भारोत्तोलनमा उत्कृष्ट बन्दै उत्तम

भारोत्तोलनमा उत्कृष्ट बन्दै उत्तम


विभिन्न खेलमा रुचि राख्ने उत्तमले विद्यालयस्तरबाटै खेलकुद खेल्न थालेकी थिइन् । ०५३ साल अर्थात् मात्र ११ वर्षको उमेरमा एथलेटिक्सबाट शुभारम्भ भएको उनको खेल यात्राले अहिले अहिले डेढ दशक पार गरिसकेको छ । विद्यालयस्तरमा एथलेटिक्सतर्फ सटफुट, ज्याबलेन थ्रो र दौडमा आफ्नो प्रभावशालीता देखाएकै कारणले उनी उत्कृष्ट खेलाडीको रूपमा देखिएकी थिइन् । आफूले खेलेका प्रायः सम्पूर्ण खेलहरूमा सफलताको स्वाद चाखेकी र उत्कृष्ट प्रदर्शन गरेकै कारणले उत्तमप्रति बाँकेको ब्राइट लाइन इंग्लिस स्कुलले आँखा लगाएको थियो । खेलकुदमा राम्रो भएकै कारण उत्तमलाई सो स्कुलले छात्रवृत्ति प्रदान गरेको थियो । यसरी बर्दियाबाट बाँकेमा आइपुगेकी उत्तमले उक्त स्कुलबाट ०५७ देखि ६० सालसम्म विद्यालयस्तरका विभिन्न प्रतियोगितामा सहभागी हुँदै स्कुल र आफ्नो नाम रोशन गर्न सफल भएकी थिइन् । सोही समयमा भएको वीरेन्द्र सिल्ड प्रतियोगितामा एथलेटिक्सतर्फ उत्कृष्ट प्रदर्शन गरेपछि उनको खेलजीवनले नयाँ मोड लिएको थियो । यसरी उत्तमले क्षेत्रीयस्तरमा प्रथम हँुदै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने अवसर पाएकी थिइन् ।
०५४ सालमा नेपालगन्जमा आयोजना भएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएकी उत्तमले सो प्रतियोगितामा सटफुटतर्फ तेस्रो स्थान हात पारेकी थिइन् । पहिलो सहभागितामै राष्ट्रिय प्रतियोगितामा पदक जिते पनि त्यसबेला उनलाई पदक जितेकोभन्दा पनि राष्ट्रिय प्रतियोगितामा खेल्न पाएकोमा निकै खुसी लागेको थियो रे । यसपछि निरन्तर चार वर्ष एथलेटिक्समै आफ्नो भाग्य अजमाएकी उत्तम ०६० सालमा नेपाल प्रहरीमा भर्ती भएकी थिइन् । एथलेटिक्सको उत्कृष्ट खेलाडी बन्ने उद्देश्य लिएर प्रहरीमा भर्नाभए पनि त्यो उद्देश्य प्राप्त नभएपछि उनले एथलेटिक्सलाई सदाका लागि बाईबाई गर्दै भारोत्तोलनलाई आत्मसात् गरेकी थिइन् । भारोत्तोलनबारे कुनै जानकारी नभए पनि भारोत्तोलनका गुरु सकिल अहमद हलुवाईले ‘तिमी भारोत्तोलनको राम्रो खेलाडी बन्न सक्छौ’ भनेपछि उनकै प्रेरणाले आफूले भारोत्तोलनको प्रशिक्षण लिएको बताइन् ।
शुभारम्भमा भारोत्तोलन खेलको क्लिन एन्ड जर्क र स्न्याच के हो ? त्यो समेत उत्तमलाई थाहा थिएन । प्रशिक्षण गर्दै जाँदा पार्थसारथी सेन गुप्त र सुनिल गुरुको हौसला र प्रेरणाले उनलाई परिपक्व बनाएको थियो । अझ भारोत्तोलनमा थप ऊर्जा थप्न तिलक राउत, सञ्जय महर्जन, जगदीश प्रधान र राजेन्द्र प्रधान गुरुले उनीमाथि ठूलो गुन लगाएका छन् । उनलाई सफलताको शिखरमा पुर्‍याउन अहम् भूमिका निर्वाह गरेका थिए । गुरुहरूको प्रेरणा र आफ्नो अथक मिहिनेतका कारण भारोत्तोलनको प्रशिक्षण लिएको तीन महिनामै उत्तमले तत्कालीन राजा ज्ञानेन्द्रको शुभ–जन्मोत्सवको उपलक्ष्यमा आयोजित राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको ५८ केजीतर्फ प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् । आफ्नो पहिलो प्रयासमै प्रथम स्थान हासिल गरेपछि निकै होसिएकी उत्तमले त्यसपछि आफ्नो मिहिनेतलाई अँझ दोब्बर पारेकी थिइन् । तर विडम्बना, उनकै तौल समूहमा रहेकी राष्ट्रिय कीर्तिमानधारी झन्त कटुवाल उनका लागि दिवार बन्न पुगिन् । झन्तको सहभागिता उत्तमका लागि निकै पीडादायिक बन्न पुग्यो । यसर्थमा कि झन्तले खेलुन्जेल उनले दोस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो । यो क्रम ०६४ सालसम्म चल्यो । ०६५ सालमा झन्त विदेश पलायन भएपछि उत्तमको भाग्य चम्किएको थियो । यसपछि उनले आफ्नो समूहमा दोस्रो हुनुपरेको छैन । अहिले उत्तम झन्तकै समकक्षमा पुगेकी र आगामी दिनमा सो कीर्तिमान तोड्ने प्रशिक्षक सञ्जय महर्जनले बताए ।
काठमाडौंमा सम्पन्न भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ५८ केजी तौल समूहमा स्वर्ण पदक जितेपछि उत्तमको चर्चाले शिखर छोएको थियो । त्यसपछि उनी राष्ट्रियस्तरमा स्थापित हुन पुगेकी थिइन् । मुलुकमा अन्तर्राष्ट्रियस्तरका भारोत्तोलनका प्रतियोगिता नहुनु र विदेशमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा महिलाको स्पर्धा नराखिनुले महिला खेलाडीले राष्ट्रियस्तरमै खुम्चिनुपरेकोमा उत्तमको ठूलो गुनासो रहेको छ । राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गरे पनि पुनः राष्ट्रिय प्रतियोगितामै सीमित हुनुले महिला भारोत्तोलकले आफ्नो प्रतिभा अन्तर्राष्ट्रियस्तरमा देखाउन पाएका छैनन् । यही मारमा उत्तमले पनि रेटिनुपरेको वास्तविकता कसैबाट छिपेको छैन । र पनि, समयको पर्खाइमा उनी आफ्नो उद्देश्यबाट विमुख भएकी छैनन् ।
आशाका र विश्वासका किरणहरूको प्रतीक्षा गर्दै उत्तम आफ्नो प्रशिक्षणमा लगातार होमिरहेकी छिन् । यही लगनशीलता र मिहिनेतले होला उनले हालै सुदूरपश्चिममा सम्पन्न भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेर आफ्नो खेलजीवनमा नौलो अध्याय थपेकी छिन् । भारोत्तोलन खेल्न थालेको आठ वर्षपछि उत्तमले पहिलोपटक नेपालगन्जमा आयोजना भएको पहिलो दक्षिण एसियाली अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्पर्धा गर्न पाउँदा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । ५८ केजीमा प्रतिस्पर्धा गरेकी उत्तमको समूहमा भारत, पाकिस्तान र श्रीलङ्का परेका थिए । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा हौसला बुलन्द भए पनि उनको प्रयास कास्य पदकमै सीमित भएको थियो । उत्तमले यो प्रतियोगितामा तीनवटा कास्य पदक जितेकी थिइन् । यो प्रतियोगितापश्चात् निकै आत्मविश्वास बढेको बताउने उत्तमले हामी पनि विदेशी खेलाडीलाई टक्कर दिन सक्छौँ भन्ने महसुस भएको सुनाइन् ।
वर्तमान अवस्थामा ‘मिसन साग’को तयारीमा जुटेकी उत्तम १२औँ सागमा महिला स्पर्धालाई राखिने कुरामा आशावादी छिन् । १२औँ सागमा महिला स्पर्धालाई पनि राख्ने सम्भावना भएको र राखेमा नेपाल र आफूले पदक जित्ने कुरामा ढुक्क छिन् । भारत, श्रीलङ्का र बंगलादेशलाई प्रमुख प्रतिद्वन्द्वी ठान्ने उत्तमले अवसर पाएमा चमत्कार देखाउने कुरा दृढ छिन् । एकपटक साग गेममा प्रतिस्पर्धा गर्न पाए कुनै कसर बाँकी नराख्ने मनसाय बनाएकी उत्तमले अहिले आफ्नो लक्ष्य पनि सागमै पदक जित्ने रहेको प्रस्ट पारिन् । राष्ट्रियस्तरमा जति राम्रो गरे पनि अन्तर्राष्ट्रियस्तरमा खेल्न नपाउँदासम्म र पदक नजित्दासम्म त्यो अर्थहीन हुने भएकोले अहिले आफ्नो पहिलो प्राथमिकता भनेको अन्तर्राष्ट्रिय पदक जित्नु रहेको बताइन् । तसर्थ यसका लागि अहिले जोडतोडले मिहिनेत गरिराखेका छौँ । हेरौँ, भारतमा साग हुने भएकोले महिला स्पर्धा पनि राखिन्छ होला, गुरुहरू पनि यसै भन्नुहुन्छ– उनको कथन थियो ।
आफ्नो खेलजीवनको डेढ दशकमा उत्तमको मानसपटलमा थुप्रै अविष्मणीय तस्बिरहरू खिचिएका छन् । त्यसमा राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दाको क्षण उनका लागि निकै महत्वपूर्ण र अविष्मरणीय बनेको छ । मिहिनेतमा विश्वास गर्ने खेलाडी भएकोले अहिलेसम्म साग खेल्न नपाउनु दुःखको विषय बनेको छ । नेपालमा भएको अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगिता नेपालमै भएका कारणले अन्तर्राष्ट्रियजस्तो नलागेको बताउने उत्तमले त्यस्तै प्रतियोगितामा प्रतिस्पर्धा गरेर नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने धोको पालेकी छिन् । १२औँ सागमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको राष्ट्रिय झन्डालाई अन्तराष्ट्रमा फहराउने उनको सपना साकार होस्, कामना गरौँ ।

इन्डोर आर्चरीमा सोनी शेर्पा सर्वोत्कृष्ट
कास्की आर्चरी सङ्घले प्रथम इन्डोर राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष टिम स्पर्धामा स्वर्ण जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद््को कभर्डहलमा भएको फाइनलमा असीम शेरचन, खगेन्द्र मल्ल र दुर्गा पुर्जा सम्मिलित टोलीले मनाङमस्र्याङ्दी आर्चरीको ओङ्ग्या गुरुङ, कर्मा गुरुङ र जितबहादुर मोक्तानको टोलीलाई २१३ का विरुद्ध २१६ अङ्क बटुल्दै पराजित गरेको थियो । त्यस्तै हिमालयन आर्चरी क्लब किरात वेलफेयर सोसाइटी आर्चरी क्लबलाई २१५–१८४ अङ्कले हराउँदै तेस्रो भयो । हिमालयनबाट प्रेमप्रसाद पुन, रमेश भट्टचन र वाङ्गेल गुरुङले खेलेका थिए । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
नेपाल आर्चरी सङ्घद्वारा आयोजित प्रतियोगिताको खुलातर्फ मिक्स टिम स्पर्धामा हिमालयनका प्रेमप्रसाद पुन र माया स्याङ्तेनको जोडी पहिलो भयो । उपाधि भिडन्तमा उक्त जोडीले कास्कीका खगेन्द्र मल्ल र राज्यलक्ष्मी जोशीको जोडीलाई ३–१ को सेटमा हराएको थियो । कास्कीका दुर्गा पुर्जा र रेणु तामाङ कास्कीकै असीम शेरचन र दिलकुमारी भुजेललाई ३–० ले पाखा लगाउँदै तेस्रो स्थानमा रहे । स्ट्यान्डर्डको मिक्स टिममा हिमालयनका वीरेन्द्र गुरुङ र सरिता तामाङको जोडीले शीर्ष स्थान कब्जा गरे । फाइनलमा त्यस जोडीले कञ्चनपुरका होमबहादुर थापा र अन्नपूर्ण आर्चरी क्लबकी रश्मी दर्लामीको जोडीमाथि ३–० को जित दर्ता गरेका थिए । हिमालयनका सौजन्य गुरुङ र सोनी शेर्पाको जोडीले तेस्रो स्थानमा चित्त बुझाए ।
त्यस्तै खुला र स्ट्यान्डर्डको मिक्समा शीर्ष स्थानमा रहनेले क्रमशः समान तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार जिते । सात स्वर्ण समावेश प्रतियोगितामा यसअघि चार स्वर्णको छिनोफानो भएको थियो । जसअन्तर्गत व्यक्तिगत खुला रिकर्भको पुरुषमा राष्ट्रिय च्याम्पियन मनाङका जितबहादुर मोक्तान र महिलामा कास्कीकी रेणु तामाङले स्वर्ण जितेका थिए । त्यस्तै व्यक्तिगत स्ट्यान्डर्ड रिकर्भको पुरुषमा हिमालयनका वीरेन्द्र गुरुङ तथा महिलामा हिमालयनकै सोनी शेर्पा पहिलो भएका थिए । व्यक्तिगतको चारै स्पर्धाका विजेताले पाँच हजार, उपविजेताले चार र तेस्रो हुनेले तीन हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा हिमालयनकी सोनी शेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । त्यसबापत सोनीलाई कोरियाली प्रशिक्षक लि चुङ उङले एक हजार पाँच सय अमेरिकी डलरबराबरको धनुष प्रदान गरे । तीनदिने प्रतियोगितामा ३६ पुरुष तथा १३ महिला गरी ४९ खेलाडी सहभागी थिए भने १८ मिटर दूरीमा प्रतिस्पर्धा भएको थियो ।

मिर्गाैलापीडितलाई दीपकको सहयोग
कीर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक विष्टले मिर्गौला रोगबाट पीडित प्रकाशबहादुर साहुलाई उपचारका लागि पचास हजार आर्थिक सहयोग प्रदान गरेका छन् । ३२ वर्षीय साहुको दुवै मिर्गाैला काम नलाग्ने भएपछि अहिले उनी महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार गराइरहेका छन् । आर्थिक स्थिति निकै कमजोर भएका साहु अहिले जीवन र मृत्युसँग लडिरहेका छन् । हप्ताको दुईपटक डाइलोसिस गराइरहेका साहु मिर्गौला रोगबाट पीडित भएपछि उनको परिवारको बिचल्ली भएको छ । परिवारको पालनपोषण गर्ने मुख्य व्यक्ति बिरामीले थला परेपछि उनको परिवारले निकै कठिनाइ भोग्नुपरेको छ । डाक्टरले उनको उपचारका लागि नौदेखि १० लाख रुपैयाँ लाग्ने बताएपछि साहुको परिवार उनलाई मृत्युको मुखबाट बचाउन आर्थिक सहयोगका लागि इष्टमित्र र स्थानियवासीको घरदैलो गुहार्न थालेका छन् । चाँडै किड्नी प्रत्यारोपण नगरे मृत्यु हुने कुरा डाक्टरले बताएपछि साहुलाई जीवनदान प्रदान गर्न आर्थिक सहयोगका लागि ग्लोबल आईएमई बैंकमा खाता खोलिएको छ । उनको खाता नम्बर २९०७०१०००२९२५ रहेको छ । साहुलाई आर्थिक सहयोग गर्न चाहनुहुनेले माथि उल्लिखित खाता नम्बरमा रकम जम्मा गरेर जीवन दान प्रदान गर्न अनुरोध गरिएको छ ।

खेलकुदसचिव नेपाललाई राखेपको स्वागत
उपराष्ट्रपति कार्यालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका सचिव हरिप्रसाद नेपाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालै एक कार्यक्रमबीच स्वागत गरेको छ । कार्यक्रममा राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्यसचिव युवराज लामालगायतका पदाधिकारीले सचिव नेपाललाई खादा तथा पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए । सो अवसरमा राखेपले युवा तथा खेलकुद मन्त्रालयबाट भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा भएका सचिव सुशील घिमिरेलाई पनि बिदाइ गरेको थियो । त्यस अवसरमा सदस्यसचिव लामाले घिमिरेलाई मायाको चिनोस्वरूप राखेपको लोगोअङ्कित फ्रेम प्रदान गरेका थिए । राखेप सदस्यसचिव युवराज लामाले राखेप र मन्त्रालयबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ बनाउने उद्देश्यले बिदाइ तथा स्वागत कार्यक्रम पहिलोपटक थालनी गरेको बताएका थिए ।

विश्वविद्यालय ब्याडमिन्टनमा दुई खेलाडी
दक्षिण कोरियाको ग्वाङजुमा हुने १२औँ विश्व विश्वविद्यालय ब्याडमिन्टन च्याम्पियनसिपमा दुई नेपाली पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासङ्घ (फिसु) ले आयोजना गर्ने प्रतियोगितामा विकास श्रेष्ठ तथा सहदेव खड्काले नेपालको प्रतिनिधित्व गर्ने विश्वविद्यालय खेलकुद सङ्घ नेपालका महासचिव पूर्णसिंह बोहराले जनाएका छन् ।
टोली प्रमुखमा सङ्घका संस्थापक अध्यक्ष टेकराज जोशी (प्रदीप) रहेका छन् । नोभेम्बर ६ देखि ११ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि टोली हालै त्यसतर्फ प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने
नेपाल सितोरियो कराते सङ्घ ठमेल शाखाको आयोजनामा दोस्रो ठमेल टुरिजम कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । मङ्सिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मित्रराष्ट्र भारत र बंगलादेशका चार सय नेपालका विभिन्न विद्यालय र डोजोका चार सय खेलाडीले ४२ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने ठमेल शाखा डोजो प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा कुमुतेको महिला–पुरुष जुजियरतर्फ २० केजीमुनिदेखि ६० केजीमुनिसम्म १८ इभेन्ट रहनेछ भने सिनियर महिलातर्फ ४५ केजीमुनिदेखि ७० केजीमुनि तथा पुरुषतर्फ ५५ केजीमुनिदेखि ७५ केजीमुनि १४ इभेन्ट रहेका छन् । त्यस्तै महिला–पुरुष एकल काताको पनि प्रदर्शन हुनेछ । प्रतियोगितालाई रोमाञ्चक बनाउन महिला–पुरुष दुवै समूहमा ४–४ इभेन्ट किकबक्सिङ पनि समावेश गरिएको श्रेष्ठले जनाएका छन् ।