एउटै विद्यालयमा दुई प्रधानाध्यापक

एउटै विद्यालयमा दुई प्रधानाध्यापक


शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एक जना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि पर्वतको एक विद्यालयमा भने एक वर्षदेखि दुई जना प्रधानाध्यापक रहँदै आएका छन् ।

जिल्लाको कुश्मा नगरपालिका–११ मा रहेको वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुई जना छुट्टा–छुट्टै प्रधानाध्यापक रहँदै आएका छन् । एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएर गएका थिए । तर विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रअ बनाई काम गराउन नसकिने र हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो ।

पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुन भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुन् । पौडेलले यसअगाडि नै ०६८ सालबाट तीन वर्ष प्रअ भई काम गर्दागर्दै पदबाट राजीनामा गरेका थिए । उनीमाथि आर्थिक हिसाब–किताब पारदर्शी रुपमा राख्न नसकेको आरोप छ । पौडेलले आफूपछि प्रअ बनेकी सावित्रा सुवेदीलाई बरबुझारथ गरेनन् ।

क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुनरावेदन अदालत बागलुङ र जिल्ला शिक्षा कार्यालय पर्वतले शिक्षा नियमावलीअनुसार गणेशराज पौडेललाई प्रधानाध्यापक बनाउन भनी विद्यालयमा पत्राचार गरेको भए पनि व्यवस्थापन समितिले भने हीराबहादुर क्षेत्रीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । राससका अनुसार क्षेत्रीको पक्षमा समितिमा बहुमत छ । विद्यालयमा दुवै प्रअले कार्य सम्पादन गर्दै आएका छन् ।