राष्ट्रिय तेक्वान्दो संघ–नेपालले पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी रमेशजंग थापा (काजी) लाई संघको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । संघले थापाले तेक्वान्दो खेलको विकास र विस्तारको लागि स्वदेश र विदेशमा वसेर गरेको योगदानको कदर गर्दै संघको केन्द्रीय सदस्यमा मनोनित गरेको संघका महासचिव राजकुमार कार्कीले जानकारी गराएका छन् ।
राष्ट्रिय तेक्वान्दो संघका संरक्षक तथा तेक्वान्दोका संस्थापक मध्यका एक प्रदीप जोशी (टेकराज) प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा संघले रमेशजंग थापालाई सम्मान गर्नुको साथै ‘पाँचौं डान’ पनि प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जोशी र पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी जनक गर्तौलाले थापालाई उक्त सम्मान प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रिय तेक्वान्दो संघका पदाधिकारी र खेलाडीहरुको उपस्थिति रहेको थियो ।
थापा राखेपका बरिष्ट प्रशिक्षक ध्रुबवहादुर गुरुङद्वारा प्रशिक्षित नेपाली सेना श्री शम्शेर दल गणका चौथो व्याजका तेक्वान्दो खेलाडी हुन् । नेपाली सेनामा १० बर्ष कार्यरत रहँदा थापाले उत्कृष्ट प्रदर्शन गर्दै खेलकुदमा सेनाको नाम रोशन गर्न सफल भएका थिए । आफ्नो गणलाई प्रथम बनाउन थापाले गरेको उत्कृष्ट प्रदर्शनको चर्चा अहिले पनि सेनामा गरिन्छ । उनको यहि उत्कृष्ट प्रदर्शनका कारण सेनाले थापालाई युएन मिसनको लागि सिफारिस गरेको थियो ।
२०४५ सालदेखि त्रिभुबन आर्मी क्लबमा तेक्वान्दो खेलाडीको रुपमा भित्रिएका थापाले सेनाको किङ्स ब्यानर प्रतियोगितामा सर्वोकृष्ट खेलाडीको उपाधि समेत जितेका थिए । त्यस्तै सोहि साल युवा महोत्सव र बुटवलमा आयोजना भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका थिए । त्यतिबेला उनले पाएको सफलता सेनाका अन्य खेलाडीको लागि प्रेरणाको स्रोत बनेको थियो ।
संघको केन्द्रीय सदस्य, पाँच डान र सम्मान प्राप्त गरेपछि थापाले अहिले आफुले तेक्वान्दोमा गरेको लगानी र सुकाएको रगत पसिनाको कदर भएको बताए । संघले आफुलाई ठूलो सम्मानका साथै केन्द्रीय सदस्यमा समेत मनोनित गरेकोमा थापाले संघलाई धन्यवाद दिएका थिए । साथै आफुले यो गुनको बदला गुन लगाएर तिर्ने सो अवसरमा प्रतिबद्धता जाहेर गरे । विदेशमा कार्यरत भएपनि तेक्वान्दो खेलको बृद्धि विकासमा आफुले कुनै कसर बाँकि नराख्ने थापाले बताए । थापा विगत दुई दसकदेखि मकाउमा पुलिसमा अफिसरमा कार्यरत छन् ।

प्रतिक्रिया