‘जनयुद्ध’का सोह्र वर्ष -बबिता बस्नेत

‘जनयुद्ध’का सोह्र वर्ष -बबिता बस्नेत


सोह्र वर्षको अवधि कति र कस्तो हो ? भनेर कसैलाई सोध्ने हो भने सम्बन्धित व्यक्तिले बिताएको अनुभवका आधारमा जवाफ फरक-फरक हुन सक्छ । त्यतिबेला भर्खरै जन्मिएकाले भन्लान्- १६ वर्ष भनेको म जत्रै हो, जीवनमा उत्तरोत्तर प्रगति गरेकाहरूले भन्लान्- यो त एउटा सुन्दर प्राप्तिको समय हो, उपलब्धिको समय हो । धेरै कुरा गुमाएकाहरूले भन्लान्- जीवनमा सबै कुरा खोसिएको समय हो । मानिसले बिताएका अवस्थाहरूसँगै अनुभवहरू फरक छन् । नेपालीका निम्ति युद्ध कुन चराको नामझैं रहेको बेला नेकपा माओवादीले सुरु गरेको युद्धको १६ वर्ष पूरा भएको छ । यो १६ वर्षमा के भयो ? आ-आफ्नै तवरले यसको लेखाजोखा भइरहेको होला । सामान्य रूपमा हेर्ने हो भने सबै नेपालीका लागि यो १६ वर्षले कुनै न कुनै रूपमा विशेष अर्थ राख्छ चाहे उनीहरू माओवादी प्रभावित हुन् या नहुन् । यी १६ वर्षमध्येको १० वर्ष त युद्धमै बित्यो, युद्ध आफ्नै मानिसहरूसँग, नेपालीहरूसँगै । जागिर खाएर बाबुआमा, घरपरिवार पाल्नका लागि सिपाही भएकाहरू मरे, प्रहरी बनेकाहरू ढले, पढाएर शिक्षाको उज्यालो छर्न चाहनेहरू मारिए, कोही सुराकीका नाममा मरे, कोही सामन्तीका नाममा लखेटिए । युद्धका नाममा महिलाहरू बलात्कृत भए, बुढेसकालमा साहारा बन्ला भन्ने सपना साँचेर हर्ुकाएका सन्तान रातारात सहिद बनेका समाचारहरू बाबुआमाले पाए । द्वन्द्वका बेला कतिका लागि आफ्नै गाउँघर पराइझैं बन्यो । धेरै कुराहरू भए ।
१६ वर्षअघि मुलुक परिवर्तन गर्नका लागि कम्मर कसेर घर छोडेका युवाहरू अहिले अधबैंसे भइसकेका छन् । यसबीचमा जे-जति काम र कुराहरू भए तिनबाट न त मुलुक परिवर्तन भयो न त उनीहरूको जीवनमै उल्लेखनीय फरक आयो । ‘जनयुद्ध’लाई कसरी सम्झिने ? युद्ध गर्नेहरूबीचमै पनि फरक-फरक अनुभवहरू छन् । बन्दुक बोक्दाबोक्दै घाइते भएर जीवनका उराठलाग्दा दिनहरू बिताउँदै आएका, जनयुद्धका नाममा आफन्तहरू गुमाएका, बेपत्ता पारिएका, युद्ध गरेकै कारण सत्तामा पुगेर नाम स्थापित गरेका, संविधानसभाको सदस्य भएका र युद्धकै कारण आफ्नो सर्वस्व गुमाएकाहरूबीचको अनुभव फरक छ । रोल्पा, रुकुम र सिन्धुली जहाँबाट माओवादीहरूले युद्धको थालनी गरे, उनीहरूका लागि ऐतिहासिक बनेका ती ठाउँहरू त्यतिबेला मारिने सुरक्षाकर्मीका परिवारका लागि अभिशाप बन्न पुगे । माओवादीले धुमधामसँग वर्षगाँठ मनाइरहँदा त्यतिबेला मारिएकाहरूको १६औँ पुण्यतिथि कसरी बितिरहेको थियो होला भनेर अनुमान गर्न सकिन्छ । उसबेला रोल्पामा कमाण्ड गर्ने वर्षमान पुन ‘अनन्त’ अहिले पार्टीको अग्रपङ्क्तिका नेता हुनुहुन्छ । रुकुममा नेतृत्व गर्ने गणेशमान पुन पनि वाईसीएलको नेतृत्व गरेर चर्चित बन्नुभएकै छ, राजनीतिक कमिसारका रूपमा रहनुभएका कृष्णबहादुर महरा मुलुकको मन्त्री बनिसक्नुभएको छ । ठूला नेताहरू मन्त्री र प्रधानमन्त्रीसमेत भइसकेका छन् । अहिले पनि कुन-कुन पद लिने हो भन्ने विषयको लडाइँ जारी नै छ । १६ वर्षअघिको उत्साह घटेर निकै तल पुगेको छ, मुलुक बनाउने सपना देखेकाहरूमध्ये कतिको संसार भत्किएर साँघुरो भएको छ । केही नेताहरूको संसार फराकिलो बने पनि अहिले धेरैजसो कार्यकर्ताहरू बडो दु:खले ज्यान पालिरहेका छन् । कतिलाई चाहिँ विगतमा जे गरियो त्यसबाट ग्लानि पनि भइरहेको छ । उनीहरूमाथि परेको मनोवैज्ञानिक असरका बारेमा हामीकहाँ त्यति वास्ता गरिएको छैन । हरेक युद्धपछि मानिसमा जुन प्रकारका मानसिक असरहरू पर्छन् त्यसतर्फराज्य तथा सामाजिक कार्यमा सरिक हुनेहरूले सावधानीपूर्वक परामर्शदेखि लिएर आवश्यक कार्यको थालनी गर्नुपर्ने हो तर त्यसप्रकारका कुनै पनि कार्यहरू यो ६ वर्षका बीचमा भएका छैनन् । माओवादीसम्बद्ध व्यक्तिहरूमा मात्र नभएर युद्धका बेला परिचालन गरिएका सुरक्षाकर्मीहरूका लागि पनि त्यसप्रकारका कार्यक्रमहरू अगाडि सारिनुपथ्र्यो । अहिले विभिन्न शिविरमा रहेका माओवादी लडाकुहरूमा फस्ट्रेसन, डिप्रेसन तथा आत्महत्यासम्मका जुन घटनाहरू भइरहेका छन्, ती स्वाभाविक थिए । अझ जति क्षति हुन सक्थ्यो कम भयो भन्न सकिन्छ तर अब पनि त्यतातर्फनसोच्ने हो भने यसप्रकारका घटना अरू दोहोरिन सक्छन् । मानिसहरू प्राय: सुखद भविष्यको कल्पनामा अपेक्षाहरूकाबीच आफूलाई अगाडि बढाइरहेका हुन्छन् । जब ती आशाहरूमा तुषारापात हुन्छ त्यसपछि उसमा निराशा छाउन सक्छ, माओवादी लडाकु र कार्यकर्ताहरूमा पनि जीवनप्रतिका असिम चाहनाहरू थिए, समयक्रममा जब पुरा होलान् जस्तो देखिएन उनीहरूमा फस्ट्रेसन सुरु भयो । बेपत्ता भएका परिवारका सदस्यहरूमा यसको मात्रा झनै बढी छ ।
नेपालको माओवादी युद्धको १६ वर्षो काललाई हेर्दा मानिसको शारीरिक र मानसिक क्षतिसँगसँगै मुलुकमा हुनुपर्ने विकासका कार्य पनि ठप्पै भएको देखिन्छ । माओवादीहरू शान्तिप्रक्रियामा आउँदा जनमानसमा भएका अनेक अपेक्षामध्ये भ्रष्टाचार नियन्त्रण होला भन्ने एउटा प्रमुख थियो । कतिपय सरकारी कार्यालयमा कर्मचारीले दु:ख दिँदा सर्वसाधारणहरू भन्थे, पखन माओवादी सरकारमा आएपछि थाहा पाउँछौ । माओवादीप्रति असाध्यै ठूलो भरोसाझैं पलाएको थियो तर जब उनीहरू सार्वजनिक रूपमा आए, भ्रष्टाचार झनै खुलेआम भयो, माओवादीलाई यति प्रतिशत दिनैपर्छ भनेर संस्थागत रूपमै पैसाको चलखेल हुन थाल्यो । ठेक्कापट्टा, जग्गाजमिनको किनबेचदेखि वैदेशिक रोजगारमा गएर दु:ख गरेर फर्किनेहरूसमेत माओवादीबाट टाढा रहन सकेनन् । दसवर्षो युद्धको क्रममा जनमानसमा डर, त्राससँगै आशाका किरणहरू पनि माओवादीले जगाएको थियो तर शान्तिप्रक्रियाको यो ६ वर्षो यात्रामा ती कुराहरू गौण बने । यति हुँदाहुँदै पनि माओवादी युद्धले मानिसहरूमा व्यापक जनचेतना ल्याउन सफल भयो, महिला अधिकारका कुराहरू अगाडि आए, महिलाहरूमा राजनीतिक चेतनाको विकास भयो । जातीय छुवाछूतमा कमी आयो, बोलीचालीमा ठूलो-सानोबीचको दूरी कम भयो । केही नभएको होइन तर कामभन्दा कुरा धेरै भए, माओवादीले चाहेको भए एउटा सङ्गठित शक्तिको रूपमा यो मुलुकमा धेरै राम्रा कामहरू गर्न सक्थ्यो । अहिले नै पनि शान्ति र संविधान मुखले मात्र नभएर मनबाटै गर्ने भए समयमै संविधान बन्न सक्छ, इमानदार भएर लडाकुहरूको व्यवस्थापन गर्न खोजे कुनै पनि क्षेत्रमा हुन सक्छ । शान्तिप्रक्रिया लडाकुको व्यवस्थापन र संविधान निर्माणमै मात्र सीमित छैन, युद्धले छोडेका तमाम घाउहरूमा मल्हम नलगाई अघि बढ्दा ती घाउहरू फैलिएर आफैंलाई क्षति गर्ने सम्भावना बढी हुन्छ । युद्धको १६ वर्षलाई गर्ने मूल्याङ्कनको आधार सत्ता प्राप्तिमा सीमित नगरी समग्र मुलुकको हितमा केन्द्रित गर्न सके त्यो नै त्यतिबेला बलिदान गर्ने र अहिलेसम्म पनि युद्धको पीडा भोगिरहेका सबैका लागि सच्चा सम्मान हुनेछ ।