शितगंगाका मेयर बारम्बार किन उठाउँछन् राजीनामाको प्रसङ्ग ?

शितगंगाका मेयर बारम्बार किन उठाउँछन् राजीनामाको प्रसङ्ग ?


– मुक्तिनाथ भुसाल

अर्घाखाँचीको शितगंगा नगरपालिकाको सहकार्य र स्थानीय सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ठाडास्थित शिवालय मन्दिरमा एक कार्यक्रम सम्पन्न भएको छ । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारे आयोजित कार्यक्रममा सितगंगा नपाका मेयर सुर्यप्रसाद अधिकारीले नगरपालिकाका काम–कारवाहीमा आफूबाट अनियमितता भएको प्रमाणित भए ततकाल राजीनामा दिने अभिव्यक्ति दिए, जो स्थानीय जनताबीच चर्चाको विषय बनेको छ ।

पछिल्ला समयमा आयोजित हरेक कार्यक्रममा बोल्दा नगरप्रमुख अधिकारीले आफ्नो राजीनामाको कुरालाई विशेष जोड दिएर उल्लेख गर्ने गरेका छन् । महिला दिवसको अवसरमा पनि उनले राजीनामाको प्रसङ्ग छुटाएनन् । आखिर किन उनी आफ्नो भाषणमा राजीनामाको कुरा उल्लेख गर्न छुटाउँदैनन् ? – स्थानीय जनतामा खुल्दुली जाग्नुको कारण पनि यही हो । कतै उनले अचानक राजीनामा गर्नुपर्ने परिस्थिति सिर्जना भइहाल्ने त होइन ? यस्तो सम्भावनाबारे पनि स्थानीयबीच चर्चा शुरु भएको छ । आफ्नो दायित्व वा कर्तव्य इमानदारीसाथ निर्वाह गर्न छोडेर मेयरसा’प किन बारम्बार राजीनामाको कुरा उठाउँछन् भन्ने जिज्ञासा उनका मतदातामा जाग्नु अस्वाभाविक पनि होइन ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि तथा नगर–उपप्रमुख टिकाबहादुर रेश्मीले समाज परिवर्तनका लागि विभिन्न क्षेत्रमा अवसर पाएका महिलाले सचेतनाका साथ आफ्नो अधिकार प्रयोगको साटो जिम्मेवारीमा भएका कैयन महिलाले ‘हतार छ’ भन्दै विनाअध्ययन जरुरी कागजातमा हस्ताक्षर गर्ने गरेको भन्दै गुनासो पोखे ।

कायक्रमका सभापति तथा सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष भगवता बेल्वासेले पुरुषहरुलाई गाली गरेर मात्रै महिलाका अधिकार स्थापित हुन नसक्ने तर्क गर्दै आफना कमजोरी सुधार गर्दै सबैभन्दा पहिला आफनो घरपरिवार स्वर्ग बनाउनु पर्ने बताइन् । आमा–छोरीमा जस्तो सासु–बुहारीमा पनि प्रेम हुन सके समाज स्वर्ग जस्तो बन्ने उनको धारणा थियो ।

समाजसेवी शिवकला बिकको सञ्चालन, लक्ष्मी पन्थीको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा त्यस क्षेत्रमा रहेका ११ जना जेष्ठ महिलाहरूलाई कपडा र नगदबाट सम्मान गरिएको थियो भने लोक तथा नृत्यमा प्रथम, द्धित्तिय, तृतीय र सान्त्वना हुन सफल क्रमशः कुसुम थापा, सिता पौडेल, भुवन अधिकारी र राधा गाहाको टिमलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासे र शिक्षिका माया अर्याल लगायतका वक्ताले आयोजक संस्थाको योगदानलाई मुग्धकण्ठले प्रशंसा गरेका थिए ।