अस्पतालभित्र सेवाग्राहीले जान्नैपर्ने केही नियम-सम्झना शाक्य

अस्पतालभित्र सेवाग्राहीले जान्नैपर्ने केही नियम-सम्झना शाक्य


अस्पताल एक साझा सामाजिक संस्था हो । चाहे यो सानो, ठूलो, सरकारी वा गैरसरकारी जे होस्, यसको उद्देश्य बिरामीहरूको सेवा गर्नु हो । अस्पतालमा बिरामी भर्ना गर्नु जो-कसैका लागि पनि चुनौतीको विषय हो । अस्पतालमा मानिसहरू असहज महसुस गर्छन् । अस्पतालका नियमहरूका बारेमा सेवाग्राहीहरू अन्योलमा रहनु, सर्वव्याप्त अज्ञानता र अबोधता अनि स्वास्थ्यकर्मीहरू र सेवाग्राहीहरूबीच मैत्रीपूर्ण संवाद हुन नसक्नुजस्ता कारणहरूले गर्दा यस्तो असहज परिस्थिति सिर्जना हुन गएको हो । चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूले मीठो बोलेर मायालु व्यवहार देखाइदिए हुने भन्ने आमभावनालाई नकार्न त सकिँदैन । यद्यपि बिरामी तथा बिरामीका आफन्तहरूले पनि नैतिक तथा जिम्मेवारी पूर्ण व्यवहार देखाएर यस्तो असहज परिस्थितिलाई सहज बनाउन सकिन्छ । यसका लागि आममानिसले अस्पतालमा सेवाग्राहीको हैसियतले आप\mना अधिकार तथा कर्तव्यहरू के-के हुन्छन् भनी सचेत हुनु महत्त्वपूर्ण हुन्छ । यसैलाई मध्यनजर गरी आजको यस अङ्कमा अस्पतालका साधारण नियमहरूका बारेमा हामी छलफल गर्दैछौँ ।
अस्पतालमा सामान्यतया निषेधित हुने कुराहरू
कुनै पनि स्वास्थ्य संस्थामा धुम्रपान तथा मदिरा सेवन गर्न निषेधित हुन्छ । अस्पतालमा जाँदा भद्र पोसाक लगाउनुपर्छ । कडा खालका परप\mयुम लगाउनु हुँदैन । अस्पतालभित्र चुइगम खानु राम्रो मानिँदैन । अस्पतालभित्र मोबाइल फोन प्रयोग गर्नुहुन्छ कि हुँदैन भन्नु एक वादविवादको विषय हो । यद्यपि मोबाइल फोनको प्रयोगले बिरामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नकारात्मक असर पर्ने हुँदा अस्पताल परिसरभित्र रहँदा-बस्दा मोबाइल फोन बन्द गर्नु वा शान्त अवस्थामा राख्नु अनुशासित मानिन्छ ।
अस्पतालमा भर्ना हुन जाने बिरामीहरूले बहुमूल्य सामानहरू, गहना, पैसा आदि घरमा नै छोडेर जानुपर्छ । साथै अस्पतालमा बिरामी भेट्न जाँदा बालबच्चाहरू सकेसम्म लिएर जानुहुँदैन । यदि आफूलाई रुघाखोकीजस्ता सरुवा रोग केही लागिराखेको अवस्थामा अस्पतालमा बिरामी भेट्न जानुहँुदैन । जोकोही व्यक्तिले लिप\mटको प्रयोग गरिदिँदा बिरामी, अशक्त तथा आकस्मिक अवस्थामा रहेका व्यक्तिहरूले पालो नपाउन सक्दछ ।
अस्पतालमा वार्डका केही नियमहरू
बिरामीहरूलाई उनीहरूको रोगको प्रकृति हेरेर विभिन्न वार्डहरूमा भर्ना गरिएको हुन्छ । बिरामी भेट्न जाँदा बिरामीको पूरा नाम, ठेगाना निश्चित गरेर जान्ाुपर्छ । बिरामी कुन वार्डमा भर्ना गरेको छ भनी पत्ता लगाउन सोधपुछ शाखामा वा क्यास काउन्टरबाट पत्ता लगाउन सकिन्छ । अस्पतालमा वार्डपिच्छे नियमहरू फरकफरक हुन सक्छन् । जस्तै, सिकिस्तै भएका बिरामीहरू राख्ने वार्ड, अप्रेसन गर्ने कक्ष, अप्रेसनपछि बिरामी राख्ने कक्ष आदिमा सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्य तथा बिरामीको स्याहारमा कुनै अवरोध नहोस् भन्ने हेतुले बिरामीका आफन्तलाई प्रवेश गर्न दिइँदैन । यसबाहेक सबैजसो वार्डमा एकजना कुरुवा राखे पनि चिकित्सकको राउन्ड हुँदा, सरसफाइ गर्दा र बिरामीको स्याहार गर्दा कुरुवाहरूलाई बाहिर बस्न अनुरोध गरिएको हुन्छ । यस्तो बेलामा बिरामीका आफन्तहरू संयमित हुनु जरुरी छ । साथै वार्डका सामग्रीहरू चलाउनुभन्दा अगाडि सम्बन्धित नर्ससँग अनुमति लिनुपर्छ । त्यसैगरी अनुमतिबिना बिरामीलाई वार्डबाहिर लानु पनि हुँदैन । आप\mना केही जिज्ञाशा भएमा सम्बन्धित नर्सलाई व्यस्त नभएको समय हेरेर सोध्नुपर्छ ।
बिरामीलाई के लगिदिने ?
बिरामी भेट्न जाँदा सकेसम्म कोही पनि रित्तोहात जाँदैनन् । खानेकुरा, फलफूल, पुस्तक, फूलको गुच्छा वा बुके आदि बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै लगिदिने उपहारहरू हुन् । यस्ता उपहारको चयन गर्दा बिरामीलाई सुहाउँदो कुरा लगिदिनुपर्छ । फूलहरू लगिदिँदा एलर्जी नहुने कुरा निश्चित गरेर मात्र लानुपर्छ । बिरामीलाई स्याहार गर्न मद्दत हुने जस्तै रुमाल, बडिलोसन, ह्यान्ड स्यानिटाइजरजस्ता सामग्रीहरू लगिदिँदा पनि राम्रो हुन्छ । अर्को कुरा बिरामी भेट्न जाने संस्कृतिलाई लोकाचारको रूपमा मात्र नलिई साँच्चिकै सहयोग गर्ने अवसरको रूपमा लिनुपर्छ । बिरामी भएको अवस्थामा प्राय: मानिसहरू आर्थिक चुनौती भोगिरहेका हुन्छन् । यस्तो अवस्थामा सक्दो आर्थिक वा मानवीय सहयोग गर्न पनि पछि पर्नुहुँदैन । मानवीय सहयोग भन्नाले बिरामी कुरुवालाई पालो दिने, रक्तदान गर्ने, खानेकुराहरू बनाएर लगिदिने आदि पर्छन् ।
बिरामीसँग कस्तो व्यवहार गर्ने ?
बिरामीसँग नम्र व्यवहार गर्नुपर्छ । भेट्ने बेला उत्साहित भई रुने-कराउने गर्नुहुँदैन । भ्ा\mवाम्म् अंकमाल गर्नुभन्दा हात समात्नु राम्रो हुन्छ । बिरामीसँग राम्रा तथा सकारात्मक कुराहरू गर्नुपर्छ । बिरामी भेट्न जाँदा आफू बिरामी हुँदाका पुराना-पुराना लामा-लामा कुराहरू गर्नुहुँदैन जुन प्राय: मानिसहरू गर्ने गर्छन् । यसो गर्दा बिरामीलाई भिँmझो लाग्ने तथा हतोत्साहित हुन सक्छ । कतिपय कुरा बिरामीलाई व्यक्त नगरिएका हुन्छन्, यस्ता कुराहरू प्याच्च भनिदिने अथवा बिरामीले व्यक्त गर्न नचाहेका कुराहरू कोट्याई-कोट्याई सोध्ने गर्नु हुँदैन । बिरामीसँग ठूलो-ठूलो स्वरमा कराउने गर्नुहुँदैन । बिरामीको ओछ्यानमा बस्नुहुँदैन । बिरामीलाई आफूले लगिदिएका खानेकुराहरू कर गरी खुवाउने गर्नु हुँदैन । एकैचोटि धेरै भिजिटर जाने गर्नुहुँदैन । बिरामीसँग छोटो-मीठो कुरा गर्ने गर्नुपर्छ । बिरामीका कुरुवालाई पनि रेखदेख गर्नुपर्छ । यसका साथै आप\mनो व्यवहारले बिरामीसँगै रहेका अन्य बिरामीहरूलाई असुविधा पो भयो कि भन्ने विषयमा पनि ध्यान दिनुपर्छ ।
चिकित्सकसँग कस्तो व्यवहार गर्नुपर्छ ?
चिकित्सकलाई समय-तालिकाअनुसार भेट्ने गर्नुपर्छ । चिकित्सकसँग के-के कुरा गर्ने हो पहिले नै सोचेर बुँदागत रूपमा गर्नुपर्छ । लामो तथा पहिला-पहिलाको असम्बन्धित कुराहरू धेरै गर्नुहुँदैन । यस्तो गर्दा आफूले सोध्न खोजेको मुख्य कुरा छुट्न सक्छ । चिकित्सकसँग कुरा गर्दा परिवारको एक जिम्मेवार सदस्यले मात्र कुरा गर्दा राम्रो हुन्छ । फरक-फरक व्यक्तिले एउटै कुरा सोध्दा स्वास्थ्यकर्मीहरूलाई दिक्क लाग्नु स्वाभाविकै हो । चिकित्सक भेट्दा आप\mनो पालोमा भेट्ने गर्नुपर्छ । एउटै कुरा दोहोर्‍याई-तेहेर्‍याई सोध्ने गर्नुहुँदैन । चिकित्सकले भनेका मुख्य कुराहरू नोट गरेर राख्ने बानी गर्नुपर्छ । विशेषगरी कहिले फलो अप जाँच गर्ने, के-के रिपोर्ट लिएर जाने, कुन-कुन औषधि कसरी खाने आदि कुराहरूमा स्पष्ट हुनुपर्छ । चिकित्सकलाई बाटोमा रिपोर्ट देखाउने, सामान्य कुरा सोधपुछ गर्न फोन गर्ने गर्नुहुँदैन ।
अन्य कर्मचारीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ ?
अस्पतालमा रहेका अन्य कर्मचारीहरूसँग पनि भद्र व्यवहार गर्नुपर्छ । अस्पतालका नियमहरूको पालना गराउने क्रममा सुरक्षागार्डहरू, वार्ड सहायकहरू वा अन्य स्वास्थ्यकर्मीहरू रुखो सुनिन सक्छन् । यस अवस्थाको संवेदनशीलतालाई दुवै पक्षले ध्यानमा राख्नुपर्छ । यस्तो अवस्थामा वादविवाद गर्ने, झगडा गर्ने गर्नुहुँदैन । एकले अर्कालाई आप\mनो नैराश्यता पोख्ने गर्नुहुँदैन । एकले अर्को पक्षलाई सक्दो सहयोग गरिदिनुपर्छ ।
चित्त नबुझेको अवस्थामा के गर्ने ?
कहिलेकाहीँ हामीलाई अस्पतालका कतिपय कुराहरू चित्त नबुझिरहेको हुन सक्दछ । जस्तो, ल्याबको रिपोर्ट कहिलेकाहीँ गडबड आउन सक्दछ । बिरामीलाई गरिराखेको उपचार आफूले नबुझिराखेको हुन सक्छ । कसैको व्यवहार रुखो महसुस हुन सक्दछ । यस्तो अवस्थामा वादविवाद गर्ने, झगडा गर्नेभन्दा पनि उजुरीपेटिकामा लेखेर उजुरी गर्न सकिन्छ । अथवा, अस्पताल प्रशासन, अस्पताल निर्देशक, युनिट प्रमुख, वार्ड इन्चार्ज वा सम्बन्धित चिकित्सकसँग समय लिएर चित्त नबुझेको विषयमा स्पष्ट हुन सकिन्छ ।
होसियार रहनुस् †
अस्पतालमा सबै मान्छे रामै्र नियतले मात्र आएका हुन्छन् भन्ने निश्चित हुँदैन । कतिपय मानिसहरू चोर, ठग, फटाहा पनि हुन्छन् जो बिरामीको कमजोरीको फाइदा उठाएर पैसा कुम्ल्याउने मौका छोपिरहेका हुन्छन् । त्यसकारण अस्पतालमा नचिनेका मानिसहरूसँग धेरै कुरा गर्ने, खानेकुरा दिने वा खाने, आप\mनो समस्या व्यक्त गर्ने गर्नुहुँदैन । आप\mनो पैसा तथा अन्य सरसामानहरू सुरक्षित साथ राख्नुपर्छ ।
अन्तमा, अस्पताल एक साझा सम्पत्ति हो । बिरामी तथा स्वास्थ्यकर्मीहरू एक-अर्काका परिपूरक हुन् । यी दुई पक्षको सुमधुर सम्बन्धले बिरामीको उपचारमा सकारात्मक ऊर्जा थप्दछ । दुवै पक्षले सहयोगी व्यवहार देखाउन जरुरी हुन्छ । कामको चापको बाबजुद पनि स्वास्थ्यकर्मीहरूले आफूलाई संयमित, जिम्मेवार र सहयोगी व्यवहार देखाउने कोसिस गर्नुपर्छ । त्यसैगरी बिरामी तथा बिरामीका आफन्तहरूले पनि आप\mनो कर्तव्य तथा अधिकारको बारेमा सचेत हुँदा यो सम्बन्धलाई मजबुत पार्न ठूलो मद्दत हुनेछ ।
(लेखिका सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुरोगीहरूको पुनर्स्थापना तथा स्वास्थ्य पर््रवर्द्धन विभागमा कार्यरत वरिष्ठ स्टाफ नर्स तथा मुटुरोगीहरू र मधुमेहका बिरामीहरूको परामर्शदाता पनि हुनुहुन्छ ।)