मलाई बदनाम गर्न षड्यन्त्र गरियोे : ठकुरी

मलाई बदनाम गर्न षड्यन्त्र गरियोे : ठकुरी


नेपाल पेनकेक सिताल मार्सल आर्टस् सङ्घका संस्थापक तथा पूर्वअध्यक्ष टीकाराम एमबी ठकुरीले आफूले कुनै पनि गैरकानुनी कार्य नगरेको बताएका छन् । ठकुरीले घटना र विचार साप्ताहिकलाई पत्राचार गर्दै उक्त कुरा बताएका हुन् । घटना र विचारले ‘राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारी पनि मानव तस्करीमा’ भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरेको र उक्त समाचारमा आफ्नो नाम जोडिएकोमा उनले असहमति प्रकट गरेका हुन् ।

ठकुरीले आफूले अहिलेसम्म खेलकुदमा कुनै किसिमको गैरकानुनी कार्य नगरेको भन्दै पारिवारिक समस्याले गर्दा विदेश (कम्बोडिया) भासिनुपरेको जानकारी गराएका छन् । अहिले आफू कम्बोडियामा आर्मी क्वार्टरमा त्यहाँका आर्मीलाई प्रशिक्षण दिइरहेको खुलासासमेत गरेका छन् । पत्रमा ठकुरीले आफूले खेलकुदमा कुनै किसिमको म्यानपावरकोे धन्धा नगरेको र यो सबै आफूविरुद्धको षड्यन्त्र भएको उल्लेख गरेका छन् ।

यो सबै मेरोविरुद्धमा लागेका केही व्यक्तिहरूको षड्यन्त्र मात्र हो । हिजोसम्म मेरो नाममा ठगी गर्न पल्केका व्यक्तिहरूले आफ्नो स्वार्थसिद्ध गर्न नपाएपछि मलाई बदनाम गर्न यस्तो षड्यन्त्र रचेका हुन् । जसमा आंशिक सत्यता पनि छैन । मैले अहिलेसम्म कसैलाई ठगेको छैन, तर मेरो र संस्थाको नाम भाँजेर केही व्यक्तिले निकै फाइदा लिएका छन् । उनीहरूले के मात्रै गरेनन् त्यो भन्न चाहन्न, तर यतिचाहिँ पक्कै भन्छु उनीहरूले जुन थालमा खाएका थिए त्यसमा प्वाल पार्न बाँकी राखेका छैनन् । उनीहरूको यही गैरकानुनी हर्कतले गर्दा सङ्घले कारबाहीसमेत गरेको थियो– पत्रमा उल्लेख गरिएको छ ।

ठकुुरीले घटना र विचारमा पठाएको पत्रमा नेपाल पेनकेक सिताल मार्सल आर्टस् खेलाडीको हक र अधिकारको निम्ति आवाज उठाउने सामाजिक संस्था हो भन्दै केही व्यक्तिले संस्थाको नक्कली डकुमेन्ट प्रयोग गरी संस्थाको नाम बदनाम गरेकोमा विगतमा निलम्बन गरेको पत्रसमेत पठाएका छन् । ठकुरीले सुरेन्द्र विष्ट, महेश सिंह, भक्तबहादुर मल्ल र ललितबहादुर बानियाँ संस्थाको साधारण सदस्य पदमा समेत नरहने गरी निलम्बन गरेका छन् । उक्त निलम्बन गरिएको पत्रमा स्वयम् पूर्वअध्यक्ष ठकुरी र कार्यबाहक अध्यक्ष दिनेश पुनको हस्ताक्षर रहेको छ ।

सर्वप्रथम म कराते प्रशिक्षक हुँ, मैले ०५१ सालमा राष्ट्रिय खेलकुद परिषद्बाट नियुक्ति लिएको हुँ । सोही क्रममा मैले सिताल खेल्ने अवसर प्राप्त गरेँे । ०६९ जेठ २ गते यो खेल ११८ नम्बरमा राष्ट्रिय खेलको रूपमा दर्ता हो । राखेप राष्ट्रिय खेलको रूपमा सङ्घ दर्ता भएपछि म यो खेलको विकास र विस्तारमा होमिएको थिएँ । राष्ट्रिय स्तरमा खेलाडी उत्पादनदेखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न मैले जुन मिहिनेत र पसिना बगाएको छु त्यो सबै सङ्घका पदाधिकारीहरूलाई थाहा छ ।
त्यसैको परिणाम छोटो समयमै नेपाली खेलाडीले फ्रान्समा आयोजना भएको विश्व खुला पेनकेक सिताल मार्सल आर्टस् प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएका थिए । उक्त प्रतियोगितामा ममता बुढाथोकी र सागर डङ्गोलले कांस्य पदकसमेत जितेका थिए । त्यसपछि पनि नेपालले कोरियालगायत अन्य मुलुकमा आयोजना भएका प्रतियोगितामा सहभागिता जनाउनुको साथै कोरियामा भएको प्रतियोगिता कांस्य पदक जितेका थिए । तसर्थ म के भन्न चाहन्छु भने यदि मैले नेपालमा केही काम नै नगरेको भए कसरी नेपालमा खेलाडी जन्मे र विदेशमा प्रतिस्पर्धा गरे र नेपाललाई पदक दिलाए ?

जहाँसम्म मलाई खेलकुदमा मेनपावरको धन्धा गरेको आरोप लगाइएको छ, त्यसमा कुनै सत्यता छैन । किनकि मैले यो खेलको विकास र विस्तारका लागि सारा व्यक्तिगत सम्पत्ति सिध्याएको छु । जसको कारण मैले मेरी आमा गुमाउनुपरेको छ । तर, विडम्बना ! एउटा राष्ट्रिय सङ्घ चलाउने व्यक्तिले कसरी सङ्घ चलाइरहेको छ, त्यसबारे सम्बन्धित निकायले कुनै चासो नराख्नुले मैले आज यो आरोपको सामना गर्नु परिरहेको छ । सम्पूर्ण जीवन खेलकुदमा बिताएको व्यक्तिको जीवन र घरपरिवार कसरी चलिरहेको छ, कस्तो अवस्था छ, त्यसबारे चासो लिनुको साटो खुट्टा तान्ने काम भएको छ । यो घटनाले आफूलाई निकै कुठाराघात भएको ठकुरी बताएका छन् ।
जीवनमा राम्रो र नराम्रो दुईवटा पाटा हुन्छन्, मैले जसको भलो र उद्धार गरेँ तिनै व्यक्ति आज आफ्नो दुस्मन बनेको ठकुरीले खुलासा गरे । किन उनीहरू यस्तो गरिरहेका छन् त्यो आफ्नो कल्पनाभन्दा बाहिर भएको गुनासो पनि पोखे । त्यस्तै केही व्यक्तिहरूले आफूलाई धोका दिए पनि आफूले राष्ट्रिय खेलकुद परिषद्लाई कहिल्यै धोका नदिने प्रतिबद्धता जाहेर पनि गरे । हेरौँ, ठकुरी आफ्नो प्रतिबद्धतामा कति खरो उत्रिन्छन् त्यो प्रतीक्षाको विषय बनेको छ ।