खनाल-दाहाल सम्झौता १२ बुँदेकै निरन्तरता-डा. डिल्ली ओली

खनाल-दाहाल सम्झौता १२ बुँदेकै निरन्तरता-डा. डिल्ली ओली


केही समय पहिले माओवादीका पुष्पकमल दाहाल र एमालेका झलनाथ खालबीच भएको गोप्य र स्वकेन्द्रित सम्झौतालाई लिएर ती दुई पात्र र तिनका आसेपासेलाई छोडेर अन्य सबै राजनीतिक दल, नेता, तथाकथित अधिकारकर्मी, कर्मचारी, विद्यार्थी र सर्वसाधारणले चर्को स्वरमा त्यस सम्झौताविपरीत कोकोहोलो मच्चाइरहेका छन् । थोरैले यसलाई स्वाभाविक भनेका छन् भने धेरैले अस्वाभाविक । यी दुवै वादी-प्रतिवादीलाई स्वाभाविक र अस्वाभाविक शब्दावलीबारे सायद त्यति जानकारी नहुन सक्दछ । किनभने कथित नयाँ नेपालमा यो छुट्याउन धेरैलाई गाह्रो भइसकेको छ । वेदान्तको ब्रह्म, आफ्नो बुद्धि, विवेक, अध्ययन आदि विषयहरू यहाँ सबैले बिर्सिसकेको अवस्था छ । मानिसलाई ब्रह्म र विवेकले डोर्‍याइरहेको हुन्छ । यिनै विषयको मापदण्डभित्र रहेर कुरा गर्ने हो भने यहाँ सबै त्यसअनुसार छैनन् भन्ने बुझनुपर्ने हुन्छ । तर, यहाँ तात्कालिक आफ्नो अविवेकी स्वार्थलाई अगाडि ल्याएर आफूअनुकूल व्याख्या-विश्लेषण गर्ने, बुझने, बुझाउने मनोदशा छ । त्यसैले अहिले हामीकहाँ मार्कोस, जया ललिता, लालु यादव, शिवु सोरेन मार्काका र अझ लेखनाथ पौड्यालको कविता ‘मै खाऊँ, मै लाऊँ… अरू सब मरून् दुजनहरू…’ भन्ने प्रवृत्तिका हाम्रा मुलुकनिर्माताहरू सबैभन्दा अगाडि छन् । वर्तमानमा यो मुलुकमा देश र जनताका लागि लागेको कोही नेता छ भने चुनौतीको विषय हुन सक्दछ । यहाँका नेता प्रथमत: आफू, श्रीमती, छोरा, बुहारी, छोरी, ज्वाइँ, नातागोताका लागि मात्र भए । त्यसपछि लाजगाज पार्टी, समर्थक, अरौटेभरौटे र केही चुनाव क्षेत्रका लागि भए । देश र जनता यिनीहरूको नजरमा पर्दैनन् । मैले यसो गरेँ उसो गरेँ, यसो गर्छु उसो गर्छुन्ने बकवास बन्द गरे हुन्छ । सबैको चिना, प्रोफाइल, बायोडाटा सबैसँग छ । यहाँका नेताले त गाउँघरमा एउठा उखान छ- मर्दले खान्छ, नामर्दले हिसाब राख्छ भन्ने सोचेर जनतालाई होच्याइरहेका छन् ।
अब मूल विषयतिरै लागौँ । खनाल-दाहालले दुई व्यक्तिबीच आफूहरू आलोपालो गरेर, उस्तै परे वाम धु्रवीकरण गरेर, उस्तै परे एउटै डुङ्गामा सवार भएर, उस्तै परे खनालइतरकालाई कारबाही गरी पार्टीबाट निकालेर, उस्तै परे जे पनि गर्ने हिसाबले जे सम्झौता गरे त्यो कुनै पनि हिसाबले कोकोहोलो मच्चाउनुपर्ने विषय होइन । आफ्ना लागि र नितान्त आफ्ना लागि सोच्नु नेपाली राजनीतिको बनावट नै हो । यहाँ केही वर्ष पहिले परदेशमा बाह्रबुँदे सम्झौता भएको थियो- कसका लागि ? अन्तरिम संविधान एक दर्जनपटक संशोधन भयो- कसका लागि ?
गिरिजा कोइराला नै नेपाल, लोकतन्त्र, नयाँ नेपालको पर्याय भए- कसका लागि ? परम्परादेखि वसुधैव कुटुम्बकम र सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामयाको सिद्धान्तमा आधारित समाजमा धर्मनिरपेक्षता, जातीय राज्य, स्वशासन, अग्राधिकार, आत्मनिर्णयको अधिकार कसका लागि ? राजा वीरेन्द्रदेखि हर्क गुरुङसम्मले ज्यान हत्केलामा राखेर बचाएको ‘अवैध’ नागरिकतालाई वैद्य गरियो- कसका लागि ? यहाँ एनजीओ, आईएनजीओ समाज विखण्डन गर्न लागेका छन्, प्रधानमन्त्रीदेखि सम्पूर्ण राज्यपक्ष चुप छ- कसका लागि ? यहाँ मन्त्री, राजदूत, संवैधानिक पददेखि तल पियनसम्मका नियुक्तिमा भागवण्डा भए, ? पैतृक सम्पत्तिको अंशवण्डासरह) कसका लागि ? यहाँ मन्त्रीले सचिव, सहसचिव र उपसचिव पिटे- कसका लागि ? त्यसैगरी तीन दलीय सिन्डिकेट प्रणाली छ- कसका लागि ? यस्ता अनेकौं मूलभूत प्रश्नहरू छन् जुन जनताका लागि, देशका लागि कहिल्यै भएनन् । यहाँ ठूलाठूला भुँडी देखाएर देश र जनताका लागि भन्नेहरूलाई जनताले हेरिरहेका छन् । यहाँ सुब्बाले आफ्नो मन्त्रालयको सचिव छनोट गर्दछ (जो विभिन्न सङ्गठनको अध्यक्ष भएको हुन्छ) । यहाँ बसको खलासीले ट्राफिक अफिसरलाई पिछट्छ । यातायात व्यवसायीले मनपरी गर्न पाएनौँ भनी चक्काजाम गर्छन् । अब्बल दर्जाका पुलिसलाई सतिको श्रापको पुनरावृत्ति हुन्छ । आशालाग्दा सभासद्ले अवैध रूपमा थपिएको संविधानसभाको थपिएको म्याददेखि भत्ता लिएका छैनन्, कसैले उच्चारणसम्म गर्दैन । यहाँ खानेपानी, लोडसेडिङ समस्या आफ्नो ठाउँमा छ । त्योभन्दा भयावह अवस्था भय, त्रास, महँगी, असुरक्षा, फिरौती, हत्या, डकैती, अपहरण विजगणितीय अनुपातमा बढिरहेको छ । त्यसैले भड्खालोमा गइसकेको मुलुकमा बाह्रबुँदेलाई निरन्तरता दिँदै बिचरा खनाल-दाहालले जुन गोप्य सम्झौता गरे त्यो देश, काल, परिस्थिति सुहाउँदो छ । विगत पाँच वर्षदेखिका कर्महरूलाई उनीहरूले निरन्तरता मात्र दिएका हुन्, कुनै नयाँ र आर्श्चर्यजनक काम गरेका छैनन् । त्यसैले यी दुईपात्रले जे सम्झौता गरे अत्यन्त राम्रो गरे, नितान्त आफ्ना लागि गरे । यी दुवैलाई हारि्दक शुभकामना ।