घरकलहले खुम्चिएको काङ्ग्रेस

घरकलहले खुम्चिएको काङ्ग्रेस


– इन्द्रबहादुर बराल

केही महिनाअघि सम्पन्न भएका प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन परिणामलाई लिएर नेपाली काङ्ग्रेसमा आरोप–प्रत्यारोपले निकै स्थान पाइरहेको अवस्था छ । कम्युनिस्टहरूको फुटको लाभ उठाउँदै लामो समय सत्तारुढ हुन पुगेको काङ्ग्रेसले त्यो वास्तविकतालाई छायामा राखेको छ । यद्यपि त्यो एउटा मात्रै कारण थिएन । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो संसदीय निर्वाचन ०४८ बाहेकका सबै निर्वाचनमा काङ्ग्रेसले कम्युनिस्टहरूको फुट र विभाजनको लाभ लिएको यथार्थलाई छोप्दै हालैको निर्वाचन परिणामको दोष पार्टीनेतृत्वलाई थोपरेर आफू चोखो बन्ने दाउमा पौडेल/सिटौलाले केही तथाकथित युवा नेताहरूलाई उचालिराखेका छन् । यस्ता हर्कतले पार्टी शुद्धीकरण र सुदृढीकरण होइन अझै अँध्यारोतर्फ धकेल्ने निश्चित देखिन्छ ।

काङ्ग्रेसभित्रका चर्चित युवा नेताहरू अधिकांशले अवसर पाएकै थिए । पार्टीको केन्द्रीय सदस्य मात्र नभई नेताकै रूपमा स्थापित थिए र छन् पनि । खोेइ त उनीहरूका अहिलेका जस्ता चर्का स्वर चुनावताका कहाँ विलीन थिए ? प्रथम जनक्रान्तिदेखि गणतन्त्र नेपालको संविधान निर्माण, जारी र संविधानको कार्यान्वयनसम्मको यात्रामा काङ्ग्रेसले निर्वाह गरेको भूमिकाको प्रचारप्रसार प्रभावकारी ढङ्गले किन गर्न नसकेको ? एमालेजस्तो विचारहीन पार्टीले अन्धो र आक्रामक राष्ट्रवादको नारा उरालेर जनताको मन जित्न सक्ने, काङ्ग्रेसले गरेको धेरै युगान्तकारी एवम् क्रान्तिकारी दमको कुनै सन्देश जनसमक्ष पुऱ्याउन नसक्नेहरूको चुरीफुरीलाई ‘दाइलाई सकिनँ भाउजूलाई राख्दिनँ’ भनेजस्तै हो । वाम गठबन्धनसँगै पाँैठेजोरी खेल्न नसके पनि आफ्नै पार्टीभित्र पहलवान बन्नेहरूको हर्कत पनि निकट भविष्यमा देखिने नै छ । यसर्थ पार्टीले चुनाव हार्नुको कारण के–के हुन् भन्ने विषयमा समीक्षा गर्नु अपरिहार्य छ, तर आफ्ना पीडा र कुण्ठामा केन्द्रित भएर गरिने समीक्षाले पार्टीलाई हानिबाहेक अरू केही हुनेछैन । त्यसकारण हार सहन नसक्ने र अवसर नपाएको झोकमा कुण्ठा बोकेर हिँड्नेहरूको चिच्याहटले पार्टीको गुमेको साख उकास्न सक्दैन । यदि इमानदार हुन् भने काङ्ग्रेस पार्टीले सरकारमा रहँदा भए–गरेका उल्लेखनीय उपलब्धिहरूको सन्देश जनसमक्ष पुऱ्याउनुपर्छ ।

काङ्ग्रेसले भन्नुपऱ्यो– एमाले, माओवादीहरूले तथाकथित विद्रोही शक्ति हुँदा के–कस्ता जघन्य घटनाहरू घटाए र काङ्ग्रेस विद्रोही शक्ति हुँदा के ग¥यो । सबैलाई विदितै छ, तत्कालीन मालेले ०२८ सालमा झापा विद्रोहमा के गरे । त्यस्तै विद्रोहको नाममा माओवादीले कक्षाकोठामा पढाइरहेका शिक्षक, मृत्यु संस्कारमा बसेका किरियापुत्री आदिलाई निर्मम ढङ्गले प्राण लिए । तर, नेपाली काङ्ग्रेसले विद्रोह गर्दा प्रजातन्त्रको अपहरण गर्ने नाइके स्व. राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गऱ्यो । बम आक्रमणमा परे पनि महेन्द्र बाँच्न त सफल भए, तर बम विस्फोटनमा क्षति भएको गाडी अझै छाउनी म्युजियम छँदै छ । अब भन्नुहोस् कम्युनिस्टहरूको विद्रोहको रूप र काङ्ग्रेसको विद्रोहमा के फरक छ ? यो विषय अत्यन्त मननयोग्य छ ।

काङ्ग्रेसमा धेरै प्रखर एवम् स्थापित धेरै नेताहरूले चुनाव हारेका छन्, नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महतबीचको व्यक्तित्व टकरावले सधैँ त्यहाँका कर्यकर्तालाई पिरोलेको छ भने रामचन्द्र र गोविन्दराजबीचको टक्करले त्यस्तै बनाएको छ । तर, दोष पार्टी सभापतिलाई थोपरेर आफू चोखो बन्ने दाउले काङ्ग्रेसले गन्तव्य सुनिश्चित गर्दैन । त्यस्ता धेरै ज्वलन्त उदाहरण छन् काङ्ग्रेसमा ।

मौकामा हीरा फोड्नुपर्छ बेमौकामा कौडी पनि चोर्नुहुँदैन भन्ने बुढापाकाको भनाइ सान्दर्भिक छ । चुनावको बेलामा मुसा भएर बस्ने अहिले साँढे भएर डुक्रँदै हिँड्नुको कुनै तुक छैन । तथाकथित युवा नेताहरूको हैसियत र हर्कत सबैले देखिसकेका छन् । त्यसकारण अवसर पाउने र नपाउने, पाएर पनि प्रतिस्पर्धामा खरो उत्रन नसक्नेहरूबाट पनि पार्टीले त्राण पाउलाजस्तो छैन । नेपाली काङ्ग्रेसभित्र त्यस्ता धेरै त्याग, तपस्या र निष्ठाका, धनीहरू छन् जो अवसर नपाई दबिएर रहेका छन् । तिनीहरूकै बलमा अहिलेका नेताहरू चाहे बूढा हुन् या युवा बुर्कुसी मारिरहेका छन् भन्दा कसैप्रति अन्याय नहोला । चुनावको बेलामा जनतालाई कोसेली लिएर जानुपर्नेहरू रित्तो हात जाँदा यो हालत भएको हो । नेपाली काङ्ग्रेसले प्रजातन्त्रको बहाली मात्रै होइन प्रथम जननिर्वाचित काङ्ग्रेस सरकारले बिर्ता उन्मूलन, राजा रजौटाको समाप्ति र वन–जङ्गलको राष्ट्रियकरण गरेको कुरा खोइ जनसमक्ष ल्याएको ? बिर्ता, राजारजौटा र वन–जङ्गलको बारेमा के–कस्तो अवस्था थियो त्यसको उचित प्रशिक्षण अहिलेको नयाँ पुस्तालाई दिन आवश्यक छ । राजनीतिक आन्दोलनको त सबैलाई अवगत नै छ, तर ०४८ देखि पार्टीको एउटा तप्कामाथि अन्तर्घातका कला कर्तुतबारे बोल्ने कसैको हिम्मत छ ? अहिले पार्टी नेतृत्वमाथि जाइलाग्नेहरू हिजो कुन दुलामा थिए ? सन्तनेता किसुनजीमाथि जुन ढङ्गले २–२ पटक अन्तर्घात गरेर हटाइयो अनि २–२ जना सांसदलाई लुकाएर आफ्नै दलका तत्कालीन अवस्थाका युवा नेता एवम् प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट कसले वञ्चित गरायो ? यो कुरा त अहिले पार्टीमा बहुचर्चित युवा नेताहरूलाई चेत होला नि ?

त्यसकारण पार्टीभित्रका विगतका घरकलहको प्रभाव अझै पनि सकिएको रहेनछ भन्ने बुझिन कठिन छैन । यदि पार्टीका नेताहरूले चुनावमा हारकै कारणले पद त्याग्नुपर्ने हो भने हार्ने जति सबैले छोड्नुपऱ्यो । जित्नेले त छोड्नुपर्ने कुनै कारण नै छैन । काङ्ग्रेसमा धेरै प्रखर एवम् स्थापित धेरै नेताहरूले चुनाव हारेका छन्, नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महतबीचको व्यक्तित्व टकरावले सधैँ त्यहाँका कर्यकर्तालाई पिरोलेको छ भने रामचन्द्र र गोविन्दराजबीचको टक्करले त्यस्तै बनाएको छ । तर, दोष पार्टी सभापतिलाई थोपरेर आफू चोखो बन्ने दाउले काङ्ग्रेसले गन्तव्य सुनिश्चित गर्दैन । त्यस्ता धेरै ज्वलन्त उदाहरण छन् काङ्ग्रेसमा । एउटै डुङ्गामा यात्रा गर्ने र बीचको जलयात्रामा डुङ्गामा प्वाल पार्ने काम भएको छ, अनि अरूलाई दोष दिने । मान्छेपिच्छे नाङ्ले पसलेजस्तो गुट–उपगुट बनाउने र पार्टी कमजोर बनाउने अनि अरूतिर औँला ठड्याउने ? यसर्थ जबसम्म घरकलहको अन्त्य हुँदैन तबसम्म काङ्ग्रेस उँभो लाग्दैन । पार्टीसभापतिकोे तेजोबध गरेर पार्टीलाई पुनः जारगरण गराउँछौँ भन्नु फगत दिवासपना मात्रै हो ।

यस्ता हर्कतले विरासतवादीहरूको सपना पूरा त होला, तर पार्टीको हैसियत के हुन्छ अहिले नै ठोकुवा गर्न त नसकिएला । तर, अनुमान गर्न कुनै गाह्रो कुरा होइन । त्यसकारण विरासतवादीभन्दा पनि कर्मवादी हुनुपऱ्यो । कर्म गरेर पार्टीमा विस्थापित हुनुपऱ्यो कसैको छोरा, छोरी वा श्रीमती भएकै कारणले पार्टीमा स्थापित हुँदै जाने हो भने जनसाधारण काङ्ग्रेसमा किन लाग्ने भन्ने प्रश्न खडा हुन्छ । यसर्थ, घरकलह र वाम गठबन्धनले नै काङ्ग्रेसको साइज खुम्चिएको यथार्थ मनन गर्दै निकट केही दिनमै हुन लागेको काङ्ग्रेसको केन्द्रीय समितिको समीक्षा बैठकको ध्यान केन्द्रित भएमा अवश्य पनि चर्चित युवा नेताहरू र नेपाली काङ्ग्रेसको भविष्य सुनिश्चित हुने देखिन्छ । यही विषयमा सम्पूर्ण शक्ति खर्चेको अवस्थामा नेपाली काङ्ग्रेसप्रति औँला ठड्याउने हिम्मत कसैमा हुनेछैन । यसैमा काङ्ग्रेसको उज्ज्वल भविष्य छ । अन्यथा काङ्ग्रेसको घरकलहले पार्टीको आकार खुम्चेको खुम्चियै रहनेछ ।