दुई सय नेपाली विद्यार्थी ‘स्वर्णजयन्ति छात्रवृत्ति कार्यक्रम’का लागि छनोट

दुई सय नेपाली विद्यार्थी ‘स्वर्णजयन्ति छात्रवृत्ति कार्यक्रम’का लागि छनोट


दुई सय जना नेपाली विद्यार्थीलाई भारत सरकारले २०१७–२०१८ को लागि भारत सरकारको प्रतिष्ठित स्वर्णजयन्ति छात्रवृत्ति कार्यक्रमका लागि छनोट गरेको छ । उक्त छात्रवृत्ति कार्यक्रमले चुनिएका नेपाली विद्यार्थीहरुलाई नेपालकै विश्वविद्यालय र क्याम्पसहरुमा एम.बि.बि.एस., बि.ई., बि.एस.सि., बि.ए., बि.एड. बि.बि.ए. लगायत अन्य विषयमा स्नातक तहको पढाइ जारी राख्न मद्दत पुग्ने भन्दै नेपालस्थित भारतीय दूतावासले छनोटमा परेकाहरूलाई ‘योग्य विद्यार्थी’ भन्दै बधाई दिएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार सन् १९५१ मा शुरु भएको भारत–नेपाल आर्थिक सहकार्यको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा भारत सरकारले सन् २००२ मा योग्य नेपाली विद्यार्थीका लागि स्वर्णजयन्ति छात्रवृत्ति कार्यक्रमको शुरुवात गरेको थियो । यस कार्यक्रमको शुरुवातमा ५० जना नेपाली विद्यार्थीेलाई यो छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्तिको संख्यामा वृद्धि गरी १०० पुऱ्याइएको थियो भने सन् २०१२ देखि यसको संख्यालाई दोब्बर बनाई २०० पुऱ्याइएको छ ।

यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत एक एम.बि.बि.एस.को विद्यार्थीले प्रतिमहिना ४००० रुपैयाँका दरले पाँच वर्षसम्म, एक बि.इ.को विद्यार्थीले प्रतिमहिना ४००० रुपैयाँका दरले चार वर्षसम्म र अन्य स्नातक तहका अन्य संकायमा अध्ययनरत एक विद्यार्थीले प्रतिमहिना ३००० रुपैयाँका दरले तीन वर्षसम्म प्राप्त गर्दछ । अहिलेसम्म नेपालका ७७ जिल्लाका २१५० भन्दा बढी विद्यार्थीहरू यस स्वर्णजयन्ति छात्रवृति कार्यक्रमबाट लाभान्वित भएका बताइएको छ ।

भारतीय दूतावास, काठमाडौले आज (२५ फागुन, २०७४) होटेल अन्नपूर्ण, काठमाडौंमा छानिएका २०० जना योग्य नेपाली विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै स्वर्णजयन्ति छात्रवृत्तिको लागि योग्यताको प्रमाणपत्र प्रदान गऱ्यो । सो कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रसचिव शंकरदास वैरागी रहनुभएको थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले विद्यार्थीहरूलाई कार्यक्रममा छानिएकोमा बधाई व्यक्त गर्दै व्यक्तिगत र पेशागत उपलब्धि हासिल गर्न सुझाव दिनुभयो । भारत–नेपाल सम्बन्धलाई थप गहन र बलियो बनाउन यसबाट योगदान पुग्ने उहाँको भनाई थियो । नेपाल सरकार शिक्षा मन्त्रालयका वरिष्ठ पदाधिकारीहरु र विभिन्न विश्वविद्यालय तथा कलेजहरुका उपकुलपति, डिन, रजिस्ट्रार तथा प्राध्यापकहरू कार्यक्रममा सहभागी हुनुभएको थियो ।

यी छात्रवृत्ति कार्यक्रमहरु नेपालमा मानव स्रोत विकासमा सहयोग गरी नेपाल र नेपाली जनताको समग्र सामाजिक–आर्थिक विकासका लागि भारतले गर्नेे प्रयासको एक अंश रहेको बताइएको छ । भारत सरकारले नेपाल र भारतका विभिन्न विश्वविद्यालयहरुमा चिकित्सा, विज्ञान, कृषि, कला, पशु विज्ञान, औषधी निर्माण विज्ञान, कम्प्युटर विज्ञान तथा नर्सिङ विषयहरुमा अध्ययन गर्नका लागि कुल ३००० छात्रवृत्ति प्रदान गर्दछ ।