हालै दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न विन्टर ओलम्पिकमा पदक जित्ने खेलाडीलाई दक्षिण कोरियाले विशेष छुट दिने फैसला गरेको छ । प्राप्त जानकारीअनुसार विन्टर ओलम्पिकमा पदक जित्ने खेलाडीले दक्षिण कोरियाको यो फैसलासँगै अब सेनामा भर्ती हुनु नपर्ने भएको छ । उक्त कुराको जानकारी कोरिया सरकारले गरेको त्यहाँका अधिकारीहरूले जानकारी गराएका छन् ।
दक्षिण कोरियाको यो निर्णयसँगै अब प्योङचाङ विन्टर ओलम्पिकमा पदक जित्ने खेलाडीले सेनाको दुई वर्षको प्रशिक्षण गर्नुपर्ने छैन । ती खेलाडीले केवल चार साताको प्रशिक्षण गरे पुग्नेछ । प्रशिक्षणपछि सेना भर्ती कानुनबमोजिम ती खेलाडी कला तथा खेलका सैनिक बन्नेछन् । आधिकारिक रूपमा यी खेलाडी २ वर्ष १० महिनाका लागि सेना हुनेछन् । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा आफ्नो क्लबका लागि खेल्न भने यी खेलाडी स्वतन्त्र हुने अधिकारीले जनाएका छन् । उनीहरूमाथि सरकारले कुनै रोकटोक प्रतिबन्ध लगाउने छैन ।
यो निर्णय गर्नुअघि सेनामा भर्ती भएका कुनै पनि खेलाडीले सो दुई वर्षको अवधिमा कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँदैनथे । स्मरणीय छ, दक्षिण कोरियामा १८ देखि ३५ वर्षको बीचमा सबै पुरुषले दुई वर्ष अनिवार्य रूपमा सेनामा भर्ती भएर कार्य गर्नुपर्छ । त्यस्तै ओलम्पिक खेलकुदमा पदक जित्ने र एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीमा पनि यो निर्णय लागू हुनेछ ।
हालै दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न विन्टर ओलम्पिक २०१८ मा दक्षिण कोरियाले छैटौँ स्थान प्राप्त गरेको थियो । कोरियाले उक्त प्रतियोगितामा ५ स्वर्ण, ८ रजत र ४ कांस्य पदक गरी कुल १७ पदक जितेको थियो । विन्टर ओलम्पिकमा दक्षिण कोरियाले जितेको यो सबैभन्दा बढी पदक हो । दक्षिण कोरियाले आफूले आयोजना गरेको विन्टर ओलम्पिक खेलमा ऐतिहासिक सफलता हासिल गरेपछि समर ओलम्पिकमा पदक जित्ने र एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई विशेष छुट गरेको हो । दक्षिण कोरियाली सरकारको यो निर्णयसँगै कोरियाका खेलाडीले दुवै ओलम्पिक र एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने त्यहाँका अधिकारीहरूले विश्वास प्रकट गरेका छन् ।
विन्टर ओलम्पिकमा नर्वेले १४ स्वर्णसहित ३९ पदक जित्दै प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै, दोस्रो स्थान हासिल गरेको जर्मनीले समान १४ स्वर्ण जिते पनि पदक तालिकाको सूचीमा नर्वेले पछि पारेको थियो । तेस्रो स्थान क्यानडाले प्राप्त गरेको थियो । क्यानडाले ११ स्वर्णसहित २९ पदक जितेको थियो । समर ओलम्पिकमा आफ्नो दबदबा कायम राख्दै आएको संयुक्त राज्य अमेरिकाले विन्टर ओलम्पिकमा चौथो स्थान हात पारेको थियो । अमेरिकाले ९ स्वर्ण जितेको थियो । त्यस्तै, पाँचौँ स्थान हात पारेको नेदरल्यान्डले ८ स्वर्ण जितेको थियो । प्योङचाङमा सम्पन्न विन्टर ओलम्पिकमा समावेश १५ स्पर्धामा १ सय २ गोल्ड मेडलको लागि भिडन्त भएको थियो ।
प्रतिक्रिया