डंगरले कोरल्यो ६ बच्चा

डंगरले कोरल्यो ६ बच्चा


चितवन राष्ट्रिय निकुञ्जस्थित गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले ६ वटा बच्चा कोरलेका छन् । यस वर्षको सिजनमा १८ अण्डा पारेको डंगर गिद्धले ६ वटा मात्रै बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काकाअनुसार चारवटा गिद्ध ओथारो बसिरहेको भए पनि थप चल्ला कोरल्ने सम्भावना कम छ । यस वर्ष गिद्धले पारेका तीन वटा अण्डा फुटेको थियो भने दुईवटा भूइँको बालुवामा पारेको थियो । बाँकी अण्डा मात्रै ओथारो बसेका कारण कम चल्ला निस्किएको खड्काले बताउनुभयो ।

गुँडबाहिर पारेको अण्डा ओथारो नबस्ने भएकाले ती अण्डा र गुँडबाट खसेर अण्डा फुटेका कारण क्षति भएको उहाँले बताउनुभयो । गत वर्ष गिद्धले १५ वटा अण्डा पारेका थिए । ती अण्डाबाट नौ वटा चल्ला कोरलिएको थियो । नोभेम्बर र डिसेम्बर महिनामा अण्डा पार्ने भए पनि गिद्धले यस वर्ष केही छिटो अण्डा पारेको थियो ।

खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् । केन्द्रमा २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेको खड्काले जानकारी दिनुभयो । आठ वटा बच्चाको लिंग पहिचान हुनसकेको छैन । गतवर्ष कोरलिएको नौमध्ये एउटा बच्चा मरेको थियो । गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउने गरिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । यहाँ संरक्षण गरी हुर्किएका गिद्धलाई क्रमशः प्रकृतिमा छोड्ने गरिएको छ । गतवर्ष ६ वटा गिद्धलाई नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको छ । थप पाँचवटा गिद्ध प्रकृतिमा छोड्नका लागि तयारी गरी राखिएको छ ।

सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । यद्यपि ढिलागरी सन् २०१६ मा छाड्ने भनिएको६ वटा गिद्ध गत वैशाख २ गते जटायु रेस्टुराँमा राखी केही महिना अघि प्रकृतिमा छाडिएको छ ।

अति संकटापन्न अवस्थामा रहेको डंगुर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको राससले जनाएको छ । विश्वमा नै पहिलोपटक प्रकृतिमा लोप हुनलागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न थालिएको हो ।