राष्ट्रिय टेबुल टेनिसमा स्मृतिलाई स्वर्ण

राष्ट्रिय टेबुल टेनिसमा स्मृतिलाई स्वर्ण


काठमाडौं डल्लु–१५ की स्मृति पन्तले प्रथम राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा स्मृतिले आफ्नै वडाकी नस्ला मानन्धरलाई ३–११, ११–८, १२–१० र ११–५ को सेटमा पराजित गरेकि हुन् । डल्लु १५ कै आभा पन्त र गोरखा १ की प्रकृति गुरुङ तेश्रो भए ।

त्यस्तै यु–१४ ब्वाइज सिंगल्सको उपाधि भक्तपुर ७ का रेखन तामाङले जितेका छन् । उनले फाइनलमा धरान ७ का अनमोल विकलाई ११–७, ७–११, ११–५ र ११–९ को सेटमा पराजित गरेका थिए ।

कीर्तिपुर १५ का विपिन महर्जनले प्रथम राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताअन्तर्गत क्याटगोरी ‘बी’ को पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । राष्ट्रिय खेलाडी खेल्न नपाउने यो क्याटगोरीको फाइनलमा विपिनले ललितपुर ८ का ज्ञानेश्वर महर्जनलाई ११–९, ११–८ र ११–६ को सोझो सेटमा पराजित गरेका हुन् ।

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बुढानीलकण्ठ १२ का कपुर शर्माले उपाधि भिडन्तमा ललितपुर ८ का पन्नाकाजी शाक्यलाई ११–४, १०–१२, ९–११, ११–६ र १४–१२ को सेटमा पराजित गर्दै स्वर्ण जितेका थिए ।

सोही स्पर्धाको ४० वर्षमाथि उमेरसमूहको फाइनलमा ललितपुर ११ का राजेन्द्र वज्राचार्यले कीर्तिपुर ९ का जयराम महर्जनलाई ११–६, ११–९ र ११–६ को सीधा सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारेका छन् ।

डल्लु १५ की सुस्मिता खड्का यु–१४ गल्र्स सिंगल्समा च्याम्पियन बनिन् । फाइनलमा सुस्मिताले भक्तपुर ४ की दिया देउलालाई १३–११, ५–११, १०–१२, ११–८ र ११–७ ले पाखा लगाइन् ।

महिला सिंगल्स फाइनलमा भक्तपुर ६ की यशस्वी अवालले डल्लु १५ की नस्ला मानन्धरलाई ११–९, ९–११, ११–८, ४–११ र १२–१० ले निराश पार्दै स्वर्ण पदक जितेकी थिइन् ।