प्राध्यापक बन्न नेताको फोन !

प्राध्यापक बन्न नेताको फोन !


त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक विशिष्टताका आधारमा खुला प्रतियोगिताद्वारा विभिन्न पाँच विषयका प्राध्यापक पदपूर्ति गर्ने क्रममा अस्वस्थ खेल शुरु भएको समाचार प्राप्त भएको छ । जानकारीअनुसार विश्वविद्यालयको सेवा आयोगले गत कात्तिकमा माइक्रो बायोलोजी, भौतिकशास्त्र, वातावरण विज्ञान, बायो टेक्नोलोजी र रसायनशास्त्र विषय अध्यापनका लागि सम्बन्धित विषयमा विद्यावारिधिसम्म गरेका उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियो ।

विभिन्न विषयका कुल बीस अध्यापक खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न लागेको भए पनि पहिलो चरणमा पाँच रिक्त स्थानका लागि दरखास्त आह्वान भएको हो । लिखित परीक्षा नलिई अन्तर्वार्ताका आधारमा मात्र उम्मेदवारहरूको छनोट गरिने यस प्रतिस्पर्धामा करिब पाँच दर्जन उम्मेदवारले सहभागिता जनाएका छन् । उनीहरूको अन्तर्वार्ता यसै साताको शुक्रबार प्रारम्भ हुने भएको छ ।

यसरी प्राध्यापक, सहप्राध्यापक र रिडर पदको पूर्ति गर्न अन्तर्वार्ता शुरु हुने भएपछि कतिपय उम्मेदवार दलका नेताहरूको घर–घरमा धाउन थालेको पाइएको छ । यसरी नेताका घर धाउनेहरूमा सबैभन्दा अगाडि भानु न्यौपाने देखिएका छन् । नक्कली कागजपत्र बनाएर अमेरिका प्रवेश गरेका नौजना विद्यार्थीको दस्तावेजमा साक्षी बसेको र त्यस सम्बन्धमा कानुनी कारबाही भोग्नुपूर्व नै अमेरिकाबाट भागेको बताइने भानु न्यौपानेले शेरबहादुर देउवा र आरजु राणाकहाँ पुगी आफू काङ्ग्रेस भएको दाबी गर्दै त्रिवि सेवा आयोगका सदस्य चिन्तामणि पोखरेललाई फोन गर्न लगाएका छन् ।

ज्ञातव्य छ, अन्तर्वार्तामा सेवा आयोगका चैतन्य शर्मा र पोखरेलका अतिरिक्त एक बाह्य विज्ञ रहनेछन् । आरजु राणा अध्यक्ष रहेको नामी कलेजका कार्यकारी प्रमुख योगराज कँडेलमार्फत देउवानिवास पुगेका भानु न्यौपानेले आरजुमार्फत अमेरिकाबाट विज्ञका रूपमा नेपाल आउने व्यक्तिलाई समेत प्रभावित पारिसकेको बुझिन्छ । आरजुले भानुलाई जसरी भए पनि प्राध्यापक उत्तीर्ण गराउनैपर्ने भनी शेरबहादुर देउवालाई भनेपछि देउवाले चिन्तामणि पोखरेललाई फोन गरेको र पोखरेलले पनि देउवालाई वचन दिएको बताइन्छ ।

भानुले एमाले नेताहरू वामदेव गौतम र विष्णु पौडेललाई भेटी सेवा आयोगका चैतन्य शर्मालाई फोन गर्न लगाएको र चैतन्यले समेत नेताहरूसँग भानुलाई छनोट गर्ने वचन दिएको बताइन्छ । यसरी विषयगत दक्षताभन्दा नेताका आडमा प्राध्यापकहरूको छनोट हुने भएपछि अन्य उम्मेदवारहरूले प्रतिस्पर्धामा सामेल भएर योग्यता र क्षमता प्रस्तुत गर्नुको के अर्थ हुने हो, गम्भीर प्रश्न उठेको छ । न्यौपानेले रसायनशास्त्रको प्राध्यापक पदका निम्ति आवेदन गरेका छन् ।