सम्मान र पुरस्कारसँगै राज्यको ढुकुटी दाउमा

सम्मान र पुरस्कारसँगै राज्यको ढुकुटी दाउमा


– श्रीविक्रम भण्डारी

खेल र खेलाडीलाई प्रोत्साहन गर्न पुरस्कृत गर्नुपर्छ । तर, पुुरस्कृत गर्दा उक्त खेलका खेलाडी र प्रशिक्षकले हासिल गरेको सफलताको मापन अवश्य हुनुपर्छ । ऐतिहासिक सफलता आफैँमा पुरस्कृतयोग्य हुन्छ र गर्नुपर्छ । नगरे सम्बन्धित निकाय र राज्यलाई दबाब दिएर पनि गर्न लगाउनुपर्छ । प्रसङ्ग आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को हो । उक्त प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन शानदार र अविष्मरणीय थियो । सो सफलतासँगै नेपाली टोलीले विगतमा आफूले गुमाएको स्थान प्राप्त गर्दै डिभिजन–१ मा उक्लिएको थियो । साथै पुनः विश्वकप क्रिकेटको छनोट चरण खेल्ने अवसर प्राप्त गरेको थियो । जुन नेपालको सफलताको पाटो बने पनि ऐतिहासिक सफलता भने होइन । किनकि यसभन्दा अधि पनि नेपाली क्रिकेट टोलीले विश्वकप छनोट चरणमा प्रतिस्पर्धा गरिसकेको छ ।

यहाँ चर्चा गर्न खोजिएको कुरा पनि त्यही हो । नेपालले डिभिजन–२ मा हासिल गरेको सफलता पहिलो होइन् । तर, राज्यले त्यसलाई के आधारमा ऐतिहासिक सफलताको रूपमा लियो र क्रिकेटका खेलाडी र प्रशिक्षकलाई नगदबाट पुरस्कृत ग¥यो, त्यसको मात्र उठान गर्न खोजिएको हो । यसको अर्थ यहाँ पुरस्कार दिएकोमा विरोध गरिएको होइन, मात्र राज्यबाट पुरस्कार प्रदान गर्दा कुन मापदण्डको मापन गरिएको हो त्यो मात्र बुझ्न खोजिएको हो । तर, यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको घोषणा गर्दा कुनै किसिमको प्रक्रिया अपनाएको देखिँदैन । नेपाली क्रिकेटरले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनबारे उहाँ अनविज्ञ हुनुहुन्छ भन्ने कुरालाई यो कुराले प्रमाणित गरेको छ । लोकप्रियताका लागि कसैले सल्लाह दियो भन्दैमा मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्तिले हचुवाको भरमा कुनै निर्णय लिनुभन्दा पहिले सम्बन्धित निकायसँग सोधखोज गरेको भए राम्रो हुन्थ्यो ।

आईसीसी डिभिजन–२ मा उत्कृष्ट खेलको प्रदर्शन गरेबापत केही खेलाडीलाई राज्यले अवश्य पुरस्कृत गर्न सक्थ्यो । करण केसी, सन्दीप लामिछाने र कप्तान पारस खड्का यसको हकदार पनि थिए । उनीहरूकै उत्कृष्ट प्रदर्शनले नेपाल विश्वकप छनोट चरणमा पुग्न सफल भएको थियो । यी तीनजना खेलाडीमध्येमा पनि करण केसी वास्तवमै पुरस्कारका प्रमुख दाबेदार थिए । करणकै प्रभावशाली र अविश्वसनीय प्रदर्शनले नेपाली टोली विश्वकप छनोट चरणमा पुगेको हो भन्दा अतिसयोक्ति नहोला ।

विश्वकप छनोट चरणमा नेपाली टोलीले सोचेअनुरूप प्रदर्शन गर्न असफल भएको छ । नेपाली खेलाडीले आमनेपाली क्रिकेटप्रेमीको आशामा तुषारापात गरिदिएका छन् । छनोट चरणमा नेपाल लगातार तीन खेलमा पराजित भएको छ । नेपाल आयोजक जिम्बावे, आयरल्यान्ड र अफगानिस्तानसँग पराजित भएपछि विश्वकप खेल्ने सपनासँगै शीर्ष ६ मा पर्ने सम्भावना पनि झिनो बनेको छ ।

क्यानडाविरुद्धको खेलमा करणले खेलेको साहसिक र विस्फोटक पारी अहिले पनि नेपाली क्रिकेटप्रेमीहरूको मानसपटलमा ताजै छ । साँचो रूपमा भन्नुपर्दा करण डिभिजन–२ को ‘हिरो’ थिए । प्रतियोगिताभरि नै उत्कृष्ट प्रदर्शन गर्दै १७ विकेट लिएर ‘म्यान अफ दी म्याच’को उपाधि जितेका सन्दीप अर्का दाबेदार थिए । त्यस्तै नेपालको तर्फबाट एक मात्रै शतक प्रहार गर्ने खेलाडीमा आफ्नो नाम दर्ता गरेका कप्तान पारस खड्कालाई छुट्टै पुरस्कृत गर्न सकिन्थ्यो ।

प्रधानमन्त्री ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गरेका थिए । सरकार खेल क्षेत्रको विकासका लागि सकारात्मक रहेको बताउँदै उक्त रकम प्रदान गरिएको थियो । त्यस्तै, सो अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले प्रतिखेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने घोषण गरेका थिए । जुन पुरस्कार डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत थियो । विश्वकप छनोट चरणमा प्रतिस्पर्धा गर्न जिम्बावे जानुभन्दा पहिले प्रोत्साहनस्वरूप सरकारले क्रिकेट खेलाडीलाई सम्मान गरेको थियो ।

तर, विडम्बना ! विश्वकप छनोट चरणमा नेपाली टोलीले सोचेअनुरूप प्रदर्शन गर्न असफल भएको छ । नेपाली खेलाडीले आमनेपाली क्रिकेटप्रेमीको आशामा तुषारापात गरिदिएका छन् । छनोट चरणमा नेपाल लगातार तीन खेलमा पराजित भएको छ । नेपाल आयोजक जिम्बावे, आयरल्यान्ड र अफगानिस्तानसँग पराजित भएपछि विश्वकप खेल्ने सपनासँगै शीर्ष ६ मा पर्ने सम्भावना पनि झिनो बनेको छ ।

यतिबेला नेपाली टोलीको प्रदर्शन हेर्दा राज्यले गरेको पुरस्कारमा समेत प्रश्नचिह्न खडा भएको छ । निकट आएको विश्वकप छनोट चरणलाई मध्यनजर गरेर पुरस्कारको घोषणा प्रधानमन्त्री ओलीले गरेको भए उनको दूरदर्शिता देखिन्थ्यो । तर, प्रधानमन्त्री भएको केही दिनपछि आफूलाई खेलप्रेमी भएको देखाउन उनले गरेको निर्णयलाई तिनै पुरस्कृत खेलाडीको प्रदर्शनले गलत साबित गरिदिएको छ । तसर्थ खेलाडीलाई पुरस्कार प्रदान गर्ने परम्परा राम्रो भए पनि राज्यको ढुकुटीलाई कसैको सिफारिस र उक्साहटमा सिध्याउनुलाई कदापि राम्रोे मान्न सकिँदैन । प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्मान गर्न पुरस्कृत गरे, त्यसमा कुनै शङ्का छैन । तर, खेलाडीले कस्तो उपलब्धि हासिल गरे र मुलुकको मान, सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढाए त्यसको लेखाजोखा राख्नुपर्ने पनि जरुरी भएको छ ।