—शोभा त्रिपाठी
‘कुन्तकी बुहारी भटमास खाएकी’ भन्ने एउटा उखान गाउँघरमा प्रचलित छ । बुहार्तनले थिचिएर जीर्ण बनेकी महिलाले भटमास पचाउन नसकी पखाला चलेर झनै कमजोर बनेको अर्थमा बुझिने यो उखानसँग यतिबेलाको नेपाली राजनीतिलाई जोडेर हेर्नु सामयिक ठहरिएला ।
विभिन्न दलका स्वार्थी नेताहरूको कारण राजनीतिक अवस्था दिनानुदिन भाँडिँदै गएको र विकृत राजनीतिका कारण प्रगति र विकासका गतिविधि ठप्प बनेपछि देश झन्–झन् पिछडिएको अवस्थामा पुगेको छ । सर्वसाधारण जनताको तहबाट उठेका समाधान नगरी नहुने मुद्दाहरू संविधान निर्माणको विपक्षमा रहेका दलका नेताहरूले बिर्सिएका या उपेक्षा गरेका छन् । शोषित, दलित, उत्पीडित जनताका व्यथा जस्ताको तस्तै छन् । जनचाहनाअनुसारको सङ्घीय लोकतान्त्रिक संविधान नबनेसम्म जनजीविकासँग जोडिएका मुद्दाको छिनोफाटो हुँदैन भन्ने देशलाई माया गर्ने प्रत्येक सचेत नेपालीले बुझेका छन् । तर, सर्वसाधारण जनतालाई गोरुझैँ जोताएर तिनका पसिनामा पौडी खेल्न पल्केको सामन्ती प्रवृत्तिका वाहकहरूले संविधान निर्माणको मार्ग नै अवरुद्ध तुल्याएका मात्र होइनन्, अनेक भाँडभैलो रचेर संविधान निर्माण प्रक्रियालाई नै ओझेलमा पार्न लागेका छन् । किनकि, संविधान बनेपछि अर्कालाई चुसेर मस्ती मार्ने दिन समाप्त हुन्छ भन्ने तिनले राम्ररी बुझेका छन् ।
यस्तो अप्ठ्यारो परिवेशमा पनि संसद्को बहुमतबाट पछिल्लोपटक बनेको सरकारले शान्तिप्रक्रिया टुङ्ग्याएर थिल्थिलिएको मुलुकलाई केही मात्रामा भए पनि तङ्ग्य्राउने लक्षण देखाउँदै थियो । झट्ट हेर्दा देखिने काम–कुरा खासै छैनन् जस्तो लागे पनि कठिन परिवेशका बाबजुद विगतको तुलनामा भट्टराई सरकारले जनतामा आशा जगाउने कामको थालनी गरिरहेको थियो । सरकारले गर्नुपर्ने काम–कर्तव्य पनि गर्दै सँगसँगै संविधान निर्माणार्थ नयाँ निर्वाचन गराउन सरकार कटिबद्ध देखिएपछि यथास्थितिवादी र पुनरुत्थानका पक्षधरहरूको निद्रा नै बिथोलिन पुग्यो । सत्ताबाट टाढा बस्नै नसक्ने रोगबाट आक्रान्त बनेका काङ्ग्रेस–एमालेजस्ता परम्परावादी दलहरूको असामयिक एकोहोरो विरोधका बाबजुद भट्टराई सरकारले शान्ति र संविधानको पक्षमा खुट्टा दह्रो बनाउन थालेपछि शान्ति र संविधानका विरोधीहरूले आफ्नो अन्तिम कार्ड नै प्रयोग गर्न पुगे । जसअनुसार राष्ट्रपतिरूपी भुत्ते हतियार प्रयोग गरेर यतिबेला देशलाई उनीहरू थप अन्योल र मुठभेडको अवस्थामा धकेल्न उद्यत् देखिएका छन् । अझ सोझै भन्नुपर्दा बेला न कुबेला बजी मेला भनेझैँ सहमतिको सरकार बनाउने नाममा अवैधानिक आह्वान गरेर राष्ट्रपति रामवरण यादवले नेपाली जनताको आशामाथि तुषारापात गरिदिएका छन् ।
हिजो–अस्तिसम्मको कुरा हो, राजा–रजौटाहरूलाई दिनुपर्नेभन्दा बढ्ता मानसम्मान दिए जनताले । त्यतिले पनि उनीहरूलाई पुगेन र दिएकोभन्दा बढ्ता ठालु पल्टेर जथाभावी गर्न थाले । त्यसको सजाय राजा–महाराजा भनिएकाहरूले दह्रोसँग पाइसकेका छन् । उच्चस्थानमा रहेका जोकोही व्यक्तिले यसबाट ठूलो पाठ सिक्नुपर्ने हो, तर सिकेको देखिएन । कुनैबेला भैँसी गोठालोका रूपमा चिनिएका र काकताली परेर राष्ट्रपतिको ओहदा हात लागेका रामवरण यादवले राम्रै गर्लान् भन्ने आमनेपालीले ठानेका थिए । तर, उनी त एघार पुस्ता खाएर पछारिएकाहरूभन्दा ठालु बन्ने धुनमा पो देखिए । कुकुरलाई टाँड भनेझैँ जबर्जस्ती उच्चस्थानमा राखेर के गर्नु, ‘भैँसी गोठाला’को संस्कार र प्रवृत्ति यथावत् रहेछ । के–के न हुन् भन्दाभन्दै उही भैँसी चराउँदाकै मति दर्शाउन थालेको देख्दा जनता हैरान भएका छन् ।
यस्तो अप्ठ्यारो अवस्थामा रहे–भएको सरकारलाई पनि भड्खालोमा पुर्याएर के गर्न खोजेका हुन् राष्ट्रपति महोदयले ? सायद यसको जवाफ उनी स्वयम्लाई पनि थाहा छैन होला । उनको कदमले राजनीतिक समस्या सुल्झाउने होइन झन् उल्झाउने र दलहरूबीचको दूरी बढाउने लक्षण त देखिइसकेको छ । कुन संविधानको कुन धाराअनुसार राष्ट्रपतिले आफूलाई ‘सर्वेसर्वा’ ठानेका हुन् भन्ने बुझाइदिए आमनेपाली धन्य हुने थिए ।
पुराण–शास्त्रमा एउटा कथा छ । स्वर्गका राजा इन्द्रमाथि श्राप परेर उनको स्थानमा नहुषलाई इन्द्रासनमा बसाइएको थियो । सोच्दै नसोचेको स्थान पाएपछि नहुषमा पाप पलायो । स्वर्गको राजगद्दीले मात्र चित्त बुझेन उनको र इन्द्रायणीसमेत चाहियो । काकतालीले नहुषलाई इन्द्रासनमा बस्ने अवसर प्राप्त भए पनि अर्काकी पत्नी इन्द्रायणीमा उनको हक किमार्थ लाग्दैनथ्यो । तर, उनले इन्द्रायणी नभैनहुने दम्भ छोडेनन् । अन्तत: त्यसैको श्राप परेर उनले इन्द्रासनबाट च्यूत भई सर्प बन्नुपर्यो ।
हाम्रा राष्ट्रपति महोदयलाई पुराण–शास्त्रको यो कथाको कति ज्ञान छ कुन्नि ? जसलाई जुन हैसियत दिइएको छ त्यो बुझेर व्यवहार गर्न नजान्दा व्यवहार मिच्नेले मात्र होइन अरूले पनि अनाहकमा दु:ख पाउँछन् भन्ने तत्वबोध राष्ट्रपतिजीलाई नहुनु अपसोचको विषय हो । देश अब फेरि द्वन्द्वको भुमरीमा पर्ने लक्षण देखिँदै छ । बुहारीले भटमास खाएको उखानको अर्थ पनि यतिबेला एकपटक राष्ट्रपति महोदयले केलाइदिने हो कि ?
प्रतिक्रिया