गाउँमा बस देख्दा स्थानीय दङ्ग

गाउँमा बस देख्दा स्थानीय दङ्ग


– अराजसिंह बेल्बासे/कपिलवस्तु

कपिलवस्तु जिल्लासँग जोडिएको शितगंगा नगरपालिका–९ अर्घाखाँचीको सिस्ने खोलामा पहिलोपटक बस पुग्दा स्थानीयले खुशीयाली मनाएका छन् । आफ्नो गाउँमा पहिलोपटक बस आएको देखेपछि सबैले घरको काम छाडेर नाचगान गर्दै बसचालक, सहचालक र वडा प्रतिनिधीहरूलाई फुलमालाले स्वागत गरेका थिए ।

कपिलवस्तुको चन्द्रौटादेखि धानखोला हुँदै सिस्तेखोलाका लागि अब नियमित रूपमा दैनिक एउटा बस छुट्ने भएको छ । वडा अध्यक्ष भीम केसीका अनुसार स्थानीय निर्वाचन सम्पन्न भएपश्चात धानखोलादेखि सिस्नेसम्मको वाटो फराकिलो गर्ने कार्य पुरा गरी बस सञ्चालनमा ल्याइएको हो ।

नगरपालिकाको मापदण्ड अनुसारको बाटो र नाला निर्माण गर्ने कार्य अगाडि बढिरहेको उनले जानकारी दिए । अहिले बाटो फराकिलो पार्नुका साथै तटबन्धन, ह्युम पाइप बिछ्याउने कामहरू भइरहेको बुझिएको छ । विकास निमार्णमा पछाडि परेको यो क्षेत्रमा अहिले भने स्थानीयहरूमा केही आशा पलाएको र अगामी दिनहरूमा कृषि तथा पशुपालन व्यवसायवाट आफुहरू आत्मनिर्भर बन्न सकिने विश्वास लिएको अनुभुति मिलेको छ ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाकै महत्वपुर्ण मानिने उक्त ट्रयाक कपिलवस्तुको बैरिया हुँदैै अर्घाखाँचीको सिमलपानी, चाक्ला, सिद्धारा हुँदे सञ्चालन गर्ने योजनाअनुसार स्तरवृद्धि सम्पन्न गरिएको छ र लगत्तै सिस्ने खोलासम्म बस सञ्चालन गरिएको हो । उक्त वडाका वडाअध्यक्ष भीम केसी सम्पन्न स्थानीय निर्वाचनमा अत्यधिक मतले विजयी बन्न सफल एक लोकप्रिय नेताका रूपमा परिचित छन् ।