राष्ट्रिय तेक्वान्दोलाई दशरथ रंगशालामा हल

राष्ट्रिय तेक्वान्दोलाई दशरथ रंगशालामा हल


राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय तेक्वान्दो संघ (नेपाल)लाई प्रशिक्षणका लागि हल प्रदान गरेको छ । राखेपले आफ्नो मातहतमा रहेको दशरथ रंगशालामा परिसरमा अवस्थित तेक्वान्दो हल तेक्वान्दो खेलाडीको लागि संघलाई प्रदान गरेको हो ।

राखेपले २०७४ चैत्र ३ गते राष्ट्रिय तेक्वान्दो संघलाई पत्राचार गर्दै राष्ट्रिय तेक्वान्दो संघलाई तेक्वान्दोको निरन्तर प्रशिक्षणको लागि उक्त हल उपलब्ध गराएको हो । यसअधि उक्त हलमा नेपाल तेक्वान्दो संघ अन्तर्गतका खेलाडीहरुले प्रशिक्षण गर्दै आएका थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले हस्ताक्षर गरेको उक्त पत्र राष्ट्रिय संघले हिजो चैत्र ६ गते प्राप्त गरेको थियो । पत्र प्राप्त गरेपछि संघले आज चैत्र ८ गते देखि उक्त हलमा प्रशिक्षण शुभारम्भ गरेको छ ।

प्रशिक्षण शुभारम्भ गर्नुअघि संघ पदाधिकारीहरुले विधिवत रुपमा हलको ताला खोली तेक्वान्दो खेलाडीहरुलाई हलमा प्रबेश गराएका थिए । सो अवसरमा राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोईराला, उपाध्यक्ष तथा बरिष्ट प्रशिक्षक ध्रुबवहादुर गुरुङ, महासचिव राजकुमार कार्की, सचिव राकेश राई, पूर्व तेक्वान्दो राष्ट्रिय खेलाडी रमेश जंग थापा, जनक बर्तोला, प्रशिक्षक चुलाई मुखिया लगायत काठकाण्डौं, भक्तपुर र ललितपुरका खेलाडीको उपस्थिति रहेको थियो ।

राखेपले दरशथ रंगशाला परिसरमा तेक्वान्दो प्रशिक्षणका लागि हल उपलब्ध गराएकोमा संघ अध्यक्ष कोईरालाले राखेपका सदस्यसचिब विष्टलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै राखेपले राष्ट्रिय संघप्रति कुनै भेदभाव नगरी जिम्मेवारीपूर्ण भूमिका निभाएकोमा प्रसंशा समेत गरेका थिए ।

राष्ट्रिय संघ भएर पनि हलको अभावले गर्दा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई प्रशिक्षण गर्न कठिनाई भएको अवस्थामा हल प्राप्त हुनु खुशीको कुरो भएको बताउँदै अव राष्ट्रिय तेक्वान्दोका खेलाडीहरुले यहि हलमा निरन्तर रुपमा प्रशिक्षण गर्ने समेत बताए । सो अवसरमा संघका महासचिव कार्कीले परिषदले संघलाई पत्राचार गरेको पत्र पढेर सुनाएका थिए ।