एउटा अनुसन्धानको सिलसिलामा कात्तिकको तेस्रो हप्ता नवलपरासीको बर्दघाटस्थित सशस्त्र प्रहरी बलको युक्ति महाविद्यालय (तालिम केन्द्र) मा पुगेको बेला फौजीमा आउनुअघि र पछिको अनुभव सुनाउँदै एक महिला प्रहरीले भनेकी थिइन्, ‘देशको बारेमा थाहा भयो, सीमा सुरक्षा कसरी गर्नुपर्छ त्यसको जानकारी मात्र होइन अनुभव नै भयो । पहिला आफू र आफ्नो परिवारबारे मात्रै सोचिन्थ्यो, सशस्त्र प्रहरी बलमा भर्ना भएपछि देशको बारेमा सोच्न थालियो ।’ आफू जन्मिएको घरको साँध–सीमालाई समेत आफ्नो भन्न नपाउने महिलाले देशको सिमानाको रक्षा गर्दै गरेको हेर्दा र मुलुकको कुरा गरेको सुन्दा गर्वले मन भरिनु स्वाभाविक नै हो । लाग्यो— परिवर्तन रातारात हुने कुरा होइन, यस्तै हो…भइरहेकै छ । मुलुक द्वन्द्वमा फसेको बेला गठन भएको सशस्त्र प्रहरी बलले अहिले हुलदङ्गा÷आन्दोलनको नियन्त्रण, सीमा सुरक्षा, विपत् व्यवस्थापनलगायतका काम गर्दै आएको छ । सशस्त्रका हुन् या नेपाल प्रहरी सीमा सुरक्षामा रहने सुरक्षाकर्मीले सीमामा हुने तस्करीको नियन्त्रणदेखि लिएर हुलदङ्गा हुँदै त्यहाँ हुने सुरक्षासम्बन्धी सबै कुरा हेर्नुपर्ने हुन्छ । मुलुकका सबै सीमा क्षेत्रमा सशस्त्रको सुरक्षा छ र त्यहाँ रहने सुरक्षाकर्मी मुलुकको राजस्व बढाउने कार्यमा अहोरात्र खटिने गरेका छन् । तस्करीका सामान सीमावारिपारि गर्नेका अनेक रूपहरू उनीहरूले देख्ने र भोग्ने गरेका छन् । भारतीय सीमा होस् या चीनको सिमाना सुरक्षाकर्मीका अनेक चुनौती छन् । सबैभन्दा ठूलो चुनौती त तस्करहरूबाट नै छ । तस्करको नेटवर्क यति दह्रो हुन्छ कि कुनै पनि बेला जे पनि हुन सक्ने अनेक प्रकारका धम्की आइरहन्छन् । भन्सार नतिरीकन सीमापारिबाट वारि ल्याउने सामानदेखि बाहिर एउटा देखाएर भित्र अर्कै कुरा राखी सीमा कटाउन लागेका सामानहरू हुँदै मानव तस्करीमा समेत उनीहरूले ध्यान पुर्याउनुपर्छ, पुर्याइरहेकै छन् । मुलुकको राजस्व बढाउनमा उनीहरूको हात कति छ भन्ने कुरा थाहा पाउन एकपल्ट सीमामै पुगेर हेरेपछि थाहा हुन्छ । पहिला–पहिला पुरुष सुरक्षाकर्मी मात्रै नाकामा बस्ने गर्थे तर महिला तस्करको वृद्धिसँगै अहिले महिला प्रहरीको उपस्थिति र सक्रियता पनि त्यत्तिकै बढाइएको छ । सीमामा महिला सुरक्षाकर्मी अनिवार्य आवश्यकता बनिसकेका छन् ।
महिला हुन् या पुरुष सीमा क्षेत्रमा ड्युटीमा रहँदा अनेक प्रकारका जोखिमहरूसँग उनीहरूले खेल्नुपर्छ । मान्छेदेखि लागूपदार्थ हुँदै हतियारसम्म ओसारपसार हुने हुँदा अपनाउनुपर्ने सजगताको कुरै नगरौँ, ‘फेस रिडिङ’देखि मनोविज्ञानसम्म बुझ्नुपर्ने हुन्छ । अनेक बहानाबाजीबीच मानिस र वस्तु दुवैको खानतलासी गर्नुपर्ने हुन्छ । यही तिहारको केही दिनअघि कपिलवस्तुको कृष्णनगर नाकाबाट दुईजना महिलाले एउटा ढकीमा सेलरोटी राखेर लैजाँदै रहेछन् । चाडबाडका बेला त्यसमा पनि तिहारमा सेलरोटी देखेपछि नेपाली मन पग्लिने नै भयो, उनीहरूलाई जानुस् भनेर अगाडि बढ्न दिइसकेपछि फेरि अलि शङ्का लागेर रोकेर हेर्दा त सेलरोटीमुनि लागूपदार्थ भेटिएछ । यस्ता घटना सीमा क्षेत्रमा धेरै हुने गर्छन् । महिलालाई सोधपुछ र चेक गर्न महिला प्रहरी खटाइएको छ । ‘डिल’ गर्न गाह्रो पनि महिलाहरूसँगै छ । सामान भित्याउनका लागि अनेक बहानाबाजी गर्ने मात्र होइन साथमा बच्चा ल्याएर प्रहरीलाई छुरी रोप्न लगाउने कामसमेत कतिपय महिला तस्करबाट हुने गर्छ । शरीरमा लुगामाथि लुगा बेर्ने, स्तनलगायतका संवेदनशील अङ्गमा लागूपदार्थलगायतका कुरा लुकाएर ल्याउने, पक्राउ गरेपछि बेहोस भएको नाटक गर्ने मात्र होइन यिनीहरूले कानमा लगाउने, सिक्रीलगायतका गहना लिए भनेर महिला प्रहरीलाई आरोप लगाउनेजस्ता अनेक तिकडम गर्ने गर्छन् । पहिला सीमामा महिला प्रहरीको उपस्थिति नहुँदा झनै गाह्रो थियो । पुरुष सुरक्षाकर्मीले खानतलासी गर्दा यौन दुव्र्यवहारको आरोपसमेत लगाउने गरिएको थियो तर अहिले महिला प्रहरीको उपस्थितिले उक्त आरोप आफैँ पन्छिएको छ । भारतीय सीमा जोगवनी, रूपैडिया, काँकडभिट्टा, सुनौली या कृष्णनगर वा चीनको सीमा तातोपानी तस्करले अपनाउने तरिका करिब उस्तैउस्तै हुन् । भौगोलिक अवस्थाका कारण तातोपानीवरिपरि सामान तस्करीको एउटा तरिका भने फरक छ, तुइनको प्रयोग । बीचमा भोटेकोसी र वरिपरि पहाडैपहाडले घेरिएको तातोपानी नाकाबाट सामान लुकाइछिपाइ तस्करी गर्न नसकेपछि कोसीवारि र पारि तुइनको प्रयोग गरेरसमेत सामानहरू तस्करी हुने गरेको छ । त्यसले गर्दा सीमामा मात्र नभएर त्यस्ता कार्यलाई रोक्नमा समेत सुरक्षाकर्मीले सचेतता अपनाउनुपर्ने अवस्था छ ।
यी अनेक जोखिमका बाबजुद मुलुकको राजस्व बढाइरहेका सुरक्षाकर्मीको अवस्था भने सीमा क्षेत्रमा निकै दयनीय छ । फोहोर, दुर्गन्ध र धुलोले भरिएका भारतीय सीमा क्षेत्रहरूमा मुखमा माक्ससमेत नलगाई बस्दा स्वास्थ्यको जोखिम एकातिर छ भने कतिपय नाकाहरूमा सुरक्षाकर्मीलाई बस्ने ब्यारेकहरूसमेत व्यवस्थित छैनन् । चीनको सिमाना तातोपानीमा त झन् सबै प्रहरीलाई एकै ठाउँ बस्ने स्थानसमेत छैन । सशस्त्र प्रहरी बलका डीएसपीको कमान्डमा ७२ जना प्रहरी त्यहाँ खटिएका छन् जसमा १५ जना महिला छन् । तर, ती सबै प्रहरीका लागि भौतिक संरचना दयनीय छ । सीमासँगै रहेको भोटेकोसीको आधा पुलसम्म नेपालको सीमा छ भने आधापारि चीनको । अधा पुल काट्दा–नकाट्दै उता चिनियाँ सुरक्षाकर्मीको ‘शान’ र उनीहरू उभिनका लागि बनाइएको स्थान नै फरक छ । उनीहरूको तलब, खानपान, सम्मान सबै कुराले गर्दा ‘मोरल’ नै उच्च देखिन्छ । यता हाम्रा सुरक्षाकर्मीको भने न त राति सुत्ने ठाउँ राम्रो छ न त केही पर्यो भने गुडाएर अघि बढ्नलाई गाडी नै गतिलो छ । सुरक्षाकर्मीले धरपकड गरेर उठाएको राजस्वबाट सँगै बस्ने भन्सारका कर्मचारीले सिमानामा बसेर काम गरेबापत सय प्रतिशत भत्ता पाउँछन् तर सुरक्षाकर्मीलाई भने हौसलाका लागि कुनै ‘इन्सेन्टिभ’ छैन । भारतीय हुन या चिनियाँ हाम्रा सुरक्षाकर्मीभन्दा धेरै गुणा बढी तलब उनीहरूको छ । समयसमयमा हुने कामको मूल्याङ्कन र ‘प्रमोशन’ले उनीहरूको आत्मविश्वास नै फरक देखिन्छ । यता हाम्रो भने न त परिवारलाई पाल्न सक्ने तलब छ न त समयमा प्रमोशन, सीमा क्षेत्रमा रहेका भौतिक संरचनाको अवस्था त्यस्तै दयनीय छ । यस्तो अवस्थामा सुरक्षाकर्मीको मनोबल कति उच्च रहला या होला अनुमान गर्न सकिन्छ । रित्तिएको मुलुकको ढिकुटी झनै खाली बनाई सम्पत्ति जम्मा गर्न र वरिपरि सुरक्षाकर्मीको लर्को लगाएर हिँड्नका लागि गृहमन्त्री भएकाहरूले आफूमातहतका सुरक्षाकर्मीको अवस्थाबारे पनि बुझ्ने कोसिस गरे राम्रो हुने थियो ।
प्रतिक्रिया