भारतीय राजदूतावास काठमाडौले ‘क्लक बी बिजनेस इनोभेसन्स’सँगको सहकार्यमा ‘इन्टरनेशनल इन्ट्रप्रेनरशीप कन्क्लेभ–कनेक्ट–इन’ आयोजना गरेको छ । कार्यक्रममा नेपाल र भारतबाट उद्यमी, लगानीकर्ता, इन्क्यूवेटर, सल्लाहकार र स्टार्ट अप इकोसिस्टम कर्ताहरूको सहभागिता रहेको थियो ।
गत शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य रह्यो । नेपालमा मौलाइरहेको उद्यमशील व्यापार वातावरण र त्यसलाई भारतसँग समाहित गर्न सकिने विषयमा अर्थमनत्री खतिवडाले दिनुभएको मन्तव्यले कार्यक्रमलाई अगाडि बढाउने प्रासङ्गिक वातावरण निर्माण गरेको आभास दिलाएको सहभागीहरूको भनाई छ ।

तीन सय जना युवा उद्यमीहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई भारततर्फका सात जना र नेपालतर्फका आठ जना लगानीकर्ताले सम्बोधन गर्नुभयो । भ्रमणमा रहेको भारतीय सिइओ र लगानीकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै नेपाल र भारतको इकोसिस्टम उद्यमशीलतालाई समाहित गर्ने विषयमा आफ्ना विचार व्यक्त गरे ।
सात उद्यमशील भेटघाट, सातदिनको सहर भ्रमण, दश क्याम्पसस्तरीय गतिविधि, चार दिनको कार्यशाला र बृहत् सामाजिक सञ्जाल अभियानमार्फत भारतीय राजदूतावास र ‘क्लक बी’ले नेपालका पाँच लाख उद्यमशील आकांक्षीहरूसम्म पहुँच राखेको दाबी गरिएको छ । यस्तै, ६ सयभन्दा बढी उद्यमीहरूले उक्त सम्मेलनमा सहभागिताका लागि दर्ता गरेकोमा तीन सय जनाले मात्र सहभागी हुने अवसर प्राप्त गरेको बताइन्छ । कार्यक्रममा ३० भन्दा बढी स्टार्ट–अपले लगानी आकर्षण गर्नेतर्फ चासो व्यक्त गरे भने १९ वटा अडिसनका लागि चुनिए ।
तीमध्ये पनि पाँच स्टार्ट–अपले आफ्नो व्यापारलाई अन्तिम चरणमा प्रवेश गराए । ती संस्थाहरू मेट्रो तरकारी, फर्निचर हब, कुल्लाब, माई अर्थ इको ब्याग र फोहोर बाट मोहोर रहेका छन् ।

यस कार्यक्रम तथा अन्य परामर्श तथा अडिसनका कार्यक्रमले भारत र नेपालका युवा उद्यमशील आकांक्षीहरूलाई जोड्ने एउटा नमुना मञ्च प्रदान गरेको आयोजक पक्षको दाबी छ । नेपाल र भारतका पत्रपत्रिका, समाचार वेवसाइट, टिभी, सामाजिक सञ्जाल लगायतका सञ्चारमाध्यमहरूमा यी गतिविधिहरूको व्यापक चर्चा भएको छ । नेपाली तथा भारतीय दुवै सञ्चारमाध्यमहरूले यस कार्यक्रमसम्बन्धी कोण–कोणबाट समाचार विवरण प्रसारण गरेका थिए ।
दुवै देशका उद्यमीहरूलाई एकै ठाउँमा ल्याएर आफ्ना नवीन तथा रचनात्मक विचारहरू आदानप्रदान गर्नका लागि स्थापना गरिएको यो पहिलो मञ्च भएको बुझिएको छ । उक्त कार्यक्रमको अन्य सत्रहरूमा भारतको कोलकत्ता, दिल्ली तथा मुम्बई लगायत अन्य शहरहरूमा विकास हुँदै गरेको स्टार्ट अप इकोसिस्टम बारे छलफल तथा प्रदर्शनीहरू भएका थिए । कार्यक्रमले नेपालको स्टार्टअप समुदायमा अनुपम प्रेरणा तथा उत्साह सञ्चारित गरेको दाबी गरिएको छ । साथै आयोजकहरूले आगामी महिनामा दुई देशको उद्यमशील स्टार्ट अप इकोसिस्टमलाई समाहित गर्ने विषयको सेरोफेरोमा अन्य गतिविधि तथा कार्यक्रमहरू सञ्चालन गर्ने जनाएका छन् ।

प्रतिक्रिया