‘व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ’ : प्रधानमन्त्री

‘व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ’ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ बालुवाटारमा ग्रहण गर्दै उनले भने, ‘व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।’

प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिने नीति कार्यान्वयन गर्नुपर्छ भन्दै नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठूलाठूला बजार रहेकाले निर्यातमा समस्या नहुने बताए ।

उनले भने, ‘हामीले उत्पादन गरेका सामग्रीका लागि बजारको अभाव छैन, कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ ।’

देशलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यकपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब बन्द र हडतालको समय सकिएकाले निर्वाध ढंगले लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले विकास र समृद्धिका लागि परिसंघले तयार गरेको सुझावसहितको मार्गचित्र प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि सरकारसंग आग्रह गरे ।

उद्योग व्यवसाय क्षेत्रमा भएका कानूनी अड्चन हटाउने सरकारको प्रतिबद्धता छ ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति थियो ।