यतिबेला चर्चामा छ चलचित्र एटीएम । चलचित्रको पर्दामा छाडा र उत्ताउला दृश्यहरू समावेश भएका कारण एटीएमको बजारमा नकारात्मक चर्चा खुवै चल्यो । यो चलचित्रले तीन नायिकाले पर्दामा प्रस्तुत गरेको दृश्यहरूका कारण पनि सेन्सरको झमेला निकै व्यहोर्नुपर्यो । यसै सिनेमाका तीन नायिकामध्ये एक नायिका हुन्– सोनिया शर्मा ।
० के छ त एटीएममा दृश्यहरू ?
– मेरो किससिन र बेडसिन छ यो चलचित्रमा ।
० त्यस्तो सिन दिन अप्ठ्यारो लागेन ?
– किन लाग्नु ?
० गाली पनि खुव खाइयो होइन र ?
– मैले यो चलचित्रमा साँच्चिकै होइन अभिनय मात्र गरेकी हुँ । सबैले यसलाई अभिनयको रूपमा हेरिदिनुपर्यो ।
० अनि यो चलचित्र हलमा लाग्छ त ?
– अबचाहिँ लाग्ने भो । सेन्सरले हटएका दृश्यहरू हटाएर केही नयाँ सुटिङ गरेर हामीले अब चलचित्र तयार पारेका छौँ ।
० यति राम्री छ्यौ । आँखा लगाउनेहरू कत्तिको छन् नि ?
– एउटा थियो तर बे्रकअप भयो ।
० किन नि ?
– म चलचित्र क्षेत्रमा लाग्नु भनेर आएकी हुँ । तर, उसले आफ्नो इशारामा चलाउन खोज्यो । चलचित्र क्षेत्र छाड्नुभन्दा उसलाई नै छाडिदिएँ ।
० पछुतो छैन ?
– छैन । म मेरो क्षेत्रबाट सन्तुष्ट छु । सिनेमा क्षेत्रमा सफल भएर त्यसलाई देखाउनु छ ।
० सिनेमाबाहेक अरू ?
– करिब एक दर्जन म्युजिक भिडियो र थुपै्र टेलिभिजन विज्ञापनहरू खेलेकी छु ।
० अब प्रेमी नखोज्ने ?
– अब प्रेमतिर नलाग्ने । अब कामतिर नै ध्यान दिने ।
फेरि भिड्दै
लाखौँ लगानी गरिएका सिनेमाहरू हप्तैपिच्छे नराम्ररी पछारिएका प्रशस्त उदाहरण हुँदैहुँदै नेपाली सिनेमाका निर्माताहरूमा चेत भने अझै खुलेको छैन । जे–जस्तो अवस्था आए तापनि उनीहरू भिड्न नै तयार रहेको पाइन्छ भने आफ्नो सिनेमाको रिलिज डेट एक हप्ता पछाडि सार्न पनि तयार देखिँदैनन् उनीहरू । अन्ततः यो बुझाइ नै उनीहरूका लागि घातक सावित बन्न पुगिरहेको छ ।
दशैँमा एकसाथ प्रदर्शनमा आएका तीन चलचित्र धुवाँ, के म तिम्रो साथी बन्न सक्छु र लुट कम्पनीले आशातीत व्यवहार गर्न सकेनन् । यसरी एकसाथ सिनेमाहरू भिड्दा नयाँ चलचित्रहरू हेर्न हलतिर आएका दर्शकहरू बाँडिने कारणले गर्दा व्यापार घटिरहेको अवस्था ताजै हुँदा पनि यो हप्ता फेरि निर्माताहरू एक–आपसमा भिडेका छन् । दर्शक थोरै तर चलचित्र निर्माणको सङ्ख्या धेरै भएपछि निर्माताहरू सबै बिदा खाने दाउका साथ सिनेमा रिलिज गर्न आतुर हुँदै आएका छन् ।
जे–जसरी भए तापनि सिनेमा रिलिज गर्ने निर्माताहरू यो हप्ता पनि नराम्ररी पछारिने निश्चित देखिएको छ । कत्तिक १७ गते एकै दिन एकसाथ चारवटा सिनेमा इसारा, आई एम इन लभ, भेटी र नबोले नि हाँसिराखनबीच भिडन्त भएको छ ।
फलानो चलचित्रभन्दा मेरो राम्रो छ, त्योभन्दा राम्रो छ भनेर गाली–गलौज गर्दै आफ्नो सिनेमाको प्रमोसनमा लागेका एक निर्माता त निखिल उप्रेतीले अब फिल्म नखेल्ने र यो निखिलले अभिनय गरेको अन्तिम चलचित्र हो भनेर खोक्दै हिँड्न पनि थालेका छन् ।
आर्यनको फिल्म डुबानतिर
अन्ततः आफूले अभियन गरेको चलचित्रहरूले व्यावसायिक असफलता व्यहोरेपछि नायक आर्यन सिग्देलको यतिबेला निद हराम भएको छ । सम्झौता गर्ने अनि अभिनय गर्ने समयमा विभिन्न कारण देखाएर विवादमा आइरहने आर्यन सिनेमा खेल्दा पारिश्रमिक मात्र बढी माग्दैनन् कि उनी कथा पनि खुवै पढ्छन् । तर, उनले छानेका र कथा पढेर चित्त बुझेपछि मात्र अभिनय गरेका सिनेमाहरू एकपछि अर्को असफल हुन थालेपछि
अब आर्यनको अवस्था नाजुक हुन थालेको छ ।
दशैँमा आर्यनले अभिनय गरेको दुई चलचित्र धुवाँ र के म तिम्रो साथी बन्न सक्छु एकैपटक असफल हुन पुगे । आफ्नो चलचित्रमा आर्यनलाई लिँदा लगानीको हिसाबले सुरक्षित भइन्छ भन्ने निर्माताहरूको सोच र धारणामा पनि यतिबेला तुषारापात हुन पुगेको छ । उनलाई बढी पारिश्रमिक दिनुको अर्थ नरहेपछि अब आफ्ना नयाँ चलचित्रहरूमा आर्यनलाई लिने सोचमा पुगेका निर्माताहरू फटाफट अरू कलाकारहरूको चयनतिर लागेका छन् ।
प्रतिक्रिया