रुपन्देहीमा ८० हजार जनसंख्या अव्यवस्थित बसोबासको शिकार

रुपन्देहीमा ८० हजार जनसंख्या अव्यवस्थित बसोबासको शिकार


एक वर्षभित्रमा रुपन्देहीमा अव्यस्थित तथा सुकम्वासी क्षेत्रको समस्या समाधान गर्ने दाबी गरिएको छ । जिल्ला बसोबास व्यवस्थापन समिति रुपन्देहीले यस्तो दाबी गरेको हो ।

सो समितिले बुटवलमा पत्रकार सम्मेलन गरी नेपाल सरकार, स्थानीय तहहरू, राजनीतिक दल, सरकारी कार्यालयसहित सरोकारवालाहरूको सहयोग भएमा एक वर्षभित्र समस्या समाधान गर्ने दाबी गरेको हो ।

सम्मेलनमा बोल्दै समितिका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बुटवलको वडा नम्बर २, ६, ११, १२, १३ र १७ सैनामैनाको ३ र ४, देवदहको चरगे र गणेशनगर, तिलोत्तमाको वडा नम्बर ८ र ३ तथा कञ्चन गाउँपालिकालाई प्रथमिकतामा राखी तत्काल काम सुरु गर्ने बताए । आर्चायका अनुसार रुपन्देहीमा करिव ८० हजार जनसंख्या सुकम्बासी र अव्यवस्थित बसोबासमा रहेको छ । पत्रकार सम्मेलनमा समितिका सदस्य अधिबक्ता कृष्णप्रसाद पोख्रेलले समितिले काम गर्ने तरिकाका सम्बन्धमा जानकारी गराए ।

पत्रकार सम्मेलनमा समितिका सदस्य प्रेम कुमारी चौधरी, निरजप्रताप खाण, काङ्ग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाण, क्षेत्रीय सभापति हरि लम्साल, नगर सभापति खेलराज पाण्डे, तरुण दलका पूर्वकेन्द्रिय सचिव चिरञ्जिवी जोशीसहित काङ्ग्रेस नेता तथा सुकम्वासी क्षेत्रका अगुवाहरू समेत सहभागी थिए ।

– चन्द्रकान्त खनाल