कठै बिचरा † जग्गा कारोबारीहरू-वीरेन्द्रमणि पौडेल

कठै बिचरा † जग्गा कारोबारीहरू-वीरेन्द्रमणि पौडेल


दुई-चार महिना अगाडिसम्म जग्गा दलालहरूलाई कठै बिचरा भन्ने आँट कसैको थिएन । यदि कसैले भनिहालेको खण्डमा दलालहरू बुर्कुसी मारेर उफि्रन्थे र प्रतिकारमा भन्थे, ‘के को बिचरा ? को बिचरा ? किन बिचरा ? ‘ त्यतिबेला उनीहरू बलिया थिए । झोलाभरि लाखलाखका बण्डल थिए । नयाँ कार थियो । पाँच लाखको जग्गालाई ४० लाखमा बेचेर कमाएको रकमबाट श्रीमतीको नाक, कान र गला सुनैसुनले भरिएको थियो । परिवारका सबै सदस्यको सबैका हातका औंंलाहरू सुनका औंठीले टनाटन थिए । च्याङ्ख्ला खानेहरू बासमती चामलमा उक्लिएका थिए । ठर्रा पिउनेहरू रेडलेवलमा पुगेका थिए । फित्ता चुँडिएको चप्पल लाउनेहरू टल्किने जुत्ताभित्रको मोजामा अत्तर र्छर्किएर हिँडेका थिए । जग्गा दलाली भने पनि खरिद बिक्रीको कारोबार भने पनि आखिर दुई लाख मूल्यको जग्गालाई बीस लाखसम्ममा बिक्री गरेर एक मात्र उद्देश्य दाम कमाएर क्षणिक मस्ती गर्ने उद्देश्यमा चितवनका विभिन्न पेसाका मानिसहरू जग्गा कारोबारमा लागे । जग्गा दलालीमा शिक्षक लागे । विद्यार्थी, औषधिपसले, किरानापसले, कर्मचारी, डाक्टर, सुनवाला, गृहिणी महिला लागे । अपवादलाई छाडेर सबका सब लागे । सबै मानिस एउटै पेसामा लाग्दा के हुन्छ, त्यही भयो । रातारात लाखौँ रकम आउने भएपछि अस्पतालबाट भागेर क्लिनिक धाउने डाक्टर क्लिनिकबाट पनि भागेर जग्गा खरिद-बिक्रीमा लागे । गरिब बिरामीलाई निचर-नाचर पार्दा पाँच-दस हजार पनि नझर्ने, बिरामीको ज्यान तलमाथि पर्दा हप्की-दप्की खानुपर्ने, जुलुस नारा र धर्ना व्यहोर्नुपर्ने झन्झटबाट मुक्त हुन डाक्टरहरू जग्गा कारोबारमा होमिए । बढी पैसा पनि आउने गरिब बिरामी र तिनका आफन्तहरूको कचकच सुन्न पनि नपर्ने ।
महिनादिनभरि घाँटीको नसा फुलाएर कराएर पढाउँदा १० हजार रुपैयाँ पनि पाउन मुस्किल, पाए पनि ठीक समयमा नपाइने, किस्ते रूपमा पाइने । उता जग्गा दलालीमा लाग्दा एकै दिनमा उस्तैपरे पाँच-दस लाख हात लाग्ने भएपछि शिक्षकहरू पढाउने कामबाट राजीनामा दिएर जग्गा दलालीमा होमिए । घरेलु महिला घरको कामकाज छाडेर खेतको गरा र कान्लामा दगुरेको देखियो । अधिकांश महिलाको मुखमा ‘बैना’ र ‘प्लिजर स्कुटर’ झुन्डियो । सपना-विपना दुवैमा महिलाहरू बर्बराउन थाले । बच्चाबच्चीहरू ठीक समयमा खान, लाउन र स्कुल जान नपाउने भए । छापाखानाको साहु छापाखानै कामदारको जिम्मामा छाडेर जग्गा कारोबारमा लागे । नारायणगढको एक छापाखानामा मसी, कागज छैन । ग्राहक आएका छन्, फर्किएका छन् । कामदार टोलाएर मेसिनलाई हेरेेर बसेका छन् । छापाखानाको साहु पुरानो नम्बर बन्द गरेर नयाँ मोबाइल नम्बर राखेर बेपत्ता छन् । आए दिनको दसौँ लाख आउने गए जाबो एउटा मेसिन खेर जाने । मेसिन र कामदारको के मतलब ? साहुजी बेपत्ता भएको लामो समय बितिसक्यो । साहुजी खोइ भन्ने प्रश्नमा छापाखानाका कामदार हाँस्छन् मात्रै जवाफ दिँदैनन् ।
मुखमा र कागजमा राजनीतिक सिद्धान्त फरक गरियो । जग्गा दलाली र खरिद-बिक्रीबाट प्राप्त लुटको माल खाने मामलामा काङ्ग्रेस, एमाले र माओवादीका थुप्रै कार्यकर्ता सीधै खाओवादीमा परिवर्तन भए । जनताको हितका लागि, गरिब विपन्न र सर्वहारा वर्गको मुक्तिका लागि राजनीतिमा होमिएको बताउनेहरू हजारका नोट, रक्सीका बोटल, नयाँ कार र त्यो कारको पछिल्लो सिटमा ‘विशेष पाहुना’ राखेर हुइँकिए । आफूलाई सम्पूर्ण रूपले पतन गराए । मालपोतका कर्मचारीहरूले कार्यालय समय सकिएपछि पनि राति बत्ती बालेर पनि जग्गा पास गरिदिए । मालपोत कार्यालय प्रमुखले होटल होटलमा गएर रक्सीको चुस्की लिँदै र मासुका चोक्टा लुछ्दै जग्गापासका लागि सिग्नेचर धस्काए । बिहानदेखि बेलुकासम्म मानिसहरूको घुइँचो लाग्यो । मालपोत कार्यालयमा बारीमा, खेतमा । मिरेमिरे उज्यालोदेखि नै कट्ठा, धुर, बिघा, बैना, दस लाख, पचास लाख, चार करोड, नौ करोडजस्ता शब्दहरू सुनिए । कसैको फुर्सद भएन । आगो लागेको बखत पानी खोज्न दौडेको मानिसजस्तो । र्सपले टोक्दा अस्पताल पुर्‍याउन हतार गरेजस्तो । भुइँचालो आउँदा ज्यान जोगाउन मानिस भागाभाग र कोकोहोलो मच्चाएजस्तो गरेर मान्छे कुदे । अधिकांश कुदे । कुद्न सक्नेहरू सबै कुदे । बच्चा, बूढाबूढी र अस्पतालमा भर्ना भएका बिरामी र अन्य केही अपवादलाई छाडेर सबै कुदे । एकप्रकारले मान्छेहरूको ठूलो सङ्ख्या एकैपटक बौलायो । पाक्ने बेलाको मकैको बोट मकै पाक्न नदिई काटकुट पारियो । उखेल्ने बेला भएको नगदे बाली जोतेर अपराध गरियो । लहलह झुलेका धान हप्ता दिनमै पाक्थ्यो । त्यही हप्ता दिन पनि कुरिएन । पाक्न लागेको धानमाथि ट्रयाक्टरले जोतियो । ग्राभेल हालियो र जीवन बचाउने त्यो धान नामको अन्नलाई ग्राभेलले थिचियो । जघन्य अपराध गरियो । कसैले सङ्गठित रूपमा गरे । कसैले असङ्गठित रूपमा गरे । तर, धेरैले अपराध गरे ।
अपराधीहरूले अपराध गरे । लौ भैगो । नजानेरै गरे । जान्नेहरू किन चुप लागेर बसे ? नेपाल सरकार कहाँ गयो ? भूमिसुधार तथा व्यवस्था मन्त्रालय कहाँ गयो ? एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका चितवन इन्चार्ज अनिल शर्मा विरहीले चितवन पोष्ट दैनिकमा अनियन्त्रित ढङ्को जग्गा प्लटिङ र खरिद-बिक्री रोक्ने विचार मात्रै व्यक्त गरेनन् गणतन्त्र नेपालको राजधानी चितवन भन्ने चटके विज्ञापन गरेर नेपाली जनताको भविष्यमाथि खेलवाड गर्ने जग्गा दलालहरूलाई गाउँगाउँबाट लाठो लगाएर लघार्नुपर्छ भन्नेसमेत लेखेर चिन्ता व्यक्त गरे । तर, धेरैजसो जिम्मेवार पक्षहरू जघन्य अपराध हेरेर बसे । बोलेनन् ।
कसरी आयो आयो । अकस्मात् नेपाल राष्ट्र बैंकलाई बुद्धि आयो र मुलुकभरिका बैंकहरूलाई घरजग्गा खरिद-बिक्रीजस्तो अनुत्पादक काममा लगानी गर्न बन्द गर्न निर्देशन दियो । घरजग्गा खरिद-बिक्री कसरी अनुत्पादक ? पुष्टिका लागि यो कथा उपयुक्त हुन्छ ।
जात्रा लाग्ने दिन पारेर एक रक्सीव्यापारी एक जर्किन रक्सी लिएर बाटोको छेउमा बसेको थियो । अर्को रक्सीव्यापारी पनि एक जर्किन रक्सी लिएर त्यही ठाउँमा आइपुग्यो । रक्सी ग्राहक आएनन् । पहिले आउने रक्सीव्यापारीको गोजीमा एक रुपैयाँ थियो । अर्कोको गोजी शून्य थियो । एक रुपैयाँ भएकोले अर्को रक्सीव्यापारीसँग त्यही एक रुपैयाँको रक्सी किनेर चाख्यो । अर्कोले पनि त्यही एक रुपैयाँ पहिले आफूसँग रक्सी किन्नेसँग किनेर चाख्यो । एउटाको रक्सी अर्कोलाई मीठो लाग्यो । एकले अर्कोसँग त्यही एक रुपैयाँले रक्सी किन्ने र पिउने गरे रातभरि । रातभरिमा दुवैको जर्किनको रक्सी सकियो । एकजनाको हातमा त्यही एक रुपैयाँ आयो अर्कोको हात रित्ताको रित्तै भयो । एकले अर्कोलाई किन्ने र बेच्ने गरेको जग्गाबाट प्राप्त हुने पनि त्यही एक रुपैयाँजस्तै हो ।
यतिबेला चितवनमा जग्गा खरिद-बिक्री प्राय: ठप्प छ । हिजो ५० लाखमा बेच्न ठीक्क पारेको जग्गा आज पाँच लाखमा पनि कसैले किन्दैन । जग्गा दलालहरू आँसु थामेरै रोएका छन् । बिचरा † कहिले भुइँमा खुट्टा हुँदैन, कहिले हावा फुस्किएको बेलुनजस्तो ।
बिचरा जग्गा दलालहरू पनि नेपाली नागरिकहरू हुन् । उनीहरूको पनि सामाजिक, आर्थिक अवस्था मजबुत हुनुपर्छ । कानुनी रूपले धन कमाउन दौडधुप गर्नुलाई अपराध भन्न मिल्दैन पनि । कानुनसम्मत भए पनि मानव जीवनका लागि अत्यावश्यक अन्न र यसको स्रोत विनाश कार्य रोक्न सरकारले कानुन परिवर्तन गरेर भए पनि रोक्न जरुरी छ । सरकार जनताको अभिभावक हो । अभिभावकरूपी सरकारले जनतालाई अन्न, पानी र बसोबास उपलब्ध गराउनु पहिलो कर्तव्य हो । सन् १९७० सम्म अन्न निर्यात गर्न सक्षम नेपाल २०१० मा आइपुग्दा अन्न अभावको समस्यासँग जुध्न परेको स्थिति कम भयावह होइन । अफि्रकी मुलुक सोमालिया र इथियोपिया भोकमरीको चपेटामा परेका कारण अस्तव्यस्त भएका छन् । यतिबेला विश्वका सम्पूर्ण मुलुकले अन्न निर्यात बन्द गरिसकेका छन् । ६ महिनाअघि परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतीयहरूसँग अन्न दिन रोइकराइ गरेकी थिइन् । उनको रोदन सुनेर होला भारतले माघको अन्तिम हप्ता नेपाललाई ५० हजार मेट्रिक टन गहुँ बिक्री गर्न राजी भएको छ । यसपटकको हिउँद भारतले दिएको गहुँबाट थेगिएला त्यसपछिका दिनहरूमा नेपाली जनता कसरी बाँच्छन् ? नेपाल सरकार अन्नको अभावबाट तर्सिएर जनतालाई भात खाने बानी छाडेर अन्य खालका अन्न खान सिक्न अनुरोध गरिरहेको छ । भयावह अवस्था यसले पनि प्रस्ट्याउँछ । यतिबेला भारतले नेपाललाई ५० हजार टन गहुँ बिक्री गरे पनि भारत स्वयम् पनि अन्नमा आत्मनिर्भर नभएको प्रमाण सन् २००८ को अन्तिमतिर बिहार राज्य सरकारले आफ्ना जनतालाई पेटभरि अन्न खान दिन नसक्ने बताउँदै खेतबारीमा पाइने मुसाको मासु खाएर जीवन धान्न अनुरोध गरेको अवस्थालाई प्रमाण मान्न सकिन्छ । एकातर्फविश्वव्यापी रूपमा अन्न अभाव हुँदै गइरहेको र अन्न उत्पादन वृद्धिका लागि संयुक्त राष्ट्रसङ्घदेखि लिएर विश्व खाद्य सङ्गठनसम्मले चिन्ता व्यक्त गरिरहेको अवस्थामा नेपालमा नेपाली जनता बाँच्नेसम्मको अन्न उत्पादन हुन सक्ने स्थितिलाई खेतीयोग्य जमिन विनाशद्वारा नेपाली जनजीवनलाई ध्वस्त पार्ने प्रक्रियालाई कुनै पनि हालतमा सहन सकिँदैन । कसैले पनि सहन हुँदैन । खेतीयोग्य जमिन जोगाउन सरकार, राजनीतिक दल र नागरिक समाज तुरुन्त सक्रिय हुन जरुरी छ । जग्गा प्लटिङ तुरुन्त बन्द गरिनुपर्छ । जग्गा दलालहरूको हितलाई समेत मध्यनजर गरी वैकल्पिक पेसा सरकारले उपलब्ध गराउनुपर्छ । लगानीका लागि अन्य विकल्प सरकारले दिनुपर्छ ।
सम्भावित दुर्घटनाबाट जोगाउने कसरतस्वरूप नेपाल राष्ट्रबैंकले जग्गा कारोबारको लोन नदिन बैंकहरूलाई केही कडाइ गरेको छ । खेतीयोग्य जमिन जोगिने सम्भावना बढेको छ । यदि पुन: खुकुलो नीति सरकारले लियो भने तीन सयजनाले कार चढ्लान्, मीठो खालान् राम्रो लाउलान् तर तीन करोड जनता भोकमरीको चपेटामा परेर जिउँदै मरेसरह हुनेछन् । जनता जोगाउन खेतीयोग्य जमिन सुरक्षा गर्न प्रयास गर्ने सरकारलाई धन्यवाद † यतिबेला हावा फुस्किएको बेलुनजस्तै भएका कठै बिचरा † जग्गा दलालहरूप्रति हारि्दक सहानूभुति ††