यिनी हुन् एलिसा गुरुङ । बुटवलमा जन्मिएकी एलिसा यतिबेला फ्रान्सको राजधानी पेरिस बस्दै आएकी छिन् । अध्ययनको क्रममा पेरिस पुगेकी एलिसा त्यहाँ रहेका नेपालीमाझ एक कलाकारको रूपमा परिचित छिन् । घटना र विचारसँग पेरिसमा भेटिएकी एलिसासँगको छोटो कुराकानी :
० कसरी आइयो पेरिस ?
– अध्ययनको क्रममा आएकी हुँ ।
० कति वर्ष भयो ?
– दुई वर्षजति भयो ।
० अध्ययन मात्र हो कि काम पनि गरिन्छ ?
– यो कामलाई पूजा र सम्मान गर्ने ठाउँ हो । त्यसैले काम नगरीकन त टिक्न सकिन्न नि ।
० भनेपछि काम राम्रै छ ?
– राम्रै छ । पढाइबाट बचेको समयमा काम गरेकी छु ।
० एलिसालाई त पेरिसमा नेपालीले रामै्र चिन्दारहेछन् नि ?
– सबैले माया गर्छन् ।
० माया गर्नुको कारण ?
– म यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिने गर्छु ।
० के गरिन्छ नि सांस्कृतिक कार्यक्रममा ?
– म विशेष गरेर नृत्य गर्ने गर्छु ।
० कस्तो खालको नृत्य आउँछ ?
– म प्राय: सबै विधाको नृत्य गर्न सक्छु । मोडर्न, लोक, र्याप र अन्य ।
० एसिलाको प्रतिभालाई पेरिसमा रहेका नेपालीमाझ पुर्याउन यहाँबाट कत्तिको सहयोग मिलिरहेको छ ?
– विशेष गरेर फ्रान्सको पेरिसमा रहेको नेपाली दूतावासले राम्रो सहयोग गरिरहेको छ । अन्य क्षेत्रको सहयोग पनि पाइरहेकी छु ।
० यति राम्री युवतीलाई आँखा लगाउनेहरू प्रसस्तै होलान् नि ?
– यहाँ आँखा लगाउने फुर्सद नै कसैलाई हुँदैन ।
० आफूले लगाए पनि त हुन्छ नि ?
– आँखा लगाउने कि काम गर्ने ? अहिले आँखा लगाउनेतिर नलाग्ने ।
तन विदेशमा मन नेपालमा
कला र प्रतिभालाई उमेरले छेक्दैन । अनि भूगोलले पनि यसलाई फरक पार्दैन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं यदि कलाकारिता क्षेत्रमा लाग्ने सङ्कल्प लिइयो भने गन्तव्य समात्न अवश्य पनि सकिन्छ । प्रसङ्ग लामो समयदेखि फ्रान्सको राजधानी पेरिसमा रहेर पनि गीत तथा साहित्यलेखन विधामा सक्रिय गीतकार किरण केसी (क्रोधी) को हो । समय–समयमा नेपाल आउने किरण त्यो समयमा आफ्नो गीतलाई रेकर्ड गराइहाल्छन् । आजसम्म थुपै्र गीत लेखिसकेका किरण केसी (क्रोधी) ले लेखेका गीतहरू नेपालमा चर्चित गायकगायिकाहरूले गाइसकेका छन्– गीत लेख्दा आनन्द आउँछ । ‘सपनाको सहर पेरिसमा रहे तापनि गीतलेखनमा रमाउँदा मज्जा नै अर्कै हुन्छ,’ उनी दङ्ग हुँदै भन्छन् ।
दुई वर्षअगाडि किरणले ‘प्रतिष्ठा’ नामक एल्बम निकालेका थिए भने चर्चित गायक रामकृष्ण ढकालको एल्बम ‘शैली’मा किरणले लेखेको गीतले पनि श्रोतामाझ रामै्र ‘वाहवाही’ कमायो । पछिल्लोपटक भने किरणको गीतले गायिका माण्डवी त्रिपाठीलाई पनि चर्चामा ल्यायो । माण्डवी नामक एल्बममा रहेका ‘मेरो बारुली कम्मर…’ बोलेको गीत किरणले नै लेखेका हुन् भने यो गीत अहिले हिट भएको छ ।
अहिलेसम्म चार सयभन्दा बढी गीत लेखिसकेका छन् उनले । १६ वटा गीत त रेकर्ड भइसकेका छन् भने गायिका मल्लिका कार्कीले पनि किरणको गीत गतिलै तरिकाले गाएकी छिन् ।
यतिबेला समय मिलाएर गीतकार किरण केसी ‘क्रोधी’ काठमाडौं आइपुगेका छन् । यो केही दिनको बसाइमा भने उनी केही गीत रेकर्डिङ र एल्बमको तयारीका साथ पारिवारिक भेटघाटमा व्यस्त रहने भएका छन् ।
रेखा पाउन हारालुछ
आफूलाई फरक धारको सिनेमा मेकरको रूपमा चिनाउँदै ठूला गफ गर्ने सिनेकर्मीहरूको सिनेमा अन्तत: फटाफट फ्लप हुन थालेपछि तिनीहरू लापत्ता हुन थालेका छन् । तर, यही समयमा मूलधारका सिनेमाहरू एकपछि अर्को गरेर व्यावसायिक रूपमा सफल हुन थालेपछि यसैको सिको गर्न थालेका छन् अरूहरूले पनि ।
नेपाली सिनेमालाई नयाँ बाटोमा लैजानुपर्छ भनेर गफ दिने तर आफू भने पुरानै बाटो हिँड्ने केही सिनेकर्मीका लागि चलचित्र लंकाले नराम्ररी झापड हानेको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र लंका हेर्न हलमा ओइरिएका दर्शकहरूको भीडले पनि अब सानो अनुहारको जमाना गयो भनेर खोक्नेहरूलाई रेखा थापाको उपस्थितिले फेरि लोप्पा खुवाइदिएको छ । चलचित्रमा स्टारको भ्याल्लु अझै छ र दर्शकहरूले पर्दामा स्टार नै खोज्छन् भन्ने कुराको ज्वलन्त उदाहरण बनको छ चलचित्र लंका । रेखा थापाको नाम र उपस्थितिले फिल्म चलेपछि अहिले रेखालाई आफ्नो सिनेमामा लिन खोज्नेहरूको भीड सुरु भएको छ ।
प्रतिक्रिया