नुवाकोट दुर्घटनामा घाइते भएका दुईको मृत्यु

नुवाकोट दुर्घटनामा घाइते भएका दुईको मृत्यु


आइतबार नुवाकोटमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । त्रिशूलीबाट देवीघाटतर्फ गइरहेको मिनीबस दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको आइतबार राति मृत्यु भएको हो ।

विदुर नगरपालिका–५ पिपलटारका २७ वर्षीय ईश्वर नेपालीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा र सोही स्थानका २५ वर्षीया बिमला डंगोलको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा.१ ख ६५१९ नं को बस गुडिरहेको समयमा आइतबार अपराह्न पांग्रा खुस्किएर विदुर नगरपालिका–५ पिपलटारमा दुर्घटना भएको नुवाकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बेलकोटगढी नगरपालिका–८ जिलिङका ३५ वर्षीय गुरुप्रसाद नेपाल र उनको पाँच वर्षीय छोरा प्रवेश नेपाल, धादिङ बैरेनीका ३७ वर्षीया दीपा सुनारलाई थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । प्रहरकिा अनुसार अन्य चार जना घाइतेको जिल्लास्थित नुवाकोट सिटी अस्पताल विदुर र सञ्जीवनी अस्पताल बट्टारमा उपचार भइरहेको छ ।