भाइचुङले किन छोडे तृणमूल कङ्ग्रेस ?

भाइचुङले किन छोडे तृणमूल कङ्ग्रेस ?


नेपाली मूलका चर्चित फुटबल खेलाडी तथा भारतीय टिमका पूर्वकप्तान भाइचुङ भुटियाले पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कङ्ग्रेससँग राजनीतिक नाता तोडेका छन् । भाइचुङले अबउप्रान्त कुनै पनि राजनीतिक दलसँग आबद्ध नहुने भन्दै तृणमूल कङ्ग्रेससँग नाता तोडेका हुन् । भाइचुङले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई सो कुराको जानकारी गराउँदै राजीनामाको घोषणा गरेका थिए ।

भारतीय र नेपाली फुटबल जगत्मा अत्यधिक लोकप्रिय भाइचुङले सन् २०११ मा सक्रिय फुटबलबाट सन्न्यास लिएका थिए । खेलजीवनबाट सन्न्यास लिएको केही वर्षपछि उनी तृणमूल कङ्ग्रेसमा प्रवेश गरेका थिए । भाइचुङ राजनीतिमा प्रवेश गरेको केही समयपश्चात् नै तृणमूल कङ्ग्रेसले उनको लोकप्रियतालाई मध्यनजर गर्दै सन् २०१४ मा सम्पन्न लोकसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो । भाइचुङ २०१४ मा दार्जिलिङ लोकसभा सिटमा तृणमूल कङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । दुर्भाग्य, भाइचुङ उक्त सिटमा पराजित भएका थिए ।

त्यसपछि पनि मुख्यमन्त्री ममता बेनर्जीको निर्देशनमा भाइचुङले सक्रिय राजनीति गर्दै आएका थिए । युवाहरूमाझ भाइचुङको लोकप्रियतालाई मध्यनजर गर्दै सन् २०१६ मा पुनः तृणमूल कङ्ग्रेसले विधान सभा निर्वाचनमा उनलाई उम्मेदवार बनाएको थियो । सिलिगुडी क्षेत्रबाट उठेका भाइचुङ उक्त क्षेत्रबाट पराजित भएपछि राजनीतिप्रति विरक्तिएका थिए । त्यसपछि दलगत र सक्रिय राजनीति नगर्ने भन्दै आएका भाइचुङले अहिले आएर राजनीतिसँग नाता तोडेका हुन् । आफूले राजनीति छोड्नुको कारण भाइचुङले अहिलेसम्म बताएका छैनन् । उनले राजीनामा दिएकोबारे पनि भाइचुङसम्बद्ध पार्टी तृणमूल कङ्ग्रेसले पनि कुनै आधिकारिक जानकारी गराएको छैन । साथै कुनै टीका–टिप्पणी पनि गरेको छैन।

भाइचुङले आफूले सक्रिय राजनीतिबाट बिदा लिएको र तृणमूल कङ्ग्रेसबाट बिदा लिएको कुरा ट्विटरमार्फत जानकारी गराएका थिए । तर, तृणमूल कङ्ग्रेसका महासचिव तथा पश्चिम बंगालका शिक्षामन्त्री पार्थ चटर्जीले भाइचुङको राजीनामाबारे मुख खोल्न अस्वीकार गरेका छन् । प्राप्त जानकारीअनुसार भारतीय जनता पार्टीमा सामेल हुन भाइचुङले पार्टीबाट राजीनामा दिएको बुझिएको छ । भाजपाले थुप्रैपटक भाइचुङलाई पार्टी प्रवेशका लागि प्रस्ताव राखेको पनि खुलासा गरेको छ । यतिबेला भाइचुङको गृहराज्य सिक्किममा भारतीय जनता पार्टी सिक्किम डेमोक्रेटिभ फ्रन्ट (एसडीएफ) सँग मिलेर सरकार चलाइरहेको छ ।

भाइचुङ भुटियाले दुई दशक लामो फुटबल करिअरमा १२ वर्षसम्म भारतीय राष्ट्रिय फुटबल टिमको कप्तानी गरेका थिए । आफ्नो कप्तानीमा भारतीय फुटबलको स्तरलाई निकै माथि उकासेका भाइचुङले भारतलाई ऐतिहासिक सफलतासमेत दिलाएका थिए । जसमा प्रसिद्ध ‘नेहरू कप’ पनि एक थियो । भारतले भाइचुङकै कप्तानीमा पहिलोपटक नेहरू कप जितेर ऐतिहासिक सफलता प्राप्त गरेको थियो । जुन भारतीय फुटबलको ठूलो उपलब्धिमा गनिन्छ । भाइचुङको कप्तानीमा क्यामरुनलाई पराजित गरेर भारतले पहिलोपटक नेहरू कपको उपाधि उचालेको थियो ।

भाइचुङ भारतीय फुटबलका स्टार खेलाडीको पहिलो सूचीमा पर्छन् । उनले राष्ट्रिय टोलीको तर्फबाट १ सय ४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा ४० गोल गर्न सफल भएका छन् । भाइचुङले सक्रिय फुटबल जीवनबाट सन् २०११ मा सन्न्यास लिएका थिए । त्यसपछि उनले राष्ट्रिय टिमलाई गाइडेन्स दिँदै आएका छन् ।