नक्कली प्रहरी बनेर महिलाले गरिन् महिलाकै ठगी

नक्कली प्रहरी बनेर महिलाले गरिन् महिलाकै ठगी


नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ ठगी गर्ने सिन्धुपाल्चोक घर भई बालाजु बस्ने कोपिला बोहरालाई आज महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको हो ।

सो वृत्तका प्रमुख विश्वराज खड्काका अनुसार बोहराले सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ भनी सशस्त्र प्रहरीको पोशाक लगाई फोटो देखाएर ठगी गरेकी थिइन् । बोहराले झण्डै सात लाख ठगी गरेको अनुसन्धानले देखाएको पोखरेलले जानकारी दिए ।

बोहराले दैलेख घर भएका राधा शाहीसँग एक लाख ४५ हजार, सिन्धुपाल्चोकका रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार, मीना सुनुवारसँग १९ हजार ठगेकी छन् । यस्तै, अन्य व्यक्ति सम्पर्कमा आउने क्रम जारी रहेको वृत्तले जनाएको छ ।