नेपाल तेक्वान्दो संघ २ नम्बर प्रदेश कार्यसमितिका निर्वाचित पदाधिकारीहरूले एक कार्यक्रमका बीच सपथ ग्रहण गरेका छन् । निर्वाचित पदाधिकारीलाई संघको प्रदेश नम्बर ३ का अध्यक्ष केशव पुरीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
प्रदेश २ मा राजेशमान सिंहको नेतृत्वमा २९ सदस्यिय तेक्वान्दो संघ गठन भएको हो । समितिले प्रदेश २ मा तेक्वान्दो खेललाई विशेष खेलको रुपमा लैजाने र यसको प्रवर्धनका लागि विभिन्न स्थानमा प्रतियोगिता आयोजना गराउने लक्ष्य राखेको छ ।
सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष प्रकाश शमशेर राणले प्रदेश २ को टोलीले उत्कृष्ट काम गरेर देखाउनेमा आफू विश्वस्त रहेको बताए । खेलकुदलाई प्रोत्साहन गर्दै खेलकै माध्यमबाट पनि यस क्षेत्रको नाम देशविदेशमा चिनिन सहयोग पुग्ने उनले बताए ।
उनले भने– ‘तेक्वान्दो खेल खेलका लागि मात्रै नभएर आत्मसुरक्षाका लागि पनि महत्वपूर्ण छ । अझ तराइमा चेलिबेटीलाई यो खेलको प्रशिक्षण गराउनु आवश्यक छ, कुटपिट, जबर्जस्ती बलात्कार जस्ता घटना रोक्न महिलाले आत्मसुरक्षाका लागि यसमा सिकेको सिप प्रयोग गर्न सक्छन् ।’
कार्यक्रममा बोल्दै संघको सल्लाहकार समितिका संयोजक समेत रहेका प्रदेश सांसद ओमप्रकास शर्माले यस खेलको प्रचार प्रसार र प्रवर्दनका लागि छिट्टै ठोस कार्ययोजना सार्वजनिक गर्ने बताए । संघका प्रदेश २ का अध्यक्ष राजेशमान सिंहले खेलको माध्यमबाटै युवाहरुलाई एकत्रित र उर्जावान बनाउने अभियानमा आफू लागेको धारणा अघिसारे । खेलबाटै जीविकोपार्जन गर्न सकिन्छ भन्ने बनाउने लक्ष्यका साथ तेक्वान्दोको विकासमा आफू हरदम लागिपरेको उनले बताए ।
यस्तै पूर्व सभासद एवं संघका सल्लाहाकार अनिल रुंगटा, प्रमोद गुप्ताले संघको विकासका लागि चाहिने आर्थिक भौतिक सहयोगको कुनै चिन्ता नलिन आग्रह गरेका थिए । कार्यक्रममा संघका केन्द्रीय सदस्य कविराज खड्गी, गुरुप्रसाद गौतम, चिकित्सक डा. निरज सिंह, उद्योगी अशोक वैद्य, शिक्षाविद् डा. दिपक शाक्य, डा.रोशन अली, डा.सल्मा बानु, मधु राणा, नेपाल पत्रकार महासंघ पर्सा शाखा का अध्यक्ष श्याम बन्जारा, सगरमाथा टेलिभिजन का आबिद हुसेन मधेसी पत्रकार संघका संतोष पटेल राजु श्रेष्ठ लगायतलाई सम्मान समेत गरिएको थियो ।
– प्रणय साह
प्रतिक्रिया