खेलाडी अनुबन्ध गर्ने ‘झापा ११’को कदमले खेलाडीमा उत्साह

खेलाडी अनुबन्ध गर्ने ‘झापा ११’को कदमले खेलाडीमा उत्साह


रेजिना गौतम

झापा/ खेलाडी अनुबन्ध गर्ने भएपछि झापा ११ का खेलाडी हर्षित र फुटबल खेलप्रति अझ उत्साहित भएका छन् । देशभरका फुटबल क्लबले खेलाडीलाई एक/दुई/तीन महिना (छोटो अवधि)का लागि केही पारिश्रमिक दिएर खेलाइरहेको अवस्थामा झापा–११ ले कम्तिमा दुई वर्षसम्म अनुबन्धन गर्ने भएपछि क्लबमा आवद्ध खेलाडीहरु उत्साहित भएका हुन् ।

व्यवसायिक फुटबल खेलको लागि झापाका विभिन्न व्यवसायिक संघ संस्थाहरुले अनुबन्धन गर्ने प्रतिवद्धता गरिसकेका छन् । अनुबन्धनका लागि खेलाडी पनि छान्न पाउने भएपछि व्यापारिक तथा व्यवसायिक संघसंस्थाहरुले पनि खुशी व्यक्त गरेका छन् ।

झापा ११ का टीम क्याप्टेन योगेश गुरुङले आयोजकको अनुबन्धनका कारण झापाली खेलाडीमा हौसला बढेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए । उनले उपाधि जितेर झापाली दर्शकको चाहना पुरा गर्ने दावी गरे ।

आइतवार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि आफूले जित्ने दावी गरे । थ्री स्टार जस्तो बलियो प्रतिद्धन्द्धीलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले आर्मीलाई फाइनलमा पराजित गर्दै पुरानो पराजयको बदला लिने झापा–११ का प्रशिक्षक कटुवालले दावी गरे । उनले भने,‘हामी केही समयदेखि नियमित तालिममा छौ खेलाडी सवै फिट छन् त्यसैले जित हाम्रो पक्षमा छ ।’

सोही अनुसार सहारा अटोमोवाइल्सले झापा–११ का डिफेन्डर देवेन्द्र तामाङलाई र निगाले सिमेन्टले योगेश गुरुङलाई अनुबन्धन गरिसकेको छ भने होटल हिकोला हेरिटेजले पनि १ जना खेलाडी अनुबन्धनका लागि आफू तयार रहेको संचालक देवीभक्त श्रेष्ठले बताएका छन् । यसका अतिरिक्त अर्जुनधारा नगरपालिकाले पनि एक खेलाडी अनुबन्धनका लागि छलफल गरिसकेको छ ।

तर, आधिकारिक रुपमा प्रतिवद्धता आउन बाँकी रहेको बताइएको छ । त्यस्तै बिर्तामोडस्थित कनकाइ फाउण्डेसन, कनकाइ नगरपालिका, प्रदीप इँटा उद्योग र मनसा सिमेन्ट, छिरिङ शेर्पाले एक÷एकजना खेलाडी अनुबन्धन गर्ने सहमति गरेको झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए ।

यस वर्ष तेस्रो संस्करणसँगसंगै ८ जना खेलाडी अनुबन्धन गर्ने लक्ष्य राखेको झापा–११ ले आगामी वर्ष हुने रमपम झापा गोल्डकपको चौथो संस्करणसम्ममा १५ जना खेलाडीलाई अनुबन्धन गर्ने लक्ष्य राखिएको झापा–११ फुटबल क्लब श्रोतले जनाएको छ ।

अनुबन्धन गरिएका खेलाडी जुन व्यापारिक कर्पोरेट हाउसले अनुबन्धन गर्यो त्यो त्यही कर्पोरेट हाउसको ‘अम्बासेडर’ हुने हुनाले कर्पोरेट हाउसहरुलाई फाइदा हुने झापा जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष जलकुमार गुरुङले बताए । उनले भने, ‘खेलाडी त्यो व्यापारिक कर्पोरेट हाउसको गहना पनि हो, अनुबन्धन गरेर उनीहरुलाई फाइदा हुन्छ ।’

अनुबन्धनमा परेका खेलाडीलाई व्यापारिक फर्मले दुई वर्षसम्म मासिक पारिश्रमिक स्वरुप प्रतिव्यक्ति २५ हजार रुपैयाँ उपलब्ध गराउनु पर्नेछ । यस आधारमा दुईवर्षका लागि अनुबन्धन गर्ने कर्पोरेट हाउसले एक जना खेलाडीलाई एक वर्षमा ३ लाख रुपैयाँ लाग्ने छ ।