राखेपद्वारा खेलकुद मन्त्री सुनारको स्वागत

राखेपद्वारा खेलकुद मन्त्री सुनारको स्वागत


राष्ट्रिय खेलकुद परिषदले परिषदका पदेन अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारलाई एक कार्यक्रमका बीच बधाई, स्वागत तथा शुभकामना ब्यक्त गरेको छ ।

मन्त्री सुनारलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सदस्य सचिव केशव कुमार बिष्ट, कोषाध्यक्ष शैलेस कर्माचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरू, कर्मचारीहरू र राष्ट्रिय संघका पदाधिकारीहरू लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री सुनारले नागरिकको स्वास्थ्य र मानसिक विकाका लागि खेलकुद क्षेत्रको निकै महत्व रहेकोले सिंगो राष्ट्र र नागरिक स्वास्थ्यको लागि खेलकुद क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनुपर्ने बताए ।

मन्त्री सुनारले विगतका नकारात्मक कुराहरूबाट पाठ सिक्दै सकारात्मक कुराहरूलाई संस्थागत गरेर खेलकुद क्षेत्रको विकासमा अगाडी बढ्नु पर्ने तर्क गरे । युवा तथा खेलकुद मन्त्रालय खेलाडी तथा खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने खालका कार्यहरू गर्न र ल्याउन अगाडी बढि सकेको बताएका थिए ।
राष्ट्र निर्माणको महान अभियानमा खेलकुद क्षेत्र पनि लाग्नु पर्ने भन्दै राष्ट्रको गरिमा र गौरव रहेको ते¥हौं सागको जुन जिम्मेवारी पाइएको छ सबैले सामुहिक रुपमा संकल्प गर्दै त्यसलाई समयमानै सम्पन्न गर्ने तर्फ अगाडी बढ्न निर्देशन दिए । खेलकुद विकासका लागि भौतिक पूर्वाधारलाई अगाडी बढाउनु पर्ने भन्दै खेलकुद विकासका लागि कुनै किसिमको कसर बाँकी नराख्ने उनले बताए ।

खेलकुद मन्त्रीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले आज निर्णय गर्ने, कार्य गर्ने, योजना बनाउने र बजेट प्रदान गर्ने सवै क्षेत्रमा पहुंच भएकोले आगामी बर्ष खेलकुद क्षेत्रलाई स्वर्ण युगमा पु¥याउन अगाडी बढ्ने अभिव्यक्ति दिए ।

खेलकुद क्षेत्रको विकासमा बजेटको अपुग रहेको भन्दै पर्याप्त बजेट प्राप्त गर्नेमा आफु विश्वस्त रहेको बताए । पूर्वाधारका कारण ते¥हौ सागलाई असर नपार्ने भन्दै सरकारको बजेट, इच्छा शक्ति र खेलकुद भित्रका एकता बद्धताले मात्र प्रभावित हुने बताए । यसका लागि आफु सजग रहेको पनि बताए ।

बजेट अभाव नभएमा आठौं राष्ट्रिय खेलकुद समयमानै सम्पन्न गर्दै नयाँ ईतिहास रच्ने बताए । उनले खेलकुदलाई नयाँ ढंगले अगाडि बढाउन खेलकुद ऐन पनि परिमार्जन गर्नु पर्ने भएकाले बृहत छलफलको आवश्यकता रहेको तर्क गरे ।

कार्यक्रममा राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सम्पूर्ण राष्ट्रिय खेल संघका तर्फबाट माननिय सांसद एवं कबड्डी संघका अध्यक्ष तुलसा थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेलले आआफ्ना क्षेत्रमा भएका कमी–कमजोरी तथा आवश्यकतालाई मन्त्री समक्ष प्रस्तुत गरेका थिए ।