता सफलताका साथ सम्पन्न भएकोमा खुसी प्रकट गरेका थिए । श्रेष्ठले प्रतियोगितालाई आगामी दिनमा अझ व्यवस्थित र स्तरीय बनाउने कुरा बताए । छोटो समयमा पनि व्यापक सहभागिताले काठमाडौं म्याराथनलाई उत्कृष्ट बनाएको प्रस्ट पार्दै आगामी दिन यो म्याराथन अझ उत्कृष्ट हुने दाबी गरेका थिए ।

कमल र ताराको कीर्तिमान
त्रिपुरेश्वरस्थित राष्ट्रिय भारोत्तोलन प्रशिक्षण केन्द्रमा हालै सम्पन्न दोस्रो ग्राँ पी पुरुष तथा महिला भारोत्तोलन प्रतियोगितामा आर्मीका कमलबहादुर अधिकारी र प्रहरीकी तारादेवी पुनले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुषतर्फको ७७ केजीमा अधिकारी र महिलातर्फ पुनले ७५ केजीको स्न्याच, क्लिन एन्ड जर्क गरी कुलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । कमलले स्न्याचतर्फ १२१ केजी, क्लिन एन्ड जर्कमा १६१ केजी गरी कुल २८२ केजी भार उठाएका थिए भने ताराले स्न्याचतर्फ ६७ केजी, क्लिन एन्ड जर्कमा ९० केजी गरी कुल १५७ केजी उचाल्दै राममाया थापाको नाममा रहेको कीर्तिमानलाई तोडेकी थिइन् ।

तेक्वान्दोमा नेपाललाई रजत र कास्य
मलेसियाको सबाहमा भएको तेस्रो एसियाली विश्वविद्यालय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक रजत र एक कास्य जितेको छ । प्रतियोगितामा दुई खेलाडीले सहभागिता जनाएका थिए । महिलाको ५३ केजीमुनिको खेलमा आयशा शाक्यले रजत तथा पुरुषको ५८ केजीमा विशाल श्रेष्ठले कास्य जितेको विश्वविद्यालय खेलकुद सङ्घ नेपालका महासचिव पूर्णसिंह बोहोराले जनाएका हुन् ।
आयशाले फिलिपिन्सकी खेलाडीलाई १५–४ तथा मलेसियालाई १२–८ ले हराउँदै फाइनलमा पुगेकी थिइन् । फाइनलमा आयशा थाइल्यान्डकी खेलाडीसँग ८–६ को झिनो अन्तरले चुकिन् । पहिलो खेलमा बाई पाएका विशालले अर्को खेलमा भियतनामका खेलाडीलाई हराए ।
कक्बोडियाका खेलाडीसँग पराजित भएपछि विशाल कास्यमा सीमित भएका थिए । विश्वविद्यालयको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलोपटक पदक प्राप्त गरेको महासचिव बोहोराले बताए । ‘यो जित हाम्रा लागि ऐतिहासिक सफलता हो । यसले हामीलाई उत्साहित र हर्षित तुल्याएको छ,’ महासचिव बोहोराले खुसी व्यक्त गर्दै भने । टोलीको प्रशिक्षकमा दीपक विष्ट छन् ।