मोफसलको सर्वाधिक राशीको उपाधिका लागि झापा-११ र आर्मी भिड्दै

मोफसलको सर्वाधिक राशीको उपाधिका लागि झापा-११ र आर्मी भिड्दै


– रेजिना गौतम

झापा (२७ फागुन) । मोफसलकै सर्वाधिक राशी पुरस्कार रहेको तेस्रो रमपम झापा गोल्डकपको उपाधीका लागि आयोजक झापा–११ र विभागीय टिम त्रिभूवन आर्मी क्लबबीच सोमबार प्रतिष्पर्धा हुँदैछ ।

झापाको विर्तामोडस्थित डोमालाल रंगशालामा हुने खेलमा विगतकै प्रतिष्पर्धी यी दुई क्बलबीच पुन सोमबार भेट हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको रमपम झापा गोल्डकप अन्तरगत यस अघिका दुईवटा फाइनल खेलमा झापा–११ उपविजेता टिम हो भने त्रिभुवन आर्मी पहिलो संस्करणको च्याम्पियन हो ।

झापा–११ उपाधीका लागि तेस्रो पटक फाइनल प्रतिष्पर्धामा छ भने त्रिभुवन आर्मी दोस्रो पटक फाइनल प्रतिष्पर्धामा पुगेको छ ।

फागुन १९ गतेदेखि सुरु भएको रमपम झापा गोल्डकपको तेस्रो संस्करण अन्तरगत झापाले पहिलो चरणमा २ र सेमिफाइनल–१ सहित खेल खेल्दै फाइनलको प्रतिष्पर्धामा पुुगेको हो भने आमीले क्वाटर र सेमी फाइनल सहित दुईवटा खेल खेल्दै फाइनलको यात्रा तय गरेको हो ।

सुदुरपश्चिमसंग पहिलो खेल खेलेको झापा–११ ले दोस्रो खेल पाहुना टोली सिक्किम युनाइटेडसंग खेलेको थियो भने सेमीफाइनलमा विदेशी खेलाडीले भरिएको काठमाडौंको थ्री स्टार फुटबल क्लबसंग प्रतिष्पर्धा गरेको थियो ।

त्यस्तै विभागीय टिम नेपाल पुलिस क्बलसंग प्रतिष्पर्धा गरेको आर्मीले सेमी फाइलनमा मनाङ मस्र्याङ्दीसंगको प्रतिष्पर्धामा १–० गोल अन्तरले फाइनलको यात्रा तय गरेको हो ।

म्यास बेसका आधारमा खेल खेल्दै आएका झापाका खेलाडीहरु यसवर्षदेखि व्यवसायीक खेल खेल्ने भएपछि निकै उत्साहित बनेका छन् । झापा–११ ले खेलाडीलाई अनुबन्ध गर्ने भएपछि उत्साह बढेको बताएका छन् । थ्री स्टारसंगको जित त्यसैको उपलब्धी भएको झापा–११ का प्रशिक्षक प्रवेश कटुवालले बताए ।

आइतवार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि आफूले जित्ने दावी गरे । थ्री स्टार जस्तो बलियो प्रतिद्धन्द्धीलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले आर्मीलाई फाइनलमा पराजित गर्दै पुरानो पराजयको बदला लिने झापा–११ का प्रशिक्षक कटुवालले दावी गरे । उनले भने,‘हामी केही समयदेखि नियमित तालिममा छौ खेलाडी सवै फिट छन् त्यसैले जित हाम्रो पक्षमा छ ।’

झापा–११ पहिलो झापा गोल्डकपमा आर्मीसंग पराजित भएको थियो भने गत वर्षको माइभ्याली गोल्डकपमा झापाले पनि आर्मीलाई पराजित गरेको थियो ।

आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आर्मीले यो सिजनमा ६ वटा ठूला गोल्डकप जितिसकेको प्रसङ्ग उल्लेख गर्दै त्यही जितको उच्च मनोबल सिङ्गो टिममा रहेको बताए । ‘सिंगो टीम उपाधि जित्न आतुर छ’, उनले भने ।

उपाधि जित्ने टीमले १२ लाख ५१ हजार पाउने छ । उपविजेताले ६ लाखमा चित्त वुझाउनु पर्ने छ ।