‘फरक क्षमता’को उत्थानका लागि विशेष महत्व दिइने : मुख्यमन्त्री राउत

‘फरक क्षमता’को उत्थानका लागि विशेष महत्व दिइने : मुख्यमन्त्री राउत


फरक क्षमता भएका व्यक्तिहरु अर्थात अपाङ्गको उत्थानका लागि पर्याप्त कार्य हुन नसकेको प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले बताएका छन् ।

मुख्यमन्त्री राउतले अहिले प्रदेशहरुको कानुन निर्माण भइरहेको अवस्थामा अपाङ्गको उत्थानका लागि विशेष महत्व दिइनेमा जोड दिए । उनले समाजका हरेक वर्ग मूलप्रवाहमा नआएसम्म देशको विकास नहुने बताए ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरमा आयोजित अपाङ्गता भएका व्यक्तिको अधिकार विषयक दुई दिवसीय प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै उनले संविधान समानुपातिक र समावेशी रहेको भनिए पनि व्यवहारमा त्यसो हुन नसकेको टिप्पणी गरे ।

मुख्यमन्त्री राउतले अपाङ्गता भएका व्यक्तिको अधिकार प्रत्याभूति गराउन प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहने बताए ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले नेपालको संविधानमा अपाङ्गमैत्रीका विषयमा समावेश भएपनि कार्यान्वयनको पाटो सुदृढ हुन नसकेकाले अपाङ्ग भएकाहरुले दयनीय अवस्थामा बाँच्नुपरेको बताए ।

सम्मेलनमा उठेका सम्पूर्ण विषयहरुलाई समावेश गरी सोमबार जनकपुर घोषणापत्र सार्वजनिक गरिने आयोगका जनकपुर क्षेत्रीय कार्यालय प्रमुख दिपेन्द्रबहादुर सिंहले जनाएका छन् ।