खेल पर्यटन विकास गर्न ‘क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता

खेल पर्यटन विकास गर्न ‘क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता


‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘दोस्रो झिल्टुङ क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता आइतबार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सम्पन्न भएको छ ।

खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लियो क्लब अफ नुवाकोट परोपकारलगायतका संस्थाको संयुक्त पहलमा आयोजना गरिएको प्रतियोगिताको दुई विधामा महिला र पुरुषको भिन्दाभिन्दै समूह बनाएर दौड प्रतिस्पर्धा गराइएको हो ।

कोल्पुटारबाट माझगाउँ हुँदै पुनःकोल्पुटार पुग्ने १३.४ किलोमिटर दूरीको पुरुषतर्फ भूमिराज राई प्रथम, किरण बोगटी दोस्रो र विवेक राई तेस्रो हुनुभयो । महिलातर्फ कान्छीमाँया कोजु पहिलो, पुष्पा भण्डारी दोस्रो र राजपुरा पछाई तेस्रो भएको प्रतियोगिता व्यवस्थापक सुदाम लामिछानले जानकारी दिए ।

दौडमा उत्कृष्ट पहिलोलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रोलाई रु पाँच हजारसहित मेडल र प्रमाणपत्र १०० वर्षीय ज्येष्ठ नागरिक यज्ञप्रसाद रिमालले प्रदान गरे । प्रतियोगितामा महिला र पुरुष गरी २९ जनाको सहभागिता रहेको थियो ।

यसैगरी, ‘क्रसकन्ट्री रन फर फन’ प्रतियोगिताअन्तर्गत २९ जना सम्मिलित ४.ं५ किमी प्रतियोगितामा पुरुषतर्फ सन्तोष योगी प्रथम, दिनेश बोगटी दोस्रो र सुवास थापा तेस्रो भए ।

यसैगरी, महिलातर्फ हुमी बुढामगर पहिलो, काजल विष्ट दोस्रो र लक्ष्मी थापा तेस्रो भएको कार्यक्रम संयोजक मोहन नेपालले जानकारी दिए । राससका अनुसार स्थानीय खेलाडी तथा राष्ट्रियस्तरका धावक सम्मिलित प्रतियोगिताले यहाँको पर्यटकीयस्थलको प्रवद्र्धन, खेलक्षेत्रको विकास तथा शारीरिक रुपमा स्फूर्ति जगाउन सहयोग पुगेको आयोजकले जनाएको छ ।