भगवती युवा क्लबको विविध खेलकुद

भगवती युवा क्लबको विविध खेलकुद


भगवती युवा क्लबले आफ्नो १२ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय खुला विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कराते, ब्याडमिन्टन, ह्वीललचेयर र टेबलटेनिस समावेश विविध खेलकुद चैत २० गतेदेखि २४ गतेसम्म शंखडोलमा हुने आयोजक क्लबका अध्यक्ष शिवराम कारन्जितले हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

राष्ट्रिय खुला जुनियर कराते प्रतियोगिताको पुरुषमा ११ र महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । करिब ५ सय खेलाडीको सहभागिता रहने छ ।

राष्ट्रिय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा १ सय जोडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउने छन् ।

त्यस्तै १ किलोमिटर दूरीको ह्वीललचेयर प्रतिस्पर्धामा ३० जनाले भाग लिने छन् । पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताकै दौरान विद्यालय स्तरको ब्याडमिन्टन र टेबलटेनिस पनि हुने अध्यक्ष कारन्जितले जानकारी गराए ।