भ्रष्ट नगरपालिकालाई कारबाही गर्ने कसले ?

भ्रष्ट नगरपालिकालाई कारबाही गर्ने कसले ?


– मुक्तिनाथ भुसाल

अर्घाखाँची जिल्लामा गाउँपालिका र नगरपालिकाको सङ्ख्या ६ वटा भए पनि साधनस्रोतले सम्पन्न सन्धिखर्क जिल्लाको पहिलो तथा पुरानो नगरपालिका हो । ०७१ सालमा स्थापना भएको यो नगरपालिकाले शुरुको १० महिनाभित्र आन्तरिक र अनुदानका विभिन्न शीर्षकमा ६० लाख ३२ हजार आठ सय १३ रुपैयाँ खर्च गरेको थियो । जसमध्ये ७ लाख ५४ हजार सात सय ८२ रुपैयाँ मेयरलाई सुविधा तथा बैठक भत्तामा खर्च गरिनुको अलावा मेयरसा’व रहेको नगरपालिका कम्पाउण्ड वरपर फूल रोप्नका लागि ६७ हजार आठ सय ३४ रुपैयाँ खर्च गरिएको थियो । मेयरको चिया, नास्ता र अतिथि सत्कारका लागि २ लाख नौ हजार सात सय तीन रुपैयाँ, गोष्ठी कार्यक्रममा २ लाख २१ हजार नौ सय ३२ रुपैयाँ, सञ्चार महसुलमा ८४ हजार ६७ रुपैयाँ, परिषद् सञ्चालनमा १ लाख ४५ हजार एक सय दश रुपैयाँ, नगरस्तरीय सडक गुरुयोजना निर्माणका लागि १ लाख ७१ हजार नौ सय बाउन्न रुपैयाँ र अनुगमन तथा मूल्याङ्कनमा ७६ हजार पाँच सयसहित विभिन्न शीर्षकमा खर्च गरिएको थियो ।

मुलुकमा २० वर्षपछि ०७४ जेठ र असारमा स्थानीय निर्वाचन सम्पन्न भएको भए पनि ०७१ सालमा सन्धिखर्क नगरपालिकाभित्र मेयरका नाममा सेवासुविधा लिने कुन भाग्यशाली व्यक्ति हो भन्ने कुरा तत्कालीन कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटालाई जानकारी हुनुपर्दछ । स्थानीय तहमा सबैभन्दा पहिला कानुन बनाएर मन्त्रालयमा पेस गर्ने सफल प्रमुख प्रशासकीय अधिकृतका रूपमा उनी हाल मुलुकमै परिचित रहेका छन् । स्थापनाकालको वर्ष दिन बित्न नभ्याउँदै देखिएको यो तीतो यथार्थका अलावा सीमित व्यक्ति र कर्मचारीका लागि सन्धिखर्क नगरपालिका द्रव्यआर्जनको दरिलो साधनका रूपमा हालसम्म प्रयोग भएको छ । स्थानीय निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक सहमति र कर्मचारीहरूको सहकार्यमा बाँडीचुँडी मिलाएर खाने तथा नगरवासीहरूको भावनाविपरीत काम गर्ने भ्रष्ट निकायका रूपमा सन्धिखर्क नगरपालिका बेलाबखत चर्चामा रह्यो । सामान्य ओढ्ने छातादेखि उच्चतहमा रहेकाहरूले साँझमा बिजुलीपानी सेवन गर्न परे यो नगरपालिकालाई सम्झने कार्य सामान्य बन्दै गए । कर्मचारी नियुक्तिको सवालमा फर्म भरेकाहरू कतिपयले लिखित त कतिपयलाई मौखिक परीक्षामा समावेश हुनबाट वञ्चित गराइएको घटना एकताक राम्रै चर्चामा रहेको थियो । सुशासन प्रवद्र्धनका लागि गत वर्ष सम्झौता गरिएको रकमलाई भुक्तानी गर्ने समय बजेटको अभाव भन्दै ५० हजार कटौती गरेको यो नगरपालिकाले जिल्लामा हाउभाउ देखाउने नेता तथा समाजसेवीहरूको लागि आवश्यकीय सिमेन्ट, छड र पाइपजस्ता समान गत वर्षमा खरिद गरेबापत चालू आर्थिक वर्षमा १४ लाख ९८ हजार भुक्तान गरिसकेको छ ।

सन्धिखर्क नगरपालिकाको स्थापनापश्चात् हालसम्म सीमित व्यक्ति मोटाए पनि नगरवासीहरूले अपेक्षाकृत राहतको अनुभूति गर्न सकेका छैनन् । गत वर्ष पिच गरिएका सडक भत्कन शुरु हुनुका साथै हिलाम्मे र धुलाम्मे सुनसान जनजीवन बिताउन नगरवासीहरू विवश छन् तापनि समाजमा केही गर्न सक्ने जिम्मेवारीमा रहेका व्यक्ति तथा निकायलाई नगरपालिकाले त्यसैअनुसार चित्त बुझाइदिएको कारण विरोधका आवाजहरू बुलन्द हुन सकेका छैनन् । सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट कमलप्रसाद भुसाल नगरप्रमुखमा र माओवादी केन्द्रबाट ठाकुरकुमार विक उपप्रमुखमा विजयी हुनुभएको हो । विजयी हुनुपूर्व उहाँहरूले समृद्ध नगरपालिका बनाउने दृढता र प्रतिबद्धता चर्को आवाजमा व्यक्त गर्नुभएको बिर्सन सकिँदैन । तर, नगर र नगरवासी आज कति समृद्ध र सुखी भए, यो छर्लङ्ग छ भने समाजवाद र साम्यवादको नारा जपेर मेयर–उपमेयर बन्न सफल भुसाल र विकको कार्यकक्षमा छिर्ने हो भने उहाँहरूले चाहिँ साँच्चै समृद्धि हासिल गरेको प्रस्टै देखिन्छ । उहाँहरू कुनै महाराजाको भन्दा कम्ती ठाँटमा देखिनुहुन्न आफ्नो कार्यकक्षमा ।

जिल्लामा जनप्रतिनिधिहरू निर्वाचित भइसकेपछि सबै स्थानीय तहमा फर्निचर, फर्निसिङ तथा मेसिनरी सामान खरिद गर्दैगर्दा भ्याटसहित २० लाख दुईसय सत्तरी रुपैयाँको समान मेयर उपमेयरको सजावटका लागि पहिलो चरणमा खरिद गरेको सन्धिखर्क नगरपालिकाले इमानदारिता दर्शाएको भए कम्तीमा ४ लाख रुपैयाँ बचत गर्न सक्थ्यो । स्थानीय निर्वाचनको चुनावी प्रचारप्रसारको समय मोटरसाइकल चढेर जनताको सेवा गर्ने वचन दिनुभएका मेयर तथा उपमेयर साहेवहरूले सुविधासम्पन्न गाडी नगरपालिकामा हुँदाहुँदै थप नयाँ गाडी खरिद गरिसक्नुभएको छ । फुल फङ्सनको स्कार्पियो गाडी खरिद गरिसकेपछि गत माघ १८ गते ८४ हजार तीनसय पन्ध्र रुपैयाँ सुपादेउराली पूजाआजासहितका शीर्षकमा नगरपालिकाको नाममा देखिने गरी खर्च गरिएको छ । यसैगरी चालु आर्थिक वर्षमा १६ करोड ८ लाख १३ हजार विनियोजित पूँजीगत बजेटमा फागुन मसान्तसम्म २ करोड ३८ लाख २ हजार ३ सय ६७ पैसा खर्च गरेको बुझिएको छ ।

सदरमुकाम सन्धिखर्कमा रहेको सडकमा एक वा दुईपटक कालोपत्रे नगरिएका होइनन्, तर यस कार्यमा भएको लगानी ६ महिना–वर्ष दिनजति पनि नटिक्दा राज्यको धन बालुवामा पानीसरह बनेको छ । यस्तै, सन्धिखर्क सदरमुकामको गहनाका रूपमा परिचित टुँडिखेलको पर्खाल पछिल्लो समय तेस्रोपटक ०७१ चैत ३० गते निर्माण सम्पन्न गरिएको भए पनि ठीक ४ महिनापश्चात् सामान्य वर्षाका कारण भत्किएको थियो । यसैगरी सदरमुकामको फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको डम्पिङवाल गत वर्ष जिविसको लापरबाहीले क्षमताभन्दा बढी माटो गिराएर भत्काइएको हो । हाल उल्लेखित दुवै वालहरू निर्माणका लागि प्रकाशन गरिएको टेन्डर सूचना गोप्य राखी कानुनलाई चाहिने तीनवटा इच्छाइएका फर्महरूको मात्र निवेदन पारी समय सकिएपछि सूचना सार्वजनिक गरिएको बुझिएको छ । यसबाट नगरपालिकालाई टेन्डर निवेदनबाट प्राप्त हुने करिव पचास फर्मबाट ५० हजार राजस्व र उनीहरूबीचको आपसी प्रतिष्पर्धाका कारण दुबै ठेक्काबाट प्राप्त हुने कम्तीमा १० लाख रुपैयाँ नगरपालिकाले गुमाउनुपऱ्यो । तर, जसले काम लिएको भए पनि जिल्लाभित्रैका आफ्नै सहयात्री भएकाले खुलेर विरोधमा नउत्रिएका भए पनि आफूहरूलाई निवेदन हाल्नबाट वञ्चित गराएको पीडा जिल्लाका ठेकेदारहरूमा रहेको बुझिन्छ । निर्वाचित जनप्रतिनिधिले सबै कुराको निर्णय लिने कानुनी प्रावधानलाई नबुझेर किन हामीलाई खोजिएन भन्दै उफ्रनेहरू पनि अहिले बिस्तारै चिसिएको र नगरपालिकाले के गरिरहेको छ भन्ने विषयमा खोजीनिती नगरेको अनुभूति मिलेको छ ।