उनीहरू मात्र भाग्यविधाता होइनन् : सूर्यबहादुर थापा

उनीहरू मात्र भाग्यविधाता होइनन् : सूर्यबहादुर थापा


नेपाली राजनीतिका सदाबहार खेलाडी मानिनुहुन्छ, सूर्यबहादुर थापा । पटक-पटक मुलुकको प्रधानमन्त्री रहिसक्नुभएका थापा आफ्नो विचारमा चट्टानझैं अडिग नेताका रूपमा पनि परिचित हुनुहुन्छ । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष थापा बदलिँदो परिस्थितिमा लोकतान्त्रिक गठबन्धनका पक्षमा खुलेरै उभिनुभएको छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी :
० एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सातबुँदे सम्झौताले निकै हङ्गामा ल्याएको छ । यसमा त्यस्तो हङ्गामा मच्चाउनुपर्ने के छ ?
– सातबुँदे सहमतिभन्दा पनि यसमा व्यक्त विषय गम्भीर छन् । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच मिलेर लामो यात्रा गर्नुपर्ने कुरा सामान्य होइन । यसले राजनीतिक ध्रुवीकरणतिर इङ्गित गरेको छ ।
० शान्ति र संविधानतिर केन्द्रित हुने बेला दुई दलमात्र मिलेर जान सम्भव होला र ?
– सम्भव हुन्छ र हुँदैन, परिस्थितिले दिन्छ, दिँदैन, त्यो आफ्नो ठाउँमा छ । उनीहरूको त्यस्तो चाहना त खुला रूपमा प्रकट भयो । चाहना भए पनि सम्भव हुने र नहुने आफ्नो ठाउँमा छ ।
० माओवादी र एमाले अध्यक्षबीचको गठबन्धनले लोकतान्त्रिक शक्ति कमजोर भएको हो ?
– स्वभावत: कमजोर नै छ । त्यो संविधानसभाको अवस्था हेरे पनि थाहा भइहाल्छ । लोकतान्त्रिक शक्ति कमजोर भएको यथार्थ हो ।
० लोकतान्त्रिक मोर्चा किन आवश्यक भएको हो ? तपाईंको क्रियाशीलता किन ?
-लोकतान्त्रिक शक्तिको गठबन्धन धरातलीय यथार्थ हो । संविधानसभामा वामपन्थीको बहुमत छ । लोकतान्त्रिक शक्ति अल्पमतमा छ । अझ अतिवादी वामपन्थी माओवादी सबभन्दा ठूलो दलको रूपमा छ । यसैले यस्तो स्थितिमा लोकतान्त्रिक गठबन्धन अत्यावश्यक भइसकेको छ ।
० अब लोकतान्त्रिक मोर्चाको नेतृत्व कसले लिन्छ ? यसको योजना र कार्यक्रम के हुन्छ ?
– नेतृत्व कसले लिने, योजना र कार्यनीतिभन्दा पनि सबैभन्दा पहिले त मुलुकको राजनीतिक वस्तुस्थितिमा बोध गर्नुपर्‍यो सबैले । यसपछि यो विषयलाई अगाडि बढाउने माहौल तयार हुन्छ । अनि सबैमा दिलचस्पी पनि बढ्छ । लोकतान्त्रिक शक्तिलाई नजिक पार्नुपर्‍यो । नजिकको सम्बन्ध हुनुपर्‍यो ।
० नजिकको सम्बन्ध भनेको के ?
– यसमा चुनौती आइसक्यो । अतिवादी वामपन्थी बढेका बेला लोकतान्त्रिक शक्ति बलियो पार्नैपर्छ । नेपाललाई कस्तो बनाउने भन्ने कुराले नै यसलाई निर्धारित गर्छ ।
० नेपालमा वामपन्थीको पकड बलियो छ । लोकतान्त्रिक शक्तिले त्यसलाई निस्तेज पार्न सक्लान् ?
– वामपन्थीलाई निस्तेज पार्ने भनेको नकारात्मक कुरा हो । नकारात्मक कुरा लिएर उद्देश्य प्राप्ति हुँदैन । सबै विचारधाराकाले जनतामा ठाउँ पाउँछन् । निषेध गर्ने मेरो धारणै होइन । विषवृक्षबाट अमृत फल्दैन । मैले त्यसरी हिँड्ने भनेको होइन । बरु प्रजातान्त्रिक शक्तिलाई जनतामाझ पुर्‍याउने भन्ने हो । त्यसपछि स्वत: सन्तुलन भइहाल्छ ।
० एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष प्रचण्डबीचको सम्झौताले तपाईंहरू आत्तिएको हो या सचेत भएको ?
– त्यसरी आत्तिएको होइन, हेर्नोस् । आत्तिनुपर्ने कुनै कुरा छैन । अङ्ग्रेजीमा एउटा उखान छ, ट्रयाक्ट आउट अफ द ट्रयाक । ठूला-ठूला आदर्श झारेर बसिरहेका बेला उनीहरूबीच यस्तो सम्झौता हुनुले उनीहरूको नियत प्रस्ट भएको छ ।
० उनीहरू प्लानिङका साथ आएका हुन् त ?
– उनीहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सट्टा सङ्घीय जनगणतन्त्र चाहन्छन् । त्यसमा दस्तखत गरेका छन् उनीहरूले । यसमा हामीले चनाखो हुनैपर्छ । लोकतान्त्रिक शक्ति निर्माणका उद्देश्यका लागि हामी सङ्गठित हुनैपर्छ ।
० त्यसका के-के आधार छन् ?
– छ, पक्कै छ । जनता आफैं लोकतान्त्रिक छन् । तर, उनीहरू आफैं उठेर आउँदैनन् । त्यो भूमिका दल र नेताले निर्वाह गर्नुपर्‍यो । त्यसैले लोकतन्त्रमा विश्वास राख्ने दलले यसमा आफ्ना दृष्टिकोण अगाडि ल्याउनुपर्‍यो । स्वाभाविक र ‘लजिकल’ रूपमा हेर्दा नेपालको दोस्रो ठूलो, पुरानो र लोकतान्त्रिक शक्ति काङ्ग्रेस हो । ऐतिहासिक पार्टी पनि हो । यसमा काङ्ग्रेसले भूमिका निर्वाह गर्न सक्छ ।
० भनेपछि लोकतान्त्रिक शक्तिको नेतृत्व काङ्ग्रेसले लिनुपर्छ भन्न खोज्नुभएको हो ?
– लिने-नलिने अर्कै कुरा हो । भूमिका खेल्नुपर्‍यो पहिले । मेरो नेतृत्वमा आइज भनेर त को आउँछ र ? पहिले त उद्देश्य हुनुपर्‍यो अनि भूमिका खेल्नुपर्‍यो । भूमिकाभित्र धेरै कुरा पर्छन् । त्यसमा नेतृत्व पनि आउँछ । पहिले नेतृत्वको कुरा गरेर उद्देश्यप्राप्ति हुँदैन । पहिले त त्यसमा वार्ता गनुपर्‍यो, पहल लिनुपर्‍यो । त्यस्तो शक्ति निर्माणमा भूमिका खेल्नु काङ्ग्रेसको जिम्मेवारी पनि हो । मुलुकमा शक्ति सन्तुलन अहिलेको आवश्यकता हो ।
० लोकतान्त्रिक मोर्चाको कुरा गर्दा, एमालेभित्र माधवकुमार नेपाल र केपी ओली, माओवादीमा बाबुराम भट्टराई पनि लोकतान्त्रिक विचार राखिरहनुभएको छ, तपाईं के भन्नुहुन्छ ?
– ती सबै एकै ठाउँमा आउँछन् भने के फरक पर्छ र ? भेडाभेडा एकातिर, बाख्राबाख्रा अर्कातिर भन्ने कुरा आउँछ । यो अभियान चलेपछि त्यो स्वाभाविक हो ।
० भनेपछि उनीहरू पनि लोकतान्त्रिक शक्तिमा अटाउन सक्छन् ?
– लोकतान्त्रिक शक्ति भनेको साझा चौतारो हो । त्यसमा कोही नअटाउने भन्ने नै हुँदैन । तर, पहिले त त्यसको पहल हुुनुपर्‍यो नि ।
० यस्तो गठबन्धन बनेपछि अहिलेको सरकार त ढल्ला नि ?
– लोकतान्त्रिक गठबन्धन कुनै सरकारलाई विस्थापित गर्न या ढाल्न बनाउन लागेको होइन । नकारात्मक उद्देश्य हाम्रो हुँदै होइन । लोकतान्त्रिक शक्ति कमजोर भएकोले साम्यवादी शक्ति एकगठ हुन लागेको छ । त्यसलाई सन्तुलन मिलाउन हामीले लोकतान्त्रिक शक्ति निर्माण गर्न लागेका हौँ ।
० लोकतान्त्रिक मोर्चा बनेपछि जनगणतन्त्रवादी शक्ति कमजोर होला ?
– त्यो त स्वत: कमजोर भइहाल्छ नि । बच्चा जन्मनु कहिले-कहिले, कन्दनी पहिले भनेजस्तो । अहिले नेतृत्वको बखेडा निकाल्ने नै होइन । त्यो स्वाभाविक रूपमा एउटाले लिइहाल्छ नि ।
० मुलुकमा तीन-तीनवटा क्रान्ति भएका छन्, तिनले स्थापित गरेका अधिकार यस्तै धु्रवीकरणले समाप्त भए । अब फेरि पनि त्यस्तो अवस्था नआउला ?
– त्यस्तो अति कल्पना नगर्नोस् । यसको आवश्यकतै पर्दैन । पहिले एउटा शक्ति निर्माण भएपछि सबै समस्याको स्वत: समाधान हुन्छ ।
० भनेपछि यसले कम्युनिस्टहरूलाई पनि सँगै अगाडि लिएर जान्छ ?
– एउटा प्रबल लोकतान्त्रिक शक्ति निर्माण भएपछि सबै कुरा मिल्छन् । शक्ति भएपछि त्यसमा सक्षम भइहाल्छ नि । सिद्धान्तको मेल साझा चौतारी होइन । मुलुक हाँक्नका लागि हो ।
० सातबुँदे सम्झौता किन भयो होला ?
– उनीहरू एक के कारण भए ? राम्ररी पढ्दा जवाफ त्यसमै छ । उनीहरूको चाहना के हो ? त्यो स्पष्ट भइसकेको छ । त्यो सम्भव हुने र नहुने आफ्नो ठाउँमा छ । त्यसैका लागि लोकतान्त्रिक शक्ति मजबुत बनाउनुपरेको हो ।
० तपाईंले तीन-चार वर्ष पहिलेदेखि नै यस्तो गठबन्धनको कुरा गर्दै आउनुभएको छ । वास्तवमा यसको आभाष तपाईंले पहिले पाउनुभएको थियो ?
– मान्छेहरूलाई सूर्यबहादुर थापा खालि सिद्धान्तमात्र फलाक्छ भन्ने लाग्दो हो । पहिले उनीहरूलाई असान्दर्भिक पनि लागेको थियो होला । मलाई यस्तो आभाष पहिले भयो पनि होला । अहिले त सबैले महसुस गरेको कुरै यही हो । व्यवहारमा अहिले देखिइसकेको छ ।
० त्यस्तो मोर्चालाई अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त होला ?
– लोकतन्त्रमा विश्वास राख्ने शक्तिको सहयोग र समर्थन पाउन सकिइहाल्छ नि ।
० अहिलेको अवस्थामा भारतको भूमिका कस्तो देख्नुहुन्छ ?
– सबैभन्दा नजिकको मित्र भारत अहिले चिन्तित छ । नेपालमा दिगो शान्ति र स्थिरता होस् भन्ने उसको चाहना देखिन्छ । भारतमात्र नभएर चीन, यूएनलगायत मित्रराष्ट्रले यस्तो चिन्ता जाहेर गरेका छन् ।
० भारतले किन चिन्ता जताएको होला त पूर्वप्रधानमन्त्रीज्यू ?
? तपाईंको आँगन जोडिएको छिमेकी होला । त्यसको घरमा चौबीसै घन्टा गडबड भयो भने, अथवा आगलागी भयो भने तपाईंं ढुक्कले निदाउन
सक्नुहुन्छ ? अवश्य पनि सक्नुहुन्न । किनभने त्यहाँको एक झिल्का तपाईंको छानामा पनि सल्कन सक्छ ।
० भनेपछि नेपालको समस्या समाधान गर्न नेपालका नेताहरू अक्षम भइसकेका हुन् ?
– म त्यस्तोचाहिँ भन्दिनँ । सबै नेता स्वार्थले ओतप्रोत छन् । सबैलाई प्रधानमन्त्री चाहिएको छ । सरकारको नेतृत्व गर्नु छ । यस्तो स्वार्थका कारण मुलुकको बेहाल भइरहेको छ । अति सर्वत्र बर्जयेत भन्छन् । मुलुक भीरमा पुगिसकेको छ । कि भीरबाट लडेर मनुपर्‍यो । मर्न त कोही पनि चाहँदैन । मलाई लाग्छ, योभन्दा भीरमा पुगोस् भन्ने कोही चाहँदैन ।
० सरकार बनेको लामो समय भइसक्यो । अझै मन्त्रिमण्डल बनेको छैन । के खनालको असफलता सुरु भएको हो ?
– म दिनगन्ती सिनगन्ती भन्दिनँ, तर असफलताको सङ्केतचाहिँ देखिएको छ । यहाँ अव्यवस्था छ । दस्तखत गर्नेहरूबीचमै असमझदारी छ । उनीहरूको आ-आफ्नै दलभित्रै मारामार छ ।
० यो सरकारको आयु कति होला ?
– म आयु तोक्दिनँ । यो नकारात्मक कुरा गरि्दनँ । तर, प्रधानमन्त्री चुनिएको यतिका दिन पनि मन्त्रिमण्डल गठन नहुनुचाहिँ शुभसङ्केत होइन ।
० शान्ति र संविधानका लागि बनेको सरकारको यस्तो हालत किन भएको होला ?
– नेपालका नेताहरूमा योग्यता र क्षमता पनि छ । तर, अगाडि बढ्ने बाटो गलत भएपछि यस्तो स्थिति आउँछ । सहमति हुन नसकेपछि बाध्य भएर बहुमतीयमा आएको उहाँले भन्नुभएन । नाटकीय रूपमा बहुमतीय रूपमा आउनुभयो । अहिले त सहमतिको अपमान भएको छ । झलनाथ खनालले शान्ति र संविधानका लागि सातबुँदे सहमति त्यागेपछि मात्र सहमति बन्छ । तर, त्यसको संशोधन मात्र सातबुँदेलाई नै निरन्तरता दिने भनेपछि सहमति त कसरी बन्छ र ?
० जेठ १४ गतेभित्र संविधान आउला ?
– संविधान बनाउन तीन महिना पनि बाँकी छैन । प्रचण्ड आफैंले दुई महिना थप्ने कुरा गरिरहेका छन् । मैले यसमा कुनै टिप्पणी गर्ने कुरा छैन । म ठोकेर यसै भन्न सक्दिनँ । समय थोरै छ । म भविष्यवेत्ता होइन । संविधानको आधारभूत कुरामा कुनै दल प्रवेश गरेको छैन ।
० संविधानसभा विघटन गर्नुपर्छ भन्ने पक्ष पनि छ नि ?
– विचार त विभिन्न खालका छन् । सबै कुरामा किन टिप्पणी गर्नुपर्‍यो ?
० अहिलेको चुनौती माओवादी लडाकुको समायोजन देखिएको छ । यो कसरी होला ? यसको सङ्ख्या कसरी निर्धारण होला ?
– म यस्ता प्राविधिक कुरामा टिप्पणी गर्न चाहन्न । सेना समायोजन विशेष समितिमा यसबारे कुरा होला । यसको टुङ्गो मैले लगाउने होइन ।
० अब दलहरूबीच द्वन्द्व होला कि सहमति ?
– मुलुकको राजनीति कसरी अघि बढ्छ भन्ने कुरा प्रचण्ड र झलनाथ खनालको डिसिजनले मात्र निर्धारित हुँदैन । उनीहरू मात्र नेपालको भाग्यविधाता होइनन् । यसमा अरू कारकतत्त्व पनि छन् ।
० सबै मान्छेले भन्छन्, सूर्यबहादुर थापाजस्तो व्यक्ति काङ्ग्रेसको नेतृत्वमा हुनुपर्ने ?
– यो त एउटा बगैंचाको फूल अर्को बगैंचामा सार्नुजस्तो हो । काङ्ग्रेससँग हाम्रो सहकार्य होला । तर, एकता भन्ने त प्रश्नै उठ्दैन । नेतृत्व भन्ने कुरा त परिस्थितिले जन्माउने हो । अहिले सबै पार्टीमा नेतृत्वको समस्या देखाइएको छ । तर, ६ महिनामै त्यस्तो एकसेएक जन्मन्छ । नेपालमा लोकतन्त्रको विकल्पै छैन । यसको भविष्य उज्ज्वल छ ।

तरुण दलको महाधिवेशन नै सर्वोत्कृष्ट विकल्प हो ? सुदर्शन आचार्य
(प्रचार विभाग प्रमुख, नेपाल तरुण दल एवम् नेका महासमिति सदस्य)
० सत्ताबाट नेपाली काङ्ग्रेस प्रतिपक्षमा पुगेको छ । अब काङ्ग्रेसका दु: ख दिन प्रारम्भ भएका हुन् ?
– होइन, नेपाली काङ्ग्रेस, नेपालको राजनीतिक इतिहासमा क्रान्तिको एउटा पर्याय भएकाले सत्ता प्राप्त वा प्रतिपक्ष दुवै कुरालाई गौण ठान्दछ । समयक्रमसँगै इतिहासले सुम्पेको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने विषयमा काङ्ग्रेस स्पष्ट छ । सत्ता प्राप्ति हुँदा गौरव ठान्ने र प्रतिपक्षमा पुग्दा दु: ख महसुस गर्ने विषय लामो सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको पार्टीको शब्दकोशमै छैन ।
० ऐतिहासिक १२औँ महाधिवेशनपश्चात् पनि पार्टीमा एकताको भावना विकसित भएन भनिन्छ ?
– जीवन्त पार्टीमा आरोह-अवरोह हुनु स्वाभाविक हो । राम्रा कामका लागि असल नियतले गु्रपपिजम गरिएको भए पनि त्यसलाई अस्वाभाविक ठानिहाल्न मिल्दैन । त्यहाँमाथि पनि हाम्रो पार्टी प्रतिपक्षमा पुगेको छ । यो पार्टीको काँधमा शान्तिप्रक्रिया टुङ्ग्याउनेदेखि बहुदलीय लोकतान्त्रिक संविधान जारी गरेर मुलुकमा राजनीतिक स्थायित्वसँगै आर्थिकलगायत सबै दृष्टिकोणले समुन्नत नेपाल निर्माणको दायित्व भएकाले अब पार्टीभित्र बेमेलको स्थिति सिर्जना गरेर जाने म्यान्डेट पार्टीका कार्यकर्ताले नेतालाई दिएका छैनन् । र, हिजो पनि दिएका होइनन् ।
० एकीकृत नेकपा माओवादी र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको भनिएको सातबुँदे समझदारीले निकै हलचल ल्यायो, होइन ?
– त्यसलाई दुई महासामन्तले अँध्यारो कोठामा गरेको कपाली तमसुकका रूपमा बुझदा राम्रो हुन्छ । त्यो तमसुक बाहिर आउनासाथ उहाँहरूकै पार्टीभित्र १० रेक्टर स्केलको भूकम्प गइसकेको छ । जहाँसम्म त्यसलाई हेर्ने हाम्रो दृष्टिकोणको कुरा छ, त्यो सरासर तत्कालीन अवस्थामा नेपालका प्रमुख राजनीतिक दलबीचको सम्झौता र समझदारीविपरीत छ । सिन्डिकेटका आधारमा प्रधानमन्त्री चलाउनेदेखि माओवादीले एमाले अध्यक्ष झलनाथ खनालको काँधमा बन्दुक राखेर लोकतन्त्र सिध्याउने, माओवादीको घोषणापत्रलाई संविधान भन्दै जारी गर्नेदेखि नेपालको लोकतान्त्रिक आन्दोलनको स्थापित शक्ति नेपाली काङ्ग्रेससम्मलाई सकेदेखि सिध्याउने नै देखिन्छ ।
० सिध्याउन सक्लान् त ?
– राणा, राजा र माओवादीले आ-आफ्नो कालखण्डमा सिध्याउन खोजेकै हुन्, सकेनन् । पछिल्लो समयमा सामान्य शिक्षक, काङ्ग्रेसका गाउँगाउँमा रहेका कार्यकर्ता सबैलाई वर्ग-दुश्मनका नाममा मारेकै हुन् । काङ्ग्रेस सिद्धियो त ? तर्सथ त्यसखाले प्रयत्न वाम अतिवादबाट हुन्छ र भएकै हुन् । काङ्ग्रेस झनै एकताबद्ध भएर जनतामा जान्छ, सिद्धिने त प्रश्नै आउँदैन ।
० प्रसङ्ग भ्रातृ संस्थातिर लैजाउँm, नेपाल तरुण दलमा भाँडभैलो देखियो नि ?
– भाँडभैलो छैन । जीवन्त सङ्गठनमा विचारमाथि तातो बहस हुन्छ नै । हामीबीच पनि त्यही हो । हामीले जेठ मसान्तभित्र दलको राष्ट्रिय महाधिवेशनको मिति पाउन पार्टीमा आग्रह गरिसकेका छौँ । मिति उपलब्ध हुनासाथ महाधिवेशनमा जान्छौँ ।
० दलभित्रकै एउटा पक्ष विघटनको माग लिएर हिँडिरहेको छ नि ?
– विघटनको माग राख्नु कसैको निजी विचार हुनसक्छ, दलको माघ २४ बाट राजधानीमा चालू केन्द्रीय समिति बैठकले संस्थागत रूपमा निर्णय गरेर पार्टीका आदरणीय सभापति सुशील कोइरालालाई महाधिवेशनको मिति जेठ मसान्तभित्र उपलब्ध गराइपाउन संस्थागत अनुरोध गरिसकिएको छ । हामी पार्टी केन्द्रीय समितिको बैठकले मिति उपलब्ध गराउने प्रतीक्षामा छौँ ।
० कुरा त फेरि पनि विघटनकै आएको छ, होइन ?
– निर्वाचनबाट आएको र दुवै काङ्ग्रेसको संयुक्त महासमिति बैठकको म्यान्डेटबाट एउटै भएको तरुण दललाई समयावधि तोकेर महाधिवेशनमा पार्टीले पठाउनु नै सर्वोत्कृष्ट विकल्प हो । कसैको निहित स्वार्थका लागि चलाइएको सडक हल्लाका पछाडि लाग्नु त्यति उपयुक्त नहोला । मैले यसो किन पनि भनिरहेको छु भने हाम्रो दलले संस्थागत रूपमै केन्द्रीय समितिको बैठकबाटै निर्णय गरी हामी महाधिवेशन गर्न सक्षम छौँ । मिति पाऊँ भनेर आग्रह गरिसकेका छौँ । पार्टीले पनि एकताबद्ध भएर अगाडि बढ्न नै आफ्ना मातृ संस्थालाई निर्देशन दिन्छन् नि, अनि त्यतिबेला भङ्गको विषय कहाँबाट आउँछ त ?
० पछिल्लो समय सहअध्यक्ष विनोद कायस्थ पक्षबाट केही सदस्य थपघट गरेका विषय पनि बाहिर आए । यसलाई कसरी लिनुहुन्छ ?
– विषय व्यक्तिको होइन, विषय विचार र पद्धतिको हो । पद्धति र संस्थागत निर्णय नै सङ्गठन सञ्चालनको मूल आधार हो । व्यक्तिगत रूपमा लहड चलेर कसले कसलाई कहाँ ल्यायो वा हटायो त्यो गौण हो । अझै भन्नुपर्दा दलको केन्द्रीय महाधिवेशनको मिति नै माग भइसकेको अवस्थामा कसैले कसैलाई हटाउने नैतिक अधिकार रहन्न । कसैलाई हटाइएको भए पनि हटाउने स्वयम्ले पनि बुझनुभएको होला ‘मेरो निर्णय गलत छ’ सायद यसका पछाडि कुनै राजनीतिक चालबाजी हुन सक्छ । यसबारेमा योभन्दा थप टिप्पणी मलाई गर्नु छैन ।
० अन्तमा भन्नुस् त के दलको महाधिवेशन साँच्चै सम्भव छ ?
– अवश्य सम्भव छ । हाम्रासामु यसबीचमा दुईवटा दायित्व छन् । एउटा घनीभूत हुँदै गएको वामएकताबाट लोकतन्त्रमाथि आइपर्ने खतरालाई चिर्नु र अर्को हाम्रो पार्टीको १२औँ महाधिवेशनबाट पारित घोषित नीति तथा कार्यक्रम लिएर ७५ वटै जिल्लामा जानु । यिनै एजेन्डा लिएर हामी जनताको घरदैलोमा जाँदै छौँ । त्यसको सुरुवात राष्ट्रिय मेलमिलाप दिवसबाट प्रारम्भ भइसकेको छ । यसै एजेन्डासँगै हामी गाउँ, नगर, जिल्ला, अञ्चल हुँदै केन्द्रीय महाधिवेशनका लागि जिल्ला दौडाहामा जानेछौँ । हामीबीच कुनै कन्फ्युजन छैन । महाधिवेशन गर्न नसक्दा दलको इतिहासमै हामी नालायक सावित हुनेछौँ । अवश्य पनि हामीबीचका कोही पनि साथीहरू नालायक बन्न तयार हुने छैनौँ र नालायक बन्ने उत्कष्ट अभिलाषा हामीबीच कसैमा पनि छैन । फेरि मुलुकको विषयमा परिस्थितिका सामु हामी घर-झगडा गरेर बस्दा अवश्य पनि त्यसको सन्देश राम्रो जाँदैन, त्यो सबै साथीहरूले बुझनुभएकै छ ।

तपाईंको दृष्टिमा: प्रदीप नेपाल
प्रस्ट अभिव्यक्ति तथा स्पष्टशैलीका लागि परिचित नाम हो प्रदीप नेपाल । एमालेका यी प्रखर नेताको नाम राजनीतिमा जत्तिकै नेपाली साहित्य फाँटमा पनि जमेको छ । कुनै बेला पत्रकारितामा समेत क्रियाशीलता दर्शाउनुभएका प्रदीपको कलम राजनीतिको कठोर कालमा पनि बन्द भएन, बरु प्रगतिशील जगमा उभिएका उहाँका हृदयस्पर्शी लेखनीका नशाको लतमा परेका आमपाठकले ँसञ्जय थापा’का नामबाट रसास्वादन गरिरहन पाए । १४ वर्षदेखि अटुट रूपमा विभिन्न पत्रपत्रिकामा स्तम्भलेखन गर्दै आउनुहुने प्रदीप नेपालका १४ वटा उपन्यास, आठवटा कथासङ्ग्रह, सातवटा नियात्रा र एउटा कवितासङ्ग्रह प्रकाशित छन् । उहाँका कृतिहरू विशेषगरी साझा प्रकाशन, अक्सफोर्ड प्रकाशन र रत्न पुस्तक भण्डारबाट प्रकाशनमा आएका छन् । तीनपटक क्याबिनेट मन्त्रीको जिम्मेवारी सम्हाल्दा नेपालले जलस्रोत, सञ्चार, स्वास्थ्य र शिक्षा मन्त्रालयका कामकारबाहीबारे विविध अनुभव संगाल्ने मौका पाउनुभयो भने एमाले केन्द्रीय कार्यसमितिका सदस्य उहाँ हाल पार्टीको प्राकृतिक स्रोत व्यवस्थापन विभागका प्रमुखका रूपमा क्रियाशील हुनुहुन्छ । प्रस्तुत छ, बहुआयामिक व्यक्तित्व प्रदीप नेपालको दृष्टिमा जीवन-जगत्सँग सम्बन्धित पचास सवालका गहन जवाफ :

जीवन के हो ?
– आफ्नो समयलाई सकारात्मक कामहरूमा लगाउनु जीवन हो ।
प्रेम के हो ?
– माया, स्नेह, सहयोग र प्रेरणा ।
सुन्दरता के हो ?
– मनको आँखाले मन पराउने विषय अथवा वस्तु नै सुन्दरता हो ।
मन के हो ?
– बन्धन नभएको खुला आकाश ।
भावना के हो ?
– संवेदनशील दिमागको उब्जनी ।
विवाह के हो ?
– एउटा यस्तो कर्म जो जीवनभरि बोक्नुपर्ने हुन्छ ।
बन्धन के हो ?
– इच्छाविपरीत जीवनको गाडी चलाउने अप्ठ्यारो काम ।
अपमान के हो ?
– मूर्खताको अभिव्यक्ति ।
इज्जत के हो ?
– विवेक नबेचिएको मन ।
बेइज्जती के हो ?
– विवेक बेचिएको शरीर ।
मिलन के हो ?
– सहकार्य ।
विछोड के हो ?
– समाप्ति ।
जवानी के हो ?
– जान्दा ऊर्जा नजान्दा विनाश ।
बालपन के हो ?
– पवित्रताको परिभाषा ।
तृष्णा के हो ?
– अप्राप्तिको मोह ।
रिस के हो ?
– मूर्खता ।
जोस के हो ?
– युवकोचित भावना ।
नसा के हो ?
– मन र शरीरको विनाश ।
यौन के हो ?
– स्वेच्छिक चाहना ।
सन्तुष्टि के हो ?
– आकाङ्क्षाको समाप्ति ।
कर्तव्य के हो ?
– आफू उभिएको धरातलप्रतिको इमान ।
विश्वास के हो ?
– मानवीय अन्धोपन ।
असल के हो ?
– त्याग ।
खराब के हो ?
– जङ्गली महत्त्वाकाङ्क्षा ।
सबभन्दा ठूलो धोखा के हो ?
– मृत्युप्रतिको अविश्वास ।
दु: ख के हो ?
– अल्छीपनको परिणाम ।
सुख के हो ?
– मनको शान्ति ।
खुसी के हो ?
– कार्यसमाप्तिको मनोदशा ।
आनन्द केमा छ ?
– कसैसँग केही नमाग्नुमा ।
मित्र को हो ?
– जसमाथि विश्वास गर्न सकिन्छ ।
शत्रु को हो ?
– जसलाई देख्नासाथ मन आक्रोशित हुन्छ ।
सङ्घर्ष के हो ?
– जीवनको अर्थ ।
प्राप्ति के हो ?
– सन्तुष्टि ।
आस्था के हो ?
– विश्वासको धरातल ।
धर्म के हो ?
– स्वार्थत्याग ।
नैतिकता के हो ?
– मन नपोल्ने कर्म ।
चरित्र के हो ?
– आफू ।
ज्ञान के हो ?
– जन्मिनुको सार नै मृत्यु हो ।
बुद्धि के हो ?
– विवेकको प्रदर्शन ।
सम्झौता के हो ?
– जीवन सञ्चालनको आधार ।
सृष्टि के हो ?
– अनिवार्य आवश्यकता ।
गुरु को हो ?
– आफैं ।
राजनीति के हो ?
– छुटकारा नपाइने फोहोरी कर्म ।
देश के हो ?
– भावनाको भूगोल ।
समाज के हो ?
– सभ्यताको यात्रा ।
पद के हो ?
– बेकारको अहम् ।
विकास के हो ?
– र्सर्वेभवन्तु सुखिन, र्सर्वेसन्तु निरामय ।
व्यापार के हो ?
– छलछामको सम्झौता ।
अनुशासन के हो ?
– जीवनको पवित्र कर्म ।
– प्रदीप नेपाल
फोन नं. : ०१-४२८६६५५