सिक्सलेन सडकमा मानव साङ्लो बनाएर सफाईमा जुटे स्थानीय

सिक्सलेन सडकमा मानव साङ्लो बनाएर सफाईमा जुटे स्थानीय


– चन्द्रकान्त खनाल

तिलोत्तमा नगरपालिकामा विहीबार वृहद् सरसफाई गरिएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानको १३ औं श्रृंखला बिहीबार सम्पन्न भएको हो । नगरपालिकाले हरेक महिनाको १ र १५ गते समुदायमा आधारित सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।

हिजो विहीबार तिलोत्तमा नगरपालिकाका विभिन्न वडाका अतिरिक्त बुटवल–बेलहिया सिक्सलेन सडकको योगिकुटी–मणिग्राम खण्डमा विशेष सरसफाई गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । मणिग्राम, नयाँमिल, ड्राइभरटोल, शंकरनगर, जानकीनगर, योगिकुटीबाट एक साथ सरसफाई अभियन्ताहरु सडकमा निस्किएर सरसफाईमा जुटेका थिए ।

नगरपालिकाले योगिकुटीदेखि मणिग्रामसम्मको सिक्सलेन सडकमा ‘मानव साङ्लो’को नाम दिएर सरसफाई गरेको हो । सरसफाई अभियानमा जनप्रतिनिधिहरुका साथै, कर्मचारी, विभिन्न संघ–संस्था, क्लव, आमा समूह, टोल विकास संस्था, शिक्षण संस्थालगायत स्थानीय बासिन्दाको ठूलो सहभागिता रहेको थियो ।

अभियन्ताहरुले घरमा उत्पादित फोहोर घरमै व्यवस्थापन गर्न स्थानीय बासिन्दालाई आग्रह गर्दै सरसफाई अभियानको स्वमित्व लिन व्यक्ति, परिवार र समुदायलाई आग्रह गरेका छन् । सरसफाई कार्यक्रमको मणिग्राममा शुभारम्भ गर्दै प्रदेशसभा सदस्य लिला गिरीले अभियानलाई अब व्यक्ति र समुदायको स्वास्थ्यसँग जोडेर अघि बढाइनुपर्ने बताए ।

नगरपालिकाले सुरु गरेको सरसफाई अभियान सबैको साझा अभियान भएकाले यसमा सबैको सहभागिता रहनुपर्नेमा जोड दिँदै प्रदेशसभा सदस्य गिरीले यो अभियान अन्य स्थानीय तहका लागि पनि अनुकरणीय रहेको उल्लेख गरे । नगरप्रमुख बासुदेव घिमिरेले सरसफाई अभियानसँगै नगरपालिकाले फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि योजना अघि बढाएको जानकारी दिए ।

हरेक व्यक्ति सचेत भएमा फोहोर कम हुने बताउँदैगुड्खा तथा जंङ्क फूडका खोल तथा प्लाष्टिकलाई जथाभावी नफाल्न नगरबासीलाई अनुरोध गरे । सार्वजनिक स्थानमा जथाभावी फोहोर गर्नेहरुलाई प्रचलित कानुन अनुसार कारवाही गर्न नगरपालिका बाध्य हुने बताउँदै उनले सरसफाई अभियानको स्वामित्व सबैले लिनुपर्ने बताए ।

कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रुपन्देहीका अध्यक्ष धु्रव धितालले लगायतले बोलेका थिए ।