छविलाल बगाले
तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ घोटाला प्रकरण नेपालको बैंकिङ इतिहासमा अहिलेसम्मकै ठूलो घटना हो । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंक घोटाला प्रकरणको छानविन कार्य तीब्र गतिमा गरिरहेको छ ।
चार बर्षअघि तीनवटा वित्तीय संस्था मिलेर बनेको एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसहितका पदाधिकारीहरुले बैंकको डेढ अर्ब रकम घोटाला गरेका हुन् ।
यो घोटालासँगै नेपालको बैंकिङ क्षेत्रमा अभूतपूर्व तरंग उत्पन्न भएको छ । २०७० सालमा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मर्ज भएर एपेक्स डेभलपमेन्ट बैंकको नाममा कारोबार शुरु भयो ।
बैंकिङ क्षेत्रलाई सधैं ऋणात्मक बाटो हिडाउन चाहने तत्कालीन रारा विकास बैंकका अध्यक्ष विष्णुप्रसाद धितालले ब्यक्तिगत लाभका कारण ८० प्रतिशत खराब कर्जा बोकेको रोयल मर्चेन्टसँग मर्जर गराएका थिए । खराब कर्जा बोकेको बैंकलाई मर्ज गर्नु नै अनियमितताको संकेत भएको तत्कालीन बैंकको कार्यसमितिका सदस्यहरु बताउँछन् ।
एपेक्स बनेपछि अनियमित कर्जा २०३ करोड पुगेको थियो । तर, त्यो सबै लुकाएर राष्ट्र बैंकले प्रत्यक्ष एपेक्सलाई एनसिसीमा मर्ज गर्न अनुमति प्रदान गरेको थियो । एनसिसीसँग मर्ज हुनुभन्दा पहिले नै बैकमा १ अर्ब ५१ करोडको भ्रष्टाचार भएको तथ्य सार्बजनिक भएपनि नेपाल राष्ट्र बैंकले तत्काल छानविन भने गर्न सकेन् ।
एपेक्स र एनसिसी मर्ज भएपछि बैंक कार्यसमितिमा वैमनस्यता बढेको र अनियमितताको तथ्य छताछुल्ल रुपमा बाहिर आएपछि नेपाल राष्ट्र बैंकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई छानविनका लागि अनुमति दिएको सिआइबीका प्रमुख पुष्कर काकीले जानकारी दिए । ‘यो घटना नेपाल प्रहरी र सिआइबीमा आएको अहिलेसम्मकै ठूलो घोटाला प्रकरण हो ।’ उनले भने, ‘सत्य तथ्य बाहिर ल्याउनका लागि हामीहरुले सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौं ।’
प्रहरीले डेढ अर्ब रुपैयाँ घोटाला गरेको अभियोगमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष धितालसहित सञ्चालक तथा कर्मचारी गरी १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सिआइबीका प्रमुख कार्कीका अनुसार घटना ज्यादै ‘कम्प्लेक्स’र जटिल भएकोले प्राप्त प्रमाणहरुलाई सुक्ष्म रुपमा अध्ययन गर्न आवश्यक छ । ‘बैंक खोल्न २ अर्ब रुपैयाँ लाग्छ । तर बैंकका डेढ अर्ब रुपैँयाँ घोटाला भएको छ ।’ बैंकका तत्कालिन अध्यक्ष धितालसहितका पदाधिकारीहरुले बैंकको निति नियम र कानुनलाई लत्याएर ठूलो रकम घोटाला गर्नु गम्भिर अपराध भएको हो ।’
सिआइबीले १२८ फाइलको अध्ययन कार्यलाई तिब्रता दिइरहेको छ । प्रहरीका अनुसार उनीहरुले कृत्रिम ऋणी खडा गरि ऋण प्रवाह गरेको, भिरालो पाखोबारी र कमशल जमिन धितो राखेर ऋण प्रवाह गरेको खुलेको छ । त्यस्तै ऋणीको नक्कली आयस्रोत बनाएर पनि ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया