लण्डन। पश्चिम लण्डनस्थित भेन्यु फाइब रेष्टुरेण्टमा आइतबार एक समारोहबीच नेपालब्रिटेन डटकमको सातौं वार्षिकोत्सब मनाइयो। उक्त अवसरमा आयोजित ‘नेपाली मिडियाका सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख अतिथि बेलायतकालागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसेले प्रवासमा बसेर पनि नेपाली समुदायलाई सुसूचित गर्न नेपाली मिडियाले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्नुभयो। उहांले एसियाली तथा ब्रिटिश समुदायलाई पनि लक्षित गरेर अघि बढेमा नेपाली सन्चारमाध्यमहरुको दीगोपनामा समस्या नआउने विश्वास व्यक्त गर्नुभयो। उहाँले समुदाय विभाजित भएको अवस्थामा सबैलाई समेटेर लग्ने जिम्मेवारी पनि मिडियाको नै भएको बताउनुभयो।
विशिष्ट अतिथि प्राध्यापक डा सूर्य सुवेदीले पत्रकारितालाई समाजसेवा र व्यवसायको मिश्रण भन्नुहुँदै पत्रकारिता निष्पक्ष हुनुपर्छ भन्ने छैन, तर खोजमूलक चाहिं पक्कै हुनुपर्छ भन्नुभयो। उहाँले कुनै पनि व्यक्तिको चरित्रमा आँच आउने खालको समाचार आएमा सम्बन्धित व्यक्तिलाई सम्पर्क गरेर र उनको भनाइ राखेर मात्रै समाचार प्रकाशित गर्न आग्रह गर्नुभयो। पत्रकार हुनकालागि अरु बढी योग्यता चाहिन्छ, कलम र लेखनबाट मात्रै पत्रकारले समाजमा सम्मान आर्जन गर्न सक्छन्, उहाँले भन्नुभयो। प्रा सुवेदीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुले ब्रिटिस प्रेस कानुनबारे जानकारी राख्नुपर्ने सुझाव पनि दिनुभयो।
गैरआवासीय नेपाली संघ युकेका नवनिर्वाचित अध्यक्ष योगेन क्षेत्रीले मुर्खले मात्रै पत्रकारहरुलाई धम्की दिने बताउँदै तथ्य र सत्यमा आधारित भएर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नुभयो। गैरआवासीय नेपाली संघ युकेका निवर्तमान अध्यक्ष कुल आचार्यले पनि कसैको मर्यादामा आँच आउने खालका शब्दहरु समाचारमा प्रयोग नगर्न र सही तथ्य बुझेर मात्र समाचार लेख्न अनुरोध गर्नुभयो।
यसअघि बीबीसी नेपाली सेवाका वरिष्ठ पत्रकार सुमन खरेलद्वारा सन्चालित छलफलमा भाग लिंदै वरिष्ठ पत्रकार गोविन्द बेलबासेले सन् २००४ मा नेपाली सन्देश साप्ताहिक शुरु गर्दा भोग्नुपरेका कठिनाइहरुको चर्चा गर्नुभयो। उहाँले असल भन्दा ठूलो मानिस बनाउनेतर्फ मिडियाले भूमिका निर्वाह गरेको हो कि भन्ने प्रश्न गर्दै मिडियाले आफ्नो भूमिकाको पुनरावलोकन गर्नुपर्ने बताउनुभयो। बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले चर्चामा आउने लालसा र सीमित ज्ञानले पत्रकारिता क्षेत्र आलोचित हुन पुगेको बताउनुहुँदै सम्बन्धित सबै पक्षको भनाइ राखेर मात्र समाचार लेख्न सुझाव दिनुभयो।
एभरेष्ट टाइम्सका लीलामान शेरपुन्जाले बेलायतमा पत्रकारिता गर्न सजीलो नरहेको र पटक पटक धम्कीपनि व्यहोर्नुपरेको स्मरण गर्नुभयो। नमस्ते युरोप टेलिभिजनका राजेन्द्र भट्टले पत्रकारितामा इमान्दारिताको खाँचो रहेको र समाजमा गरिएका राम्रा कामहरुको पनि समाचार बनाउन आवश्यक रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघ युके शाखाका महासचिव नरेश खपाङ्गीले बेलायतस्थित नेपाली पत्रकारितालाई सहभागितामूलक र समुदायमा आधारित बनाउनुपर्ने आवश्यकता रहेको बताउनुहुँदै अब विस्तारै विद्युतीय माध्यममा जानुपर्ने अवस्था आउनलागेको हो कि जस्तो आफुलाई लागेको बताउनुभयो। उहाँले नयाँ पुस्ताकालागि नेपाली मिडियाको जिम्मेवारी के हुनुपर्छ भन्ने विषयमा छलफल आवश्यक रहेको धारणा पनि राख्नुभयो।
युकेबाट सन्चालित नेपाली टिभिका एकजना संस्थापक बिजय थापाले प्रवासमा रहेका मिडियामा लगानीको सम्भावना अँझै रहेको बताउनुभयो। त्यस्तै सोलिसिटर राजु थापाले कुनै लेख वा समाचारले गलत सूचना दिएको वा चरित्र हत्या गरेकेा भन्ने लागेमा पीडित पक्षले बेलायतको उच्च अदालतमा मुद्दा दायर गर्न सक्ने बताउनुभयो। तर उहाँले अनुसन्धान गरेर तथ्यमा आधारित समाचार प्रकाशन गर्न मिडिया डराउनु नपर्ने सुझाव पनि दिनुभयो। छलफलका क्रममा शिव भण्डारी, प्रमोद टण्डन, गोपाल गुरुङलगायतका सहभागीहरुले विना पूर्वाग्रह, मर्यादित ढँगले समाचार लेख्न सन्चारकर्मीहरुलाई आग्रह गर्नुभएको थियो।
छलफलमा व्यक्त भावनाहरुलाई समेटेर तयार पारिएको सात बुँदे लण्डन घोषणापत्र पत्रकार भगीरथ योगीले पढेर सुनाउनुभएको थियो। कार्यक्रमको संचालन सुजन पराजुलीले गर्नु भएको थियो ।
सोही अवसरमा नेपाल ब्रिटेन डटकमद्वारा सन् २०१३ मा छनोट गरिएका दशजना ‘मिडिया पर्सनाल्टी अफ दि इएर’ व्यक्तित्वहरुलाई राजदूत चालिसे, नेपाल ब्रिटेन डटकमका अध्यक्ष चिरन्जीवी ढकाल तथा सल्लाहकार विश्व आदर्श पण्डितले सम्मान गर्नुभएको थियो। बेलायतस्थित नेपाली समुदाय तथा नेपालमा गरेको योगदान तथा मिडियामा उपस्थितिका आधारमा छनोट गरिएका गैरआवासीय नेपाली संघ युकेका निवर्तमान अध्यक्ष कुल आचार्य, हेल्पनेपाल नेटवर्क युकेका सल्लाहकार सूर्य गुरुङ, सहारा युके एफसिका नवीन गुरुङ, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, समाजसेवी टुका क्षेत्री स्याण्डवेल, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान, मगर संघ युकेका अध्यक्ष दूत पुन, नेटफक्स लिमिटेडका निर्देशक बिक्रम जोशी, गुल्मी समाज युकेका अध्यक्ष अर्जुन गौतम तथा युवा ब्लगर लेक्स लिम्बुलाई सम्मानित गरिएको थियो।
नेपालब्रिटेन डटकमका अध्यक्ष चिरन्जीवी ढकालको अध्यक्षतामा आयोजित समारोहमा विश्व आदर्श पण्डितले स्वागत मन्तव्य व्यक्तगर्नुभएको थियो। उक्त अवसरमा बोल्दै ढकालले गत बर्ष नेपाल ब्रिटेन डटकमको वार्षिक अवसर पारेर हेल्प नेपाल नेटवर्कले खडा गर्न लागेको रु दश करोडको परोपकारी कोषकालागि झण्डै बीस लाख रुपियाँ संकलन गरेर र हस्तान्तरण गरेको र यस वर्ष क्यान्सर रोगबाट पीडित डा चित्र वाग्लेको उपचारमा सघाउन झण्डै दुईलाख रुपियाँ संकलन गरिएको बताउनुभयो। उहाँले छिट्टै उक्त रकम नेपाल पठाउने व्यवस्था मिलाइने पनि जनाउनुभयो।
नेपालब्रिटेन डटकमका नवनियुक्त निर्देशक कमल भण्डारीले आगामी दिनमा नेपालब्रिटेन डटकमलाई अरु व्यावसायिक, मर्यादित बनाउँदै भिडियो समाचारहरु राख्न पनि आफुहरुले प्रयास गर्ने बताउनुभयो।
नेपालब्रिटेन डटकमका प्रधानसम्पादक चिरन शर्माले गएको सात वर्षमा अनलाईन पत्रिकालाई जोगाइराख्न सघाउनुहुने लगानीकर्ता, विज्ञापनदाता, पाठक, शुभेच्छुक तथा सहकर्मीहरुलाई हार्दिक धन्यवाद दिनुभएको थियो। सो अवसरमा विज्ञापनदाताहरुलाई सम्मान गरिनुकासाथै रात्रीभोजको पनि आयोजना गरिएको थियो।
नेपाली मिडियाका चुनौती र सम्भावना बिषयक गोष्ठीद्वारा जारी लण्डन घोषणा-पत्र पूर्णापाठ
१. यो गोष्ठीमा उपस्थित बेलायतमा कार्यरत नेपाली सञ्चारकमीहर्रु, बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, प्रा डा सुर्य सवेदी, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतले सार्वजनिक गर्नुभएको विचारलाई उच्च सम्मान गर्दै उहाँहरुप्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछ ।
२. गोष्ठीमा उपस्थित संचारकर्मीद्वारा व्यक्त बिचारअनुसार बेलायतस्थित नेपाली मिडियामा कार्यरत पत्रकारहरुलाई सामाजिक, आर्थिक तथा ब्यवहारिक चुनौती रहेको ठहर गर्दै आगामी दिनमा नेपाली सञ्चारकमी तथा नेपाली समदाय एक ढिक्का भएर ती चुनौतीको सामना गर्नुपर्ने ठहर गर्दछ ।
३. नेपाली सञ्चार क्षेत्रलाई अझ व्यावसायिक बनाउन बेलायतस्थित नेपाली ब्यवसायीहरुलाई सञ्चार क्षेत्रमा थप लगानी बढाउने यो गोष्ठी आहवान गर्दछ ।
४. हाल सञ्चालनमा रहेका नेपाली संचार माध्यमहरु अनलाइन, टेलिभिजन तथा पत्रपत्रिकाको स्थायित्वका लागि नियमित रुपमा बिज्ञापन प्रदान गरी सहयोग गरी दिन सामाजिक संघ संस्थालगायत ब्यवसायीहरुमा अनुरोध गर्दै विज्ञापन शुल्क समयमै भुक्तानी गरी दिनु हुन यो गोष्टी जोडदार माग गर्दछ ।
५. बेलायतबासी नेपाली समूदाय र नेपाली सञ्चार क्षेत्रको सम्बन्ध नङ र मासुजस्तै भएकाले आगामी दिनमा सामाजिक संघसंस्थालगायत सबै पक्षसँग मिलेर काम गर्ने यो गोष्ठी प्रतिबद्धता जाहेर गर्दछ ।
६. बेलायतमा हाल कार्यरत कतिपय संचारकर्मीहरुले उचित पारिश्रमिक नपाएको ठहर गर्दै सम्बन्धित निकायलाई श्रमजीवी पत्रकारको हितमा काम गर्न यो गोष्ठी आग्रह गर्दछ ।
७ पत्रकारिताका पचलित आचारसंमहिताको पालना गरदै खोजमलक समाचारहरुलाइ बढावा दिन र विभिन्न जातजाति, भाषाभाषी रहेको बेलायत स्थित नेपाली समुदायलाइ एकताको डोरीमा बांध्न अरु जिम्मेवार भएर काम गर्न पनि सबै संचारकर्मीहरुमा यो गोष्ठी आहवान गर्दछ ।
धन्यवाद ।
प्रतिक्रिया